रगत अभाव हुन नदिन विद्यार्थीको रक्त समूह पहिचान
बैतडी : जिल्लाको दशरथचन्द नगरपालिकाभित्रका माध्यमिक विद्यालय कक्षा १० देखि १२ सम्म अध्ययनरत विद्यार्थीको रक्त समूह पहिचान गर्न थालिएको छ । आवश्यक परेका बेला रगत सहज रुपमा रगत उपलब्ध गराउन रक्त समूह पहिचान गर्न थालिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । जिल्लामा रक्त सञ्चार केन्द्रको व्यवस्था छैन् ।
रगत आवश्यकता परेका बिरामीलाई बाहिर रिफर गर्नुपर्ने बाध्यता छ । जिल्लामा बिरामीलाई रगत दिनु परेमा सेना र प्रहरीको भर पर्नुपर्ने अवस्था छ। विद्यार्थीको रक्त समूह परीक्षण गरी त्यसको तथ्यांक जिल्ला अस्पताल, रेडक्रस र जिल्ला समन्वय समितिमा राखिने जिल्ला अस्पतालका ल्याब असिष्टेन्ट चन्द्र डोबालले बताए। विद्यार्थीको नाम, सम्पर्क नम्बर, रक्त समूहसहितको सूची तयार पार्ने काम भइरहेको उनले बताए।
अहिले सम्म ३ विद्यालयमा सो कार्यक्रम सम्पन्न गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । दशरथचन्द मावि सुन्दरखालीमा ९३, जगदम्बा मावि रानीबुंगामा ६५ जना र दानेश्वर नागार्जुन मावि रातामाटामा ८७ जना विद्यार्थी रक्त समूह पहिचान गरिएको ल्याब असिष्टेन्ट डोबालले बताए ।
विद्यालयमा विद्यार्थीको रक्त समूह पहिचानले जिल्ला अस्पतालमा उपचार गराउन आउने बिरामीलाई सजिलो हुने अस्पतालका निमित्त प्रमुख डा. बसन्तराज जोशीले बताए । उनले भने, 'हामीलाई आकस्मिक रगतको आवश्यकता पर्दा विद्यार्थीलाई रक्तदान गर्नका लागि आग्रह गर्छौं।यसोगर्दा रगत अभावमा जो-कसैले ज्यान गुमाउने छैनन्।'
रक्त समूह पहिचानले रगतदान गर्ने बानीको समेत विकास हुने दशरथचन्द मावि सुन्दराखालीका शिक्षक तेजप्रसाद भट्टले बताए ।
प्रतिक्रिया दिनुहोस !