चिकित्सक नहुँदा समस्या

चिकित्सक नहुँदा समस्या

बैतडी : बैतडी अस्पतालमा दरबन्दीका चिकित्सक नहुँदा समस्या भएको छ। नवौं तहका एक र आठौं तहका दुई जना डाक्टरको दरबन्दी रहेको अस्पतालमा अहिले करारका डाक्टरको भरमा सञ्चालन भइरहेको छ। जिल्ला अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञसमेत रहेका डाक्टर जगदीशचन्द्र विष्टको डडेलधुरा अस्पतालमा समायोजन भएपछि जिल्ला अस्पताल करारका डाक्टरको भरमा सञ्चालनमा रहेको हो।

दरबन्दीका चिकित्सक नहुँदा अस्पतालले प्रदान गर्ने सेवा प्रभावित भएको जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए। ‘ मलाई आर्थिक अधिकारसमेत दिइएको छैन। यसले गर्दा अस्पतालको सामान्य प्रशासनिक काम सञ्चालनमा समेत बाधा पुगेको छ’, उनले भने, ‘तत्काल खरिद गर्नुपर्ने सामग्रीसमेत खरिद गर्न सक्ने अवस्था छैन। यसले अस्पतालले प्रदान गर्ने सेवामा समेत बाधा पुगेको छ।’

करारका डाक्टरलाई आर्थिक अधिकार नदिँदा कर्मचारीलाई तलब खुवाउनसमेत समस्या भएको डाक्टर जोशीले बताए। उनले भने, ‘दरबन्दीका चिकित्सक नहुँदा हामीलाई धेरै समस्या भएको छ। कर्मचारीलाई तलबसमेत खुवाउन समस्या परेको छ।’

जिल्ला अस्पतालमा सञ्चालित जटिलयुक्त प्रसूति सेवा पनि करारका डाक्टरकै भरमा सञ्चालित छ। अप्रेसन गरेर बच्चा जन्माउने सुविधा भए पनि दरबन्दीका विशेषज्ञ डाक्टर नहुँदा समस्या भएको हो। ‘अस्पतालमा कार्यरत डाक्टर देवेन्द्र लेखकले तालिम लिएर अप्रेसन गरेर बच्चा जन्माउने सेवा दिइरहनुभएको छ। तर, उहाँको करार अवधि पनि ३ महिना मात्रै बाँकी छ’, डाक्टर जोशीले भने, ‘अस्पतालमा दरबन्दीअनुसार चिकित्स पठाउन सरकारले ढिलो गर्नु हुँदैन। स्वास्थ्यजस्तो क्षेत्र यसरी सञ्चालन हुन गाह्रो हुन्छ।’

अस्पतालमा ४ जना स्टाफ नर्सको दरबन्दी भए पनि सबै दरबन्दी रिक्त छन्। दरबन्दीका स्टाफ नर्स नहुँदा करारका स्टाफ नर्सले सेवा प्रवाह गरिरहेका छन्। ‘नर्सिङ स्टाफ पनि सबै करारकै छन्। दरबन्दीका एक जना पनि छैनन। यसले गर्दा प्रसूति सेवा प्रवाहमा समेत समस्या हुने गरेको छ’, डाक्टर जोशीले भने, ‘जिल्ला अस्पतालमा दरबन्दीका स्टाफ नर्स नभएको एक वर्षभन्दा बढी भइसकेको छ। अहिलेसम्म पदपूर्ति हुन सकेको छैन।’

स्वास्थ्य केन्द्र पनि डाक्टरविहीन

जिल्ला तल्लो सोराड क्षेत्रमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली पनि डाक्टरविहीन भएको ६ महिनाभन्दा बढी भइसक्दासमेत डाक्टरको दरबन्दी पूर्ति हुन सकेको छैन। प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा पोस्टमार्टमलगायत सेवा प्रभावित भएका छन्। ‘तल्लोसोराड क्षेत्रका पञ्चेश्वर, शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकाको रेफरल सेन्टरका रूपमा रहेको अस्पतालमा डाक्टर नहुँदा समस्या भएको छ।’ मेलौली नगरपालिकाका स्वास्थ्य संयोजक नारायण चन्दले भने, ‘सबैभन्दा बढी समस्या पोस्टमार्टमका बेला हुन्छ। डाक्टर बोलाउन गाह्रो हुन्छ। पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाउनुपर्ने बाध्यता छ।’

प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे, ईसीजी मेसिन भए पनि डाक्टर अभावमा सबै प्रयोगविहीन भएका छन्। ‘१६ वर्षमा हामीले लगभग दुई वर्षसम्म चिकित्सकको सेवा पायौं। तर, फेरि उपचारका लागि भारत जानुपर्ने बाध्यता आइलागेको छ।’ मेलौलीका स्थानीय लक्ष्मण पार्कीले भने, ‘संघीयतापछि स्वास्थ्य सेवामा समस्या देखिएको छ। गाउँका स्वास्थ्यचौकीमा समेत स्वास्थ्यकर्मीको अभाव छ।’ पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पनि करारका डाक्टरले सेवा दिइरहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.