प्रदेश २ : प्रदेशसभामा दलका प्रस्ताव

प्रदेश २ : प्रदेशसभामा दलका प्रस्ताव

जनकपुरधाम : प्रदेश २ को प्रदेशसभाले २२ महिनामा पनि नाम र राजधानी टुंगो लगाउन सकेको छैन। सत्तापक्ष र प्रतिपक्षको आआफ्नै अडानले गर्दा यी दुई विषयमा सहमति नजुटेको हो। जनकपुरलाई स्थायी राजधानी तोक्न सदनमा ‘एकमत’ देखिए पनि नामकरणमा दुईतिहाइ पुर्‍याउन गाह्रो छ।

प्रदेश सरकारले यी विषयमा जनमत बुझ्न संवाद तथा सुझाव आयोग गठन गरेको थियोे। डा. हरिवंश झाको संयोजकत्वमा २०७५ कात्तिक ११ गते गठित आयोगले गत वैशाख १९ गते सरकारलाई सुझावसहितको प्रतिवेदन बुझाएको थियो। ७० प्रतिशत जनताले प्रदेशको नाम मधेस राख्न सुझाव दिएको प्रतिवेदनमा उल्लेख छ। ८० प्रतिशतले राजधानी जनकपुरधामलाई कायम गर्नुपर्ने सुझाव दिएका छन्।

मुख्यमन्त्री मो.लालबाबु राउतले प्रतिवेदन छलफलका लागि सदनमा लैजाने बताएका थिए। तर, प्रतिपक्षले आयोगको औचित्यमै प्रश्न उठाएपछि प्रतिवेदन सदनमा पेस भएन। संशोधित प्रदेशसभा सञ्चालन कार्यविधिअनुसार दुई महिनाअघि प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव दलहरूले छुट्टाछुट्टै रूपमा सचिवालयमा दर्ता गराए। ती प्रस्तावमा सत्तापक्ष र प्रतिपक्ष दुवै राजधानीका लागि जनकपुरधाममै एकमत भए पनि नाममा विमति छ।

सत्तारुढ दल समाजवादीले राजधानी जनकपुरधाम, मिथिला माध्यमिकी सडक र धनुषाको उत्तरमा ढल्केवर हुँदै पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सीमासम्म प्रस्ताव दर्ता गराएको छ। राष्ट्रिय जनता पार्टीले नाम मधेस र राजधानी जनकपुरधाम राख्नुपर्ने प्रस्ताव गरेको छ। सत्तापक्षको प्रस्तावमा राजधानी जनकपुरधाम भनिए पनि धनुषा जिल्ला तथा महोत्तरीको मिथिला मध्यमा परिक्रमा क्षेत्र समावेश गरेर तोकिनुपर्ने उल्लेख छ।

नेकपाले प्रदेशको नाम जानकी राख्नुपर्ने प्रस्ताव दर्ता गराएको छ। नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलका अनुसार प्रदेश राजधानी जनकपुरधाम बृहत्तर जनकपुर क्षेत्र, मिथिला माध्यमिकी परिक्रमाको धनुषा र महोत्तरीको क्षेत्रसम्म विस्तार गर्ने प्रस्ताव गरिएको छ। कांग्रेसले भने प्रदेशको नाम मिथिला भोजपुरा राख्न प्रस्ताव गरेको छ। प्रदेशको राजधानी जनकपुर उपमहानगरपालिका क्षेत्रभित्र राख्न प्रस्ताव गरिएको छ।

प्रस्ताव दर्ता गराइएको दुई महिना भइसक्दा पनि सदनमा छलफल अघि बढाउन चासो नदेखाइएको नेकपा सांसद रामचन्द्र मण्डलको आरोप छ। ‘सरकार हरेक क्षेत्रमा असफल छ न त आर्थिक योजना छ न सैद्धान्तिक नै’, उनले भने।

कांग्रेस सांसद शिवचन्द्र चौधरीले नाम र राजधानीको टुंगो नलाग्नुलाई सरकारको असफलताकै संज्ञा दिएका छन्। ‘यस क्षेत्रको युगौंको इतिहास हेर्दै हामीले प्रदेशको नाम मिथिला प्रस्ताव गरेका छौं’, उनले भने, ‘तर, मधेसवादी दल आफ्नो असफलताको भारलाई यहाँ थुपार्न चाहन्छन्। यसलाई मधेस नाम दिन चाहन्छन्।’ नामकरणका विषयमा सजिलै विवाद समाधान हुने सम्भावना नरहेको उनको भनाइ छ।

प्रदेश २ का सभामुख सरोज यादवले भने अबको एक महिनाभित्र राजधानी र नामको टुंगो लाग्ने दाबी गरेका छन्। मंगलबार प्रदेशसभामा नाम र राजधानी विषयका प्रस्तावकर्ता र समर्थक सांसदको छलफलसमेत आयोजना गरिएको सभामुख यादवको भनाइ छ। ‘पर्सि (मंगलबार)को छलफलले कुनै न कुनै निष्कर्ष निकाल्नेछ’, उनले भने, ‘एक महिनाभित्रै यो दुवै विषय टुंगो लाग्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.