सिकलेस सम्झँदा

सिकलेस सम्झँदा

लामो घोषणापछि हामी भ्रमण वर्षको संघारमा प्रवेश गरेका छौं। धेरै साथीहरूका फेसबुक टाइमलाइनमा भ्रमण वर्षको स्टिकर टाँसिन थालेको छ। सरकारमार्फत आएको यो महत्वांकाक्षी योजनापछि पर्यटन व्यवसायीहरूमा नयाँ आशा पलाएको छ। आम जनतामा पर्यटन उद्योगमार्फत आफ्नो आयमा प्रभाव पर्ने विश्वास देखिन थालेको छ। विदेशमा बस्ने नेपालीहरूले त यो अवसरलाई मातृभूमिको ऋण तिर्ने अवसरका रूपमा पनि लिएका छन्।

यी परिवर्तन देखिरहँदा म भने अलमलमा छु। अलमल यस अर्थमा कि म घुम्न रुचाउने मान्छे भएर पनि मैले आफ्नै देशका धेरै ठाउँमा घुमेकै छैन। वर्षमा पटकपटक म नेपाल पुग्छु। बेलाबेलामा देशका महत्वपूर्ण पर्यटकीय स्थल पनि पुगेकै हुन्छु तर ती भ्रमण बहुधा व्यावसायिक र पारिवारिक मात्र हुँदा रहेछन्।

मेरो परिचय नियात्रा लेखकका रूपमा थपिए पनि आफ्नै देश नघुम्नुको पीडा यस बेला महसुस गरिरहेको छु।

पर्यटक भएर नघुमेको ठाउँबारे पर्यटकीय अनुभव लेख्नुपर्ने गाह्रो काम आइपरेको छ। म आँखा चिम्लिएर नेपालका पर्यटकीय स्थलको नाम मानसपटलमा ल्याउँदा झन् अलमलमा हुन्छु। काठमाडौं, जहाँ म जुनसुकै बेला पुगेको हुन्छु तर काठमाडौंका पर्यटकीय स्थलबारे के अनुभूति लेखौं ?  इलाम पनि पटकपटक पुगेको छु। खुब रमाएको छु। तर पर्यटकीय अनुभव लेखौंभन्दा केही पनि नफुर्दो रहेछ। सौराहा त म जन्मे हुर्केको, खेलेको र मेरो आफ्नै गृह जिल्लाको प्रसिद्ध ठाउँ हो। त्यहाँका कुरा लेख्नु पर्यटकीय अनुभव नभएर बाल्यकालीन स्मरण मात्र हुँदो हो।

नेपालका पर्यटकीय क्षेत्रहरू एभरेस्ट बेस क्याम्प, मुस्ताङ, रारा, खप्तड, घोरेपानी, लाम्टाङ, अन्नपूर्ण बेसक्याम्पजस्ता अति महत्वपूर्ण पर्यटकीय ठाउँ म अझै पुग्न सकेको छैन।

अहो ! कस्तो अप्ठ्यारो कुरा, नेपाली नियात्राहरूमा पटकपटक पढेको हेलम्बु, गोसाइँकुण्ड, स्वर्गद्वारी, वराह क्षेत्र, रोल्पाका मगर बस्तीहरू, देशकै अग्लो स्थानमा रहेको ताल आदि ठाउँ, अहँ म त कतै पुगेकै रहेनछु।

सिकलेसको जुन सौन्दर्य आँखामा बसेको छ, त्यसलाई प्रिन्ट वा प्रिजेन्ट गर्न म असमर्थ रहेँ। त्यो विराट सौन्दर्यलाई प्रतिविम्बित गर्ने शब्द किन नबनेका होलान् ?   

फेरि पनि केही नलेख्न त ममन त छँदै छ। त्यसो भए पोखरा लेखौं ! पोखरा मेरो प्रिय ठाउँ हो। प्रत्येक पटक त्यहाँ जाँदाका स्वर्णिम अनुभूति पनि छन्। मेरो पुख्र्यौली घर पनि त त्यही क्षेत्र हो। धेरैपटक तालवाराही मन्दिरमा सुस्ताउँदै माछापुछ्रे हेरेको सम्झँदा सधैं रमाइलो लाग्छ। तर कैयौं सिद्धहस्त लेखकहरूले लेखिसकेको पोखरा, माछापुच्छ्रे र अन्नपूर्णलाई म के भनेर लेखौं ?  माथि स्तूपाबाट देखिने ताल र त्यसमाथि मुस्कुराउँदै गरेको हिमालले लेख्न पर्याप्त ऊर्जा दिन्छ तर त्यो सौन्दर्यको बखान गर्ने शब्द मसँग छैनन्। कुनै कवि हुँदो हो त एक झलक नै लेख्नका लागि पर्याप्त विषय हुँदो हो। दुई चार लाइन लेखेपछि शब्दहरू रित्तिन्छन्। त्यसो भए के लेखौं ?   

आँखा चिम्लिएर सुस्ताउँदै गर्दा माछापुच्छ्रे र अन्नपूर्णको सौन्दर्य नाच्न छाड्दैन। म हिमालयको सौन्दर्यले तानिँदै गएँ र अचानक सम्झिएँ, पाँच वर्षअघिको एउटा जाडोमा शरीरमा परेको माछापुच्छ्रेको अद्भुत रश्मीको लालिमा। कसो कसो लेख्ने विषय आयो। पोखरा होइन, पोखराभन्दा केही परको सिकलेस र त्यहाँको गुरुङ गाउँ।

गैरआवासीय नेपाली समेतको लगानीमा त्यतिबेला निर्माणाधीन अवस्थामा रहेको सिक्लेस जलविद्युत् आयोजनाको (१५ मे.वा.) अवलोकनका लागि म बेलायत निवासी मित्रहरू कुल आचार्य, कमल भण्डारी, जापानका महेश  श्रेष्ठ, स्थानीय व्यवसायी मित्रहरू रोशन केसी, पवन जीसी र राजु क्षत्रीसँग त्यतिबेला सिक्लेस पुगेको थिएँ। त्यो बेला सायद हामी पर्यटकका परिभाषाभित्र परेका थिएनौं तर फर्कंदा हामीसँग उही पर्यटकीय अनुभव थियो।

२०१५ जनवरी। तारिख चाहिँ अहिले ठ्याक्कै याद भएन। तर त्यो पुस महिनाको अन्तिम दिन थियो भन्ने कुरा भोलिपल्ट थाहा भयो। काठमाडौंदेखि नै चिसो स्याँठ गाडीका चेपचेपबाट लुकामारी खेलिरहेको थियो। जलविद्युत् आयोजना पुग्दासम्म हामी त्यहाँको चिसोसँग अभ्यस्त हुन थालिसकेका थियौं। काठमाडौंबाट हिँड्दा नै लन्डन निवासी दुई मित्रहरू मीनप्रसाद गुरुङ र मुछेत्र गुरुङले हामीलाई सिकलेस पुग्न उक्स्याइरहेका थिए। ‘तमुधी’ बेलायतका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ सिक्लेसकै पुरानो बासिन्दा हुन्। आफूले सबै चाँजोपाजो मिलाइसकेकाले हामी त्यहाँ नपुगे रिसाउने घुर्की लगाइरहेका थिए। त्यसैले पनि बीचबीचमा आएको उनको मायामि िश्रत धम्की टार्न सकिएन। अन्ततः व्यस्तता छल्दै एक दिनका लागि भए पनि सिकलेस पुग्ने निर्णय गर्‍र्यौं।

पोखराबाट निस्केको हाम्रो टोली बाटोमा पर्ने गाउँ थाक, ताप्रांग, चिप्ले, पार्चे हुँदै सिक्लेस पुग्यो। पोखरादेखि सिक्लेससम्मको दूरी ४८ किलोमिटर रहेछ। रोशनजी र पवनजी पोखराका बासिन्दा भएकोले स्थानीय गाउँ र त्यहाँको बस्तीबारे हामीलाई बताउँदै गए।

सिक्लेस त्यस भेगमा पर्ने अन्तिम गाउँ रहेछ। मानवबस्ती विहीन डाँडाबाट हिमालय शृंखलाको खुला दृश्य हेर्नु रोमाञ्चक हुने रहेछ। कुरा सुन्दा मात्र पनि हामीलाई कुन बेला त्यहाँ पुगौं जस्तो लागेको थियो। आफू सिक्लेस नपुगे पनि मेरा लागि यो ठाउँ सर्वथा नौलो भने थिएन। सिक्लेस मेरो पुख्र्याैली गाउँ अर्मलाको छिमेकी बस्ती पनि हो। बाआमाले घरमा कुराकानीमा प्रसंगवश त्यस ठाउँमा घाँसपात, मेला गएका प्रसंग सुनाएको मैले बिर्सेको थिइनँ।

सिक्लेसको पूर्वपट्टिको डाँडामा अर्को एउटा गुरुङ गाउँ छ, तांगतिंग। हामी त्यस क्षेत्रको यात्रामा रहेको थाहा पाउनासाथ लन्डनबाट अर्का मित्र लक्ष्य गुरुङले तुरुन्तै सन्देश पठाए, ‘सिकलेसको दायाँतर्फ मेरो गाउँ तांगतिंग पर्छ। त्यहाँ पाइला टेकिदिनू होला। म पुगेको अनुभूति हुन्छ।’ सन्देश सानो तर भावुक थियो।

सिकलेस टेक्नेबित्तिकै सुरम्य तरंगको अनुभूति भयो। झट्ट हेर्नेबित्तिकै आँखाभरि सौन्दर्यको सम्पूर्ण आकाश फैलिएको थियो। ६ सय घरधुरी भएको सिक्लेसमा मूलतः गुरुङ समुदायको बसोबास छ। पछि स्थानीय साथीहरूले बताएअनुसार सिक्लेसमा थोरै संख्यामा दलित समुदायका मानिस पनि बस्छन्। खासमा नेपालमा कुनै पनि गाउँमा एउटै जातका मानिस भेटिँदैन। मि ि  श्रत बसोबास हाम्रा गाउँका खास विशेषता हुन्।

सिक्लेसको प्रसिद्ध ‘गुरुङ कटेज’मा राति हामीलाई बस्ने व्यबस्था मिलाइएको थियो। गाउँको तामझाम नै बेग्लै थियो। सुस्ताउँदै गर्दा पो थाहा भयो, हामी माघेसंक्रान्तिका दिन पुगेका रहेछौं। माघे संक्रान्ति मेला त्यो क्षेत्रको ठूलै पर्व मानिने रहेछ।

माघे संक्रान्तिमा आयोजना गरिने छेलो हान्ने खेल प्रतियोगितामा भाग लिन टाढाटाढाका गाउँहरूबाट पनि सहभागीहरू आउने रहेछन। यो खेललाई कतिसम्म महत्व दिइएको पाइयो भने राजधानीदेखि कतिपय मानिसहरू हेलिकप्टर लिएर यही खेलका लागि मात्रै यहाँसम्म आउने रहेछन्। विगतमा छेलो हान्ने खेल मात्रै आयोजना हुने गरे पनि अहिलेको पुस्ताले भने यही मेसोमा अरू धेरै थरीको खेल प्रतियोगिता पनि आयोजना गराउने रहेछ।

डा. चन्द्रप्रसाद गुरुङ सिक्लेसवासी भएकामा स्थानीय मानिसले निक्कै गर्वसाथ उनको नाम लिँदा रहेछन्।

त्यस रात हामीलाई स्वागत गर्न आमा समूह तयार थियो। सुरुमा त जसरी हाम्रो स्वागत भयो, त्यसले लागेको थियो, सायद हाम्रा लागि मात्र यो स्वागतको आयोजना गरिएको होला। होइन रहेछ। त्यहाँ हरेक पर्यटकहरूलाई यस्तै गाउँले शैलीमा स्वागत गर्ने परम्परा रहेछ। यो क्षेत्रको पर्यटकीय सम्भावनाको कुरा गर्‍र्यौं। अन्नपूर्ण हिम शृंखला र लमजुङ हिमालको काखमा रहेको यो ठूलो गुरुङ गाउँ सिद्धहस्त कलाकारले बनाएको पेन्टिङ जसरी बसेको छ। हिमालपछि तरेली परेका पहाडको फेदमा बसेको यो गाउँ जताबाट हेरे पनि चिटिक्क मिलेको देखिन्छ। यहाँको चलन विचित्र रमाइलो रहेछ। घाटु नाचले स्वागत गर्दै पर्यटकहरूलाई मूल चोकमा लगिँदो रहेछ। जहाँ थाकेर आएका बटुवालाई चिया खाजा खुवाउँदै आमा समूहको नाच प्रस्तुत हुन्छ। यसले लामो बाटो काटेर आएका पर्यटकहरूले थकानलाई बिर्सिन्छन, आनन्दको अनुभूति गर्दछन्।

सिकलेससम्म पुग्न कच्ची सडक भए पनि धेरैजसो सडक राम्रै थियो। यही कारण पोखरा धुम्मिएका बेला विदेशी पर्यटकहरू आँखैअघि टाँसिएको हिमाल हेर्न यहाँ आउँदा रहेछन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयसँगै खुलेको यहाँको संग्रहालयले पनि पर्यटकको ध्यान खिच्ने गर्दछ।

रात्रि भोजन पनि गाउँले शैलीकै थियो। हामी व्यक्तिगत पाहुनाका रूपमा गएका थियौं, तर उहाँहरूले हामीलाई पर्यटकीय अनुभव दिन चाहनुभयो। रात्रिकालीन भोजनसँगै हुने नाचगानमा अरू पनि सामेल थिए। चौरमा आगो ताप्दै झ्वाईंखट्टेको नसामा मदहोषी पारामा राति अबेरसम्म साथीहरूसँग बिताएका ती क्षणहरू अति नै अविस्मरणीय रहे।

सिक्लेसबाट ७ घण्टा जति पैदल हिँड्ने हो भने २४ सय मिटरमाथि रहेको कपुचे हिमताल हेर्न सकिन्छ। मीनजीले बताएअनुसार गुरुङहरूको पैत्रिक थलो क्होंलासोथार पनि यहीँबाट जान सकिने रहेछ। गुरुङ जातिको हरेक व्यक्ति आफ्नो जीवनकालमा एकपटक सिक्लेस गाउँ पुग्नै पर्छ भन्ने मान्यता छ भन्ने कुरा पनि मीनजीबाटै थाहा पाइयो। यहाँ भनाइ नै छ, ‘गुरुङ संस्कृति बुझ्न चाहने व्यक्ति सिक्लेस गाउँ पुग्नै पर्छ।’

सिकलेस गाउँमाथि गाईबस्तु चरिरहेको फराकिलो बगैंचाजस्तो चौर देखिन्छ। त्यही चौरबाट देखिने सुन्दर हिमाल र गाउँको सुन्दर बनोट यसको आकर्षण हो। हामी जाँदा बाटामा हिउँ परेको परैबाट प्रस्ट देखिन्थ्यो। त्यहाँबाट ठाडो उकालो उक्लँदै जाँदा रेसिङ डाँडा पुगिन्छ। त्यहाँ पुगेपछि हिमाल पुगेको अनुभूति हुन्छ रे।

‘फागुन महिनापछि हिमाल छेक्नेगरी यहाँ गुराँस फुल्छ। ‘हामीलाई गाइड गरिरहेका मीनप्रसाद गुरुङ भन्दै थिए ‘गुराँस फुलेको र हिमाल फुलेको एकै पटक हेर्नुभयो भने भुतुक्कै हुनुहुनेछ।’ उनको भनाइले हामीलाई फागुनमा पनि यता आउनुपर्छ कि भन्ने लागेको थियो। त्यसपछि पाँचवटा फागुन बिते तर सिक्लेस जाने मेरो रहर रहरमै खुम्चिएको छ।

यहाँ पानीघट्टबाट चामल र पिठोको कुटाइ र पिसाइ हुने रहेछ। ती पानीघट्ट हेर्न पनि प्रशस्त पर्यटकहरू आउँदा रहेछन्। सम्पूर्ण गाउँ ढुंगाको छानाले छाएका रहेछन्। एकै खालको छाना र बनावट भएका कारण सम्पूर्ण गाउँ कलात्मक देखिएको रहेछ। गाउँको नाम सिकलेस रहनुमा पनि रमाइलो किस्सा सुन्न पाइयो। यहाँ बस्ने मानिसलाई कुनै रोग लाग्दैन भन्ने चलन सुनेपछि कुनै अंग्रेजी पर्यटकले यसको नाम सिकलेस राखेको भन्दै पोखरामा पर्यटन व्यवसायीहरूले टुर प्याकेज बिक्री गर्छन् भन्ने सुनियो।

हुन पनि माघ १ गतेको मध्यरात १२ बजे नुहाउँदा कुनै रोग लाग्दैन भन्ने आहानकै कारण माघीको अवसरमा यहाँ रहेको मन्दिरमा नुहाउनेहरूको भीड लाग्ने रहेछ। त्यसका लागि गाउँको कुनामा रहेको सानो मन्दिरमा मानिसको ठूलो भेला हुँदो रहेछ।

सिकलेसको पर्यटन उद्योग पूर्णरूपमा महिला र केटाकेटीमा निर्भर छ। हुन त पुरुषहरू पनि यदाकदा देखिन्छन् तर पर्यटकहरूको सेवामा भने महिलाहरू नै देखिन्छन्। सानैदेखि बालबालिकालाई पर्यटकीय स्वभावको ज्ञान दिन थालिएको कुरा थाहा भयो। महिलाहरूको आयले गाउँ धानेको देखिन्छ। गाउँ आएका पर्यटकलाई स्वागत, सम्मान र बिदाइमा सेतो टीका, फूलको माला, गुच्छा र खादा लगाइदिने काम पनि महिलाले नै गर्छन्। गुन्द्रुक, मकै, भटमास, कोदोको सेलरोटी, चियालगायतका परिकारहरू खुवाउने काममा पनि महिला नै खटिएका देखिन्छन्। स्वागत र विभिन्न परिकारहरू पर्यटकलाई दिएपछि गुरुङ संस्कार संस्कृतिको गीत तथा नाचहरू प्रस्तुत गरी पर्यटकलाई मनोरञ्जन दिने अभिभारा पनि महिलाले नै लिएका छन्।

यहाँको अर्को विषेशता हो हस्तकला। यहाँका मानिसहरूले दैनिक जीवनमा आवश्यकता पर्ने कतिपय वस्तुहरू आफैं तयार गर्छन। उनीहरू भेँडाबाख्राको ऊनबाट राडीपाखी, बक्खु, अल्लोको धागोबाट झांग्रा झोला, थैलो, नियालोको चोयाबाट डोको, नाम्लो, भकारी, थुन्से, घुमजस्ता आवश्यक वस्तुहरू तयार गर्दा रहेछन्। धान कुट्ने ढिकी, मकै, कोदो पिस्ने जाँतो, ढुंगा र जस्तापाताले छाएको घरको छाना, झ्याल ढोकाहरूमा कुँदिएका कला तथा परम्परा पर्यटकलाई नौलो लाग्न सक्छ।

त्यसो त गुरुङसेनीहरूको आत्मीयता, सहयोगी भावना अनि निष्कपट स्वभाव बोकेका ससाना बालबालिकाहरू तथा बूढीआमाहरूको पर्यटकप्रतिको मायालु व्यवहारले त्यहाँ पुगेका पाहुनाहरू तुरुन्तै फर्कन मान्दैनन्। त्यस्तै, लोपोन्मुख चराचुरुंगीहरूको मिठासपूर्ण आवाजले आल्हादित बनाउँछ। सुन्दर वनपाखा, एकनासको स्वच्छ र शीतल हावापानीले समेत पर्यटकहरू यसगाउँमा बस्न लालायित हुन्छन। गाउँमा बास बस्न पुगेका पाहुनाको सत्कार सँगसँगै लामा, सोरठी, घ्याब्रे, झ्याउरे, झाँक्रीलगायतका लोपोन्मुख संस्कृतिमा देख्दा फरकपन महसुस हुन्छ।

सिक्लेसको अनुभवसँग मलाई विश्वका अन्य पर्यटकीय क्षेत्रसँग तुलना गर्न मन लाग्यो। निश्चय नै विकसित देशहरूमा पर्यटन उद्योगलाई निकै ठूलो महत्व दिइन्छ। यात्रा रमाइलो पनि हुन्छ। तर नेपालमा जुन प्राकृतिक अनुभव प्राप्त हुन्छ, सायद अरूतिर नहुँदो हो। अरू देशको पर्यटन उद्योगसँग नेपालको तुलना हुन सक्दैन। सिकलेसको भ्रमणपछि भन्न सक्छु, हामीले अझै पनि हाम्रो नेपालीपन बिर्सिएका छैनौं। अतिथि देवो भवःको जुन मन्त्र छ, वास्तवमा त्यो अहिले पनि यथावत् छ।

आज यो लेख लेख्न बस्दा म सिकलेसले दिएको आथित्य सम्झिरहेको छु र आफ्नोपनको अनुभूतिमा रमाइरहेको छु। संयोजकले जुन उत्साहका साथ मलाई नेपालका कुनै पर्यटकीय क्षेत्रका विषयमा नियात्रा लेख्न आग्रह गरेका थिए, यति लेखेपछि महसुस भयो, यो सायद नियात्रा हुन सकेन।

यो लेख्न बस्दा न मसँग डायरीका टिपोट छन्, न त चाखलाग्दा सन्दर्भहरू। पाँचवर्षअघि बिना तयारी गरिएको त्यो हतारको यात्रा जस्तै भयो यो लेख। सिकलेसको जुन सौन्दर्य आँखामा बसेको छ, त्यसलाई प्रिन्ट वा प्रिजेन्ट गर्न म असमर्थ रहेँ। त्यो विराट सौन्दर्यलाई प्रतिबिम्बित गर्ने शब्द किन नबनेका होलान् ?   

@Jibalamichhane


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.