१० वटै वडा सचिवविहीन
बैतडी : पुर्चौंडी नगरपालिकाका १० वटै वडामा सचिव छैनन्। वडासचिव नहुँदा प्राविधिक सहायकलाई खटाएर कामकाज गर्ने गरिएको उपप्रमुख जानकी बमले बताइन्। ‘हामी निर्वाचित भएर आएपछि जहिले पनि कर्मचारीकै अभाव झेलिरहनुपरेको छ’, उनले भनिन्, ‘वडा तहमा सचिव नहुँदा प्राविधिक सहायक खटाएर काम सञ्चालन गरिरहेका छौं।’ उनका अनुसार वडामा मात्रै होइन, नगरपालिकामा पनि कर्मचारी अभाव छ। नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेको उनले सुनाइन्।
पञ्जीकरणका विभिन्न काममा सचिवलाई मात्रै हस्ताक्षर गर्ने अधिकार भएकाले धेरैजसो काम नगरपालिका केन्द्रबाटै सम्पादन गर्नुपर्ने बाध्यता रहेको नगरपालिकाका सूचना अधिकारी प्रवीण धानुकले बताए। ‘वडामा सचिव नहुँदा सामाजिक सुरक्षा भत्ताको कामसमेत हामीले नगरपालिकाबाट गरिरहनुपरेको छ’, उनले भने, ‘सेवाग्राहीलाई धेरै समस्या भएको छ। वडाका कामलाई प्रभावकारी बनाउन सकेका छैनौं।’
वडाबाट प्राप्त हुने सेवाका लागि नगरपालिका धाउनुपरिरहेको पुुर्चौंडी–३ का स्थानीय अनिरुद्र जोशीले बताए। ‘साबिकका गाउँ विकास समितिबाट पाउने सेवासमेत वडाबाट पाउन सकिरहेका छैनौं। हरेक कामका लागि नगरपालिका धाउनुपर्ने बाध्यता छ’, उनले भने, ‘स्थानीय सरकारलाई अधिकार दिइयो तर कर्मचारी छैनन्। गाउँमा सिंहदरबार आयो भन्ने हल्ला मात्रै छ। काम हुन सकेको छैन। वडाबाट पाइने सेवा कर्मचारीको अभाव पाउन सकेका छैनौं।’
वडामा कर्मचारी नहुँदा प्रत्येक सेवाका लागि नगरपालिका धाउनुपर्ने बाध्यता रही आएको स्थानीय अमृता साउदले बताइन्। ‘हामीजस्ता अपांगता भएका व्यक्तिलाई त झन् समस्या भएको छ। पहिला–पहिला अलिअलि सहयोग त पाउँथ्यो’, उनले भनिन्, ‘हामीलाई परिचयपत्र बनाउन पनि सकस भएको छ।’
प्रतिक्रिया दिनुहोस !