बैतडीमा भारी हिमपात, किसान खुसी
बैतडी : बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा भारी हिमपात भएको छ । बैतडीको श्रीभावर, ढोल्यामोड, सिगासधुरा, खोड्पे,सतबाँझ, ग्वाल्लेक, जित्कीजुवाँड, कलालबसेलगायतका क्षेत्रमा भारी हिमपात भएको स्थानीयले बताएका छन्।
बिहीबार राती भएको हिमपातले जनजीवन प्रभावित भएको छ । चिसोका कारण बाहिर निस्कन मुस्किल भएको स्थानीयले बताएका छन् । हिमपातले वस्तुभाउको स्याहारमा समेत समस्या भएको चौखामका स्थानीय लक्ष्मी शाह चन्दले जानकारी दिए ।
उनले भनिन्,'श्रीभावर क्षेत्रमा भारी हिमपात भएको छ । स्थानीयलाई बाहिर निस्कन समेत मुस्किल भएको छ । हिमपातका कारण जनजीवन कष्टकर भएको छ। जिल्लाको खोड्पे क्षेत्रमा पनि भारी हिमपात भएको स्थानीय हरिश बिष्टले बताए ।
हिमपातका कारण पाइपबाट आउने खानेपानी समेत अवरुद्ध भएको उनले बताए । 'हिमपातले निकै समस्या भएको छ । खानेपानीको समस्या एकातिर भएको छ भने चिसोले बाहिर निस्किन अप्ठ्यारो भएको छ,'उनले भने, 'हिमपातका कारण सवारी साधन आवागमनमा समेत बाधा पुगेको छ । सडकमा बाक्लो हिउँ परेकाले सवारी साधन सञ्चालनमा कठिनाई भएको छ ।'
हिमपातले जिल्लाको सिगास गाउँपालिकाको केन्द्रमा जान समेत मुस्कील भएको स्थानीयहरुले बताएका छन् । हिमपातले गाउँपालिकाको केन्द्र ढाकेको बताइएको छ । हिमपातले बैतडीमा बिहीबार रातीदेखि नै विद्युत सेवा अवरुद्ध बनेको छ । विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन् । यस्तै नेपाल टेलिकमको जीएसएम, स्काइ मोबाइल सेवा पनि आंशिक रुपमा अवरुद्ध भएको छ । यस्तै इन्टरनेट सेवा पनि आंशिक रुपमा अवरुद्ध भएको छ ।
वर्षा र हिमपातले किसान खुसी
हिमपातले किसान भने खुसी भएका छन् । हिउँदे वर्षासँगै हिमपातले बालीनाली सप्रने भएकाले किसान खुसी भएका हुन् । वर्षा र हिमपातले हिउँदेबाली सप्रने कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए । 'वर्षा र हिमपातले हिउँदेबाली र हिउँदे तरकारीमा फाइदा पुगेको छ।सिंचाइ नभएका क्षेत्रमा यसले सिँचाईको काम गरेको छ ।
वर्षा र हिमपातले सिँचाईको काम गरेकाले हिउँदेबालीको उत्पादनमा वृद्धि हुने आसा पलाएको किसान देवदत्त भट्टले बताए । 'हामी कहाँ सिँचाई सुविधा छैन् । वर्षा र हिमपातले सिँचाईको काम गरेको छ, 'उनले भने, 'यो वर्षा र हिउँले बालीनालीमा धेरै सहयोग पुर्याएको छ।'


प्रतिक्रिया दिनुहोस !