पिच गरेको सडकमा घर
![पिच गरेको सडकमा घर](https://annapurnapost.prixacdn.net/media/albums/pich-ma-ghar_20191230125740_9qeDRVfB5K.jpg)
महेन्द्रनगर : कालोपत्रे गरिएको सडकको बिचमा पक्की घर छ । सडक छेउमै माध्यमिक तहको विद्यालय र स्थानीयको किनमेल गर्ने सानो बजार छ । सडकको बिचमा रहेको घरले थुप्रै दुर्घटना गराए पनि सम्बन्धित निकाय मौन छ ।
कञ्चनपुर बेदकोट नगरपालिका–८ गैलनदी स्थित सडकको बिचमा रहेको उक्त घर स्थानीय भोजबहादुर विष्टको हो । स्थानीयका अनुसार उनले सडकमा रहेको तीन धुर जमिन आफ्नो नाममा दर्ता रहेको भन्दै उक्त घर सडकबाट हटाउन मानेका छैनन् ।
बिच सडकमा रहेको उक्त घरले दुर्घटना बढाएको स्थानीयले बताए। गत साता सडक छेउमै रहेको वैजनाथ माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत विद्यार्थी अम्बीका विष्ट सोही ठाउँ दुर्घटनामा परी घाइते भएको विद्यालयका प्रधानाध्यापक पदम बोहराले बताए ।
‘हामीले घर हटाउन धेरै आग्रह गरे पनि मानेनन् । त्यो ठाउँ त दुघर्टना स्थल नै बनिसकेको छ’, उनले भने, ‘त्यो जग्गा सार्वजनिक भए पनि आयोगको बेला खै कसरी आफ्नो नाममा दर्ता गरे ।’उक्त घरका कारण थुप्रै दुघर्टना भइसकेका छन् । घरले सडकको सौन्दर्य समेत विगारेको स्थानीयको गुनासो छ ।
बेदकोट नगरपालिका–८ का वडा अध्यक्ष दुर्गा सिंह भण्डारीले आफूहरुले घर हटाउन आग्रह गरे पनि हटाउन नमानेको बताए । उनले उक्त घर करिब २०-२५ वर्षदेखि सडकमै रहेको बताउँदै विष्टले त्यहाँ पसल सञ्चालन गरेको बताए । स्थानीयले विरोध गरेपछि पसलको समान हटाए पनि उनले घर सडकबाट हटाउन मानेका छैनन् ।
‘पसल छउन्जेल स्थानीयले पनि विरोध गरे खाली भइसकेपछि कोही बोलेनन्’, वडा अध्यक्ष भण्डारीले भने, ‘सडक पीच गर्ने बेला पुरानो घर फुटाएका हौँ ।’
जग्गा धनी भोजबहादुर विष्टले जग्गा आफ्नो नाममा दर्ता भएको बताउँदै घरका कारण कुनै समस्या नरहेको बताए । ‘जग्गा मेरो हो मसित लालपूर्जा छ मैले घर बनाउँदा आफ्नो एक मिटर जग्गा सडकलाई छोडेको छु ’, उनले भने, ‘घरकै कारण दुघर्टना भयो भन्ने आरोप मात्रै हो घरले कुनै असर गरेको छैन ।’ उनले २९ सालदेखि सो ठाउँमा आफ्नो घर भएको बताए ।
बिच सडकमा रहेको घर हटाउन स्थानीय सरकारले कुनै पहल नगर्दा दुघर्टना हुने क्रम बढेको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगर सबै अधिकार स्थानीय तहमा गइसकेको बताउँदै पन्छिन खोजेको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)