मासिँदै ग्रामथान
इटहरी : इटहरीमा कुनै समय थारुहरूको मात्र वस्ती थियो। प्रकृतिमा निर्भर थारु समुदायले प्रकृतिलाई सामूहिक रूपमा पूजा गर्न ग्रामथान बनाए। समुदायले आज पनि प्रकृतिलाई पूजा गर्छ। तर ग्रामथान भने मासिन थालेका छन्।
वर, पिपलदेखि खोला, पोखरी, जंगल, सूर्य, चन्द्रमाको पूजा आराधना गर्ने चलन थारु समुदायमा आजसम्म रहे पनि सहरीकरणको चपेटामा परेका ग्रामथान हराउन थालेका छन्। ‘त्यो बेला जमिन फालाफाल थियो, ग्रामथानका लागि जमिन्दारले एउटा जग्गा छुट्याएका हुन्थे’, मातृका चौधरीले भने, ‘पछि सहरीकरणसँगै जग्गाको भाउ बढ्यो, कुनै ग्रामथान साँघुरिए, कुनै मासिए।’ उनका अनुसार इटहरीमा पहिला बस्तीपिच्छे ग्रामथान थिए। अहिले इटहरी ४ स्थित कचना महादेवको मन्दिर, इटहरी १ को बिच्छुधामी ग्रामथान, इटहरी २ को सुन्दरदेवी ग्रामथान, ७ मा मलंगबाबा, ग्रामथान आदि ठूला ग्रामथान छन्। साना अरू ग्रामथान मासिए।
इटहरीको मुख्य चोकमा पर्ने बिच्छुधामी ग्रामथान जोगाउन चौधरीसहितको समूहले निकै संघर्ष ग¥यो। मासिइसकेको ग्रामथानलाई जोगाउन त सफल भयो, तर अहिले त्यहाँ कुनै पूजा वा उत्सव हुँदैन। इटहरीको मुख्य सहरको बीचमा पर्ने उक्त ग्रामथानमा मानिस जानै छाडिसके। सडक विस्तारले त्यहाँ बनाएको एक कोठो भवन भत्कने अवस्थामा छ। कचना महादेवको मन्दिर पहिले ग्रामथानको रूपमा पूजा गरिन्थ्यो। प्रत्येक वैशाख ३ गते लाग्ने सिरुवा मेलामा नेपाललगायत भारतबाट समेत भक्तजन आउँछन्। तर मेला लाग्ने ठाउँ साँघुरिँदो छ।
पहिले तीन बिघा जग्गा रहेको ग्रामथानसँग अहिले तीन कठ्ठा मात्र जग्गा छ। बाँकी स्कुल र पानीट्यांकीले अधिकरण गरेका छन्। मेला साँघुरो बाटोमा सीमित बनेको छ। ‘पहिले स्कुलको चउर, नजिकैको सेनाको ब्यारेकको जग्गा अनि घर नबनेका खुला खेतबारीमा ठूलो मेला लाग्थ्यो’, मिना दाहालले भनिन्, ‘अब त ब्यारेक र स्कुलले कम्पाउण्ड बनाएर घेरे, खेतबारीमा घर बने, अब दुई चार वर्ष पछि त मेलै नलाग्ला जस्तो छ।’
जे भए पनि ग्रामथानप्रति थारु समुदायको अगाध आस्था छ। ‘ग्रामथानमा शक्ति हुन्छ’, उनी भन्छन्, ‘बिरामी हुँदा पनि डाक्टर थिएनन्, ग्राम देउतालाई भाकल गरिन्थ्यो र अन्ततः त्यो मनकामना पूरा हुन्थ्यो।’
मानिसमा ग्रामथानप्रतिको विश्वास यतिसम्म थियो कि हैजाको महामारीमा पनि ग्रामथानमा रोगको प्रकोप शान्त पार्न पूजाआजा गरिन्थ्यो। कचना महादेवको मन्दिरमा भाकल गरेर भन्टा चढाए शरीरमा आएका मुसा निको हुने जनविश्वास छ। इटहरी ७ का काशीराम चौधरी पनि ग्रामथान समुदायको आस्था र विश्वासको केन्द्र भएको बताउँछन्। ग्रामथानको रौनक घट्दै गएको उनको पनि अनुभव छ। आवादीसँगै विभिन्न धर्म, जातजातिका मानिस आउने क्रम बढ्दै जाँदा भौतिकसँगै आस्थामा पनि कमी आएको उनको धारणा छ। ‘अहिले त ग्रामथानको जग्गा पनि खुम्चियो, पूजा गर्ने पोखरी, इनार, वरपिपल पनि मासिँदैछन्’, उनले भने।
ग्रामथानको विकासका लागि स्थानीय तहहरूले पनि केही सहयोग दिइरहेका छन्। तर त्यो पर्याप्त छैन। ‘यहाँका ग्रामथानहरूको संरक्षणका लागि वडाले उपमहानगरपालिका र प्रदेश सरकारसम्म प्रस्तावहरू अघि बढाएको छ’, झन्डै आधा दर्जन ग्रामथान रहेको इटहरी ७ का वडाध्यक्ष नरबहादुर राईले भने, ‘वडामा आएको दुई चार लाख रूपैयाँले केही हुँदैन, तर माथिल्लो तहले पनि खासै वास्ता दिँदैन।’
ग्रामथानबाहेक थारु समुदायमा पोखरी तथा इनार पनि विशेष श्रद्धापूर्वक पूजाआजा गरिन्छ। धेरै इनार सहरीकरणसँगै मासिए। ‘गाउँका सबै इनार मासिसके’, जनकलाल चौधरी भन्छन्, ‘तर इनार मास्न हुँदैन, यहाँ देवताको बास छ, देवता रिसाउँछन्।’