प्रदेश ५ को नाम र राजधानी तोक्न सकस

प्रदेश ५ को नाम र राजधानी तोक्न सकस

बुटवल : प्रदेश ५ को नाम र राजधानी निर्धारणका लागि सुझाव दिन गठन गरिएको थियो, विशेष समिति। तर, समितिको प्रतिवेदनमा राजधानी स्पष्ट छैन। नाम भने लुम्बिनी राख्न उसले सुझाएको छ।

समिति सभापति दीपेन्द्रकुमार पुन जनताको सुझावअनुसार राजधानीका लागि स्पष्ट स्थान तोक्न नसकिएको बताउँछन्। जनताले तीनवटा स्थानलाई जोड दिएका थिए– रूपन्देही, कपिलवस्तु र दाङको राजमार्ग क्षेत्र।

यद्यपि, दाङ र रूपन्देहीमध्ये कहाँ राजधानी राख्ने विषय पेचिलो बनेको छ। निर्वाचन अभियानका बेला नेताहरूले आआफ्नै स्थानलाई राजधानी बनाउने प्रतिबद्धता जनाएका थिए। त्यसकारण सत्तारुढ नेताहरू सकसमा देखिएका छन्। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले केही दिनअघि नेकपा स्थायी कमिटी बैठकमा राजधानीका विषयमा पार्टीले निर्णय गर्नुपर्ने धारणा व्यक्त गरेका थिए। आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडामै राख्न निर्देशनसमेत दिएको छ।

‘प्रदेश ३ को राजधानी घोषणाको नजिरअनुसार प्रदेश ५ को निर्धारण हुन्छ’, प्रदेश ५ सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले भने, ‘जहाँ भए पनि सहमतिकै आधारमा राजधानी टुंगो लाग्छ।’ सरकारले आगामी अधिवेशनमा राजधानी र नामको विषय टुंगो लगाउने तयारी गरेको छ।

प्रदेश ३ कै नजिर कायम रहे प्रदेश ५ को राजधानी बुटवलमै हुनेछ। मुख्यमन्त्रीसहित नेकपाकै केन्द्रीय नेताले भने नयाँ सहर निर्माण गर्ने गरी राजधानी तोक्ने बताउँदै आएका छन्। नेकपा अध्यक्ष पुष्पकमल दाहालले नयाँ सहर बन्ने गरी राजधानी तोकिने संकेत गरेका थिए।

प्रदेशसभा सदस्यबीच भूगोलका आधारमा मतभेद छ। प्रतिनिधिसभामा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाण बुटवलबाट राजधानी सार्न नहुने बताउँछन्। ‘राजधानी भूगोलअनुसार केन्द्रभागमै हुनुपर्छ भन्नु गलत तर्क हो’, नेता खाण भन्छन्, ‘पूर्वाधार र धेरै जनताको सहज स्थानमा राजधानी तोकिनुपर्छ। बुटवल प्रदेश ५ को निर्विकल्प राजधानी हो।’

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले अस्थायी मुकाम तोकेकै स्थानमा बुटवलमा राजधानी रहने उनको भनाइ छ। कर्णाली, सुदूरपश्चिम, गण्डकीमा तोकिएकै मुकाममा प्रदेश राजधानी घोषणा भएका छन्।

कतिपयले प्रदेश ५ को राजधानी कपिलवस्तुमा हुनुपर्ने माग गरेका छन्। त्यसो गर्दा दाङ र बुटवलको द्वन्द्व हट्ने उनीहरूको तर्क छ। पूर्वाधार शून्य भएकाले त्यहाँ राजधानी घोषणा भइहाले पनि बुटवलबाटै पाँच वर्ष सरकार सञ्चालन हुनेछ। बाँके र बर्दियालाई कर्णालीमा गाभ्ने चेतावनी दिएर बुटवलबाट राजधानी सार्ने कसरत भइरहेको चर्चासमेत चलेको छ। त्यसो गरिए त्यसको परिणाम सरकारले थेग्न नसक्ने चेतावनी नेता खाणले दिएका छन्।

‘भित्रभित्रै चलखेल भइरहेको सुनिन्छ’, उनी भन्छन्, ‘बुटवलबाट सार्ने प्रयत्न भए त्यसको परिणाम सरकारले थेग्न सक्दैन।’ जनसंख्याका आधारमा बुटवल पायक क्षेत्र हो। पूर्वाधार, विमानस्थल, अन्तर्राष्ट्रिय नाकासमेत रहेकाले बुटवल राजधानी हुनुपर्ने माग उठ्दै आएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.