वर्षेनी खाद्यान्न अपुग

वर्षेनी खाद्यान्न अपुग

बैतडी : जिल्लामा उत्पादन हुने खाद्यान्न कम हुँदै गएपछि बैतडीमा पर्षेनी खाद्यान्न अपुग हुने गरेको छ । पछिल्ला वर्षमा खाद्यान्न उत्पादनमा कमी आएसँगै जिल्लामा आवश्यक खाद्यान्न बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने अवस्था आएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए । 

‘पछिल्लो समयमा जंगली जनावर, खडेरी लगायतका कारणले खाद्यान्नको उत्पादनमा कमी आएको छ । यसले जिल्लामा चाहिने खाद्यान्न अपुग हुने गरेको छ ’, उनले भने, ‘अधिकांश खेतीयोग्य जमिन बाँझै रहेको छ । यसले गर्दा पनि खाद्यान्न उत्पादनमा कमी आएको छ ।’
 

जिल्लामा वार्षिक ५० हजार ६७५ मेट्रिक टन खाद्यान्न आवश्यक परे पनि ४३ हजार ३४३ मेट्रिक टन खाद्यान्न मात्रै उत्पादन हुने गरेको निमित्त प्रमुख चन्दले बताए । वार्षिक ७ हजार ३३२ मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको उनले बताए । ‘अपुग खाद्यान्न तराईका जिल्लाबाट आयात हुने गरेको छ’, उनले भने, ‘जंगली बँदेल र बाँदरका कारण खाद्यान्न बाली उत्पादनमा ह्रास आएको छ । जंगली बँदेल र बाँदरले बालीनाली नष्ट गर्न थालेपछि किसानले खेत बाँझै छोडेका छन् ।’

साविकको कृषि विकास कार्यालयले ३ वर्ष अघि गरेको अध्ययन अनुसार जिल्लाका विभिन्न ठाउँमा न्यूनतम खाद्य असुरक्षित क्षेत्रको रूपमा रहेका छन् । उत्पादन भएको अन्न तीन महिना पनि नपुग्ने ठाउँलाई खाद्य असुरक्षित क्षेत्रको रूपमा राखिएको छ । जिल्लाको तल्लोसोराड क्षेत्रका पञ्चेश्वर, महाकाली, शिवनाथ, कुलाउ न्यूनतम खाद्य असुरक्षित क्षेत्रको रूपमा रहेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख चन्दले बताए । यस्तै सिगास गाउँपालिका क्षेत्रका ढुंगाड, शिवलिंग, सिगास, चौखाम लगायतका क्षेत्र खाद्य असुरक्षित क्षेत्रको रूपमा रहेका उनले बताए । 

उनले भने ‘तीन वर्ष लगातार खाद्यान्न उत्पादन घट्दै गएको छ । यसले गर्दा वर्षेनी  खाद्यान्न अपुग हुने गरेको छ ।’

मकै उत्पादनमा कमी 

बैतडीको मुख्य खाद्यबालीको मकै उत्पादनमा कमी आएको छ । मकैखेती गरिने जमिनको क्षेत्रफल घट्दै गएपछि उत्पादन पनि घट्दै गएको हो । १४ हजार ५ सय हेक्टर जमिनमा मकै खेती गरिँदै आएकोमा यो वर्ष १२ हजार २ सय हेक्टरमा मात्रै मकै खेती गरिएको छ । 

गत वर्ष २३ हजार २ सय मेट्रिक टन मकै उत्पादन भएको थियो । यो वर्ष १९ हजार ७६४ मेट्रिक टन मकै उत्पादन भएको छ । मकैबालीमा बाँदर र जंगली बदेलले व्यापक क्षति पुर्‍याएकाले मकैको उत्पादन घटेको हो । ‘बारीमा लगाएको मकै भित्र्याउन पाइँदैन। मकै छरेर मात्रै के गर्नु ?’, दशरथचन्द नगरपालिका ५ की पुष्पा चन्दले भनिन्, ‘बारीमा मकै लगाएर भित्र्याउन नपाउनुभन्दा बाँझै छोड्ने गरेका छौं ।’

बाँदर र जंगली बँदेलले मकैबाली नष्ट गर्न थालेपछि कृषि पेशामा आकर्षण घट्दै गएको छ । बारीमा लगाएको मकै प्रत्येक वर्ष गुमाउनु परिरहेको सुर्नया ६ का नन्दराम अवस्थीले बताए । उनले भने, ‘खेतमा बाली छरेर मात्रै के गर्नु ? बाली जोगाउनै सकिँदैन।’

बाँदर नियन्त्रण गर्न दशलाख बजेट विनियोजन 

दशरथचन्द नगरपालिकाका विभिन्न वडामा बाँदरले आतंक मच्चाउन थालेपछि चालु आर्थिक वर्षमा नगरपालिकाले बाँदर नियन्त्रणका लागि १० लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाले बनाएको 'स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना'मा बाँदर पहिलो प्रकोपका रूपमा देखा परेकाले बजेट विनियोजन गरेको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले बताए । उनले भने, ‘नगरपालिकाले समस्याको पहिचान गर्दा सबैभन्दा ठूलो समस्याको रुपमा बाँदर आतंक देखिएकाले बजेट विनियोजन गरेका हौं । तर बाँदर नियन्त्रण गर्ने प्रविधि नहुँदा समस्या भएको छ ।’

स्थानीयबासी दैनिक हातमा गुलेली समातेर बाँदर धपाउँदा समेत बाँदरले बालीनाली नोक्सान गर्न नछोडेपछि बाँदर आतंक कसरी नियन्त्रण गर्ने भन्ने समस्या भएको नगरप्रमुख नरेन्द्रसिंह थापाले बताए । उनले भने, ‘हामीले बजेट विनियोजन त गरेका छौं । तर बाँदर नियन्त्रण गर्ने उपायका बारेमा अझै क्लियर हुन सकेका छैनौं ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.