पढन्ते देखिन ठूलठूला किताब बोक्थें
![पढन्ते देखिन ठूलठूला किताब बोक्थें](https://annapurnapost.prixacdn.net/media/albums/anup-baral-_20200105021338_WPUf3avyyl.jpg)
भाइबहिनी हो, तिमीहरूले नेपाली सिनेमा र रंगमञ्चमा गएर नाटक कत्तिको हेर्छौं ? रंगमञ्चमा नाटक हेर्ने गरेका छौ भने पक्कै पनि मेरो नाम कहीँ कतै सुनेका छौ होला। म नाटक प्रशिक्षक, लेखक, निर्देशक र कलाकार हुँ।
आज तिमीहरूसँग यसरी प्रत्यक्ष रूपमा कुराकानी गर्ने मौका मिलेको छ। कुरा गर्दै जाँदा पक्कै पनि चिन्नेछौ। वास्तवमा म बाल्यकालमा निकै चुलबुले र जिज्ञासु स्वभावको थिएँ। त्यो बेलामा धेरै उट्पट्याङ पनि गर्थें। त्यहीबेलाका सम्झनामा रहेका केही अविस्मरणीय क्षणहरूबारे सुनाउन पाउँदा निकै खुसी लागेको छ।
मेरो नाम अनुप बराल हो। पोखराको नदीपुर भन्ने ठाउँमा म २०२४ सालमा जन्मिएको हुँ। मेरो सम्पूर्ण बाल्यकाल त्यहीँ बित्यो। आफ्नो बाल्यकाल सम्झिँदा कहिलेकाहीँ एकदमै रमाइलो लाग्छ, अचेल। हुन त मेरो घरको वातावरण शिक्षित थियो। तर, मलाई पढ्न भनेपछि निकै झ्याउ लाग्थ्यो। भाइबहिनी हो, कतै तिमीहरूलाई पनि पढाइदेखि झ्याउ त लाग्दैन ? त्यस्तो नगर्नु है। जीवनमा पढाइको महत्व एकदमै धेरै छ त्यसैले धेरै पढ्नु। सँगै आफूलाई मन लागेको कुरालाई पनि ध्यान दिनु।
पढाइ धेरै महत्वपूर्ण हुने रहेछ भनेर मैले धेरै पछि थाहा पाएँ। म पाँच वर्षको हुँदा बुवाले ज्ञानभूमि विद्यालयमा भर्ना गरिदिनुभयो। त्यहीँबाट मेरो औपचारिक पढाइ सुरु भयो। म स्कुलभन्दा बढी सिनेमा हेर्न जान्थें। नजिकै एउटा सिनेमा घर थियो। त्यो सिनेमाघरमा लाग्ने प्रायः सबै फिल्म हेर्थें।
म धेरै जिज्ञासु थिएँ। एकपटक मैले बुवाले ल्याउनुभएको भित्तेघडी खोलेर बिगारेँ। बुवाले गाली गर्नुहुन्छ भनेर मैले घरको पछाडिपट्टिको करेसाबारीमा लगेर पुरिदिएँ। बुवाले त्यो घडी खुब खोज्नुभयो मैले भन्दै भनिनँ। एक वर्षपछि बारी खन्दा पाइयो। यसरी बदमासी गर्थें।
मलाई २÷३ कक्षा पढिसकेपछि स्कुल जान पटक्कै मन लाग्थेन। त्यसैले कक्षा १० सम्म पढ्दा लगभग सात वटा विद्यालय परिवर्तन गरेँ। चार÷पाँच वर्षकै उमेरमा मैले फिल्म हेर्न थालेको हुनाले मेरो बानी नै फिल्म हेर्ने भयो। हरेक पटक नयाँ फिल्म लाग्दा हेरिहाल्थेँ। एउटा रमाइलो कुरा के थियो भने शुक्रबारको दिनमा नयाँ फिल्म लाग्थ्यो। तर, त्यो फिल्म लाग्नुभन्दा पहिले राति ९ बजे कुन फिल्म चलाउने र कुन नचाउने भनेर सेन्सरका लागि ठूलाठूला मानिसले हेर्थे। तर, त्यो हेर्नका लागि शुक्रबारका दिन कुर्सीमुनि लुकेर बस्थेँ। उनीहरूले थाहै पाउँदैनथे।
दोस्रो दिन बिहानै मैले त्यो फिल्मको कहानी भनिसक्थे। सबै जना फिल्म नहेरी कसरी थाहा पाइस् भनेर भन्थे। तर, हेरेको कुरा मैले कसैलाई पनि भन्दिनथेँ। एकातिर फिल्मले निकै तान्थ्यो भने अर्कोतिर पोखरामा हुने बालन, भैरवनाथका जात्राहरू तथा सांस्कृतिक कार्यक्रम मलाई खुब मन पथ्र्यो। जात्रामा मखुन्डोलगायतका नाच्ने पात्रहरूलाई देखेर मलाई कुनै नयाँ लोकको कल्पना हुन्थ्यो र मनमनै मलाई पनि यस्तै गर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो। त्यसैले म सानैदेखि स्कुल जान छोडेर जात्रा भए जात्रा नत्र फिल्म हलमा गएर फिल्म हेर्थेँ। छोरा फिल्म हेरेर बिग्रिन्छ भनेर बुवाले पनि फरकफरक स्कुलमा भर्ना गरिदिनुहुन्थ्यो। म पनि स्कुल छोडेर भागिदिन्थेँ।
पढाइमा त्यति ध्यान नदिए पनि म फेल भने कहिल्यै भइनँ। त्यति मात्र कहाँ हो र घरमा बुवाको ठूलो पुस्तकालय थियो। त्यहाँ राखिएका ठूला र राम्राराम्रा गाता भएका कथा, कविता, उपन्यास, नाटकजस्ता साहित्यका पुस्तक बोकेर हिँड्थे। आफूलाई अरूका सामुन्ने पढन्ते देखिनका लागि त्यो बोक्थेँ। तर, म पढ्थेँ पनि। वास्तवमा भन्ने हो भने मलाई कोर्सका किताबभन्दा त्यस्तै आउट किताब बोक्न मन पथ्र्यो।
म अलिअलि ठूलो भए पनि फिल्म हेर्ने बानी छुटेन। त्यसमाथि झन् साथी सर्कल पनि बढ्दै गयो। पृथ्वीनारायण क्याम्पसको पछाडि एउटा खरबारी थियो। त्यहाँ बयरको बोट थियो। त्यहाँ हामी बयर टिप्न जान्थ्यौँ। त्यति मात्र होइन चार÷पाँच घण्टा हिँडेर काफल टिप्ना जाँथ्यौं। पढाइतिर ध्यान नै गएन। नजिकै एउटा खोला पनि थियो। घरबाट स्कुल जाने भनेर निस्किने, दिनभरि पौडी खेलेर घर फर्किन्थ्यौँ।
यस्तो चकचक गरेको देखेर आमाले मलाई स्याङ्जा मामाघर पठाउनुभयो। स्याङ्जाको फूलबारी हाइस्कुल भन्ने विद्यालयमा भर्ना गरिदिनुभयो। त्यहाँ पनि म त्यस्तै नजिकैको खोलामा त्यहाँका मानिसले पम्प राखेर माछा मार्थे। म स्कुल नगएर दिनभरि तिनीहरू माछा मारेको हेरेर बसिरहन्थेँ। नजिकै जंगल थियो। साथीहरूसँग जंगलमा गएर चराका गुँडहरू खुब चलाउँथ्यौँ। त्यतिबेला मलाई कुन चराको गुँड कस्तो हुन्छ र कुन चराको अण्डा (फुल) कस्तो हुन्छ भनेर देख्नेबित्तिकै थाहा हुन्थ्यो।
कक्षा ७ सम्म यसरी नै दिन बितेपछि कक्षा ८ पुगेपछि मात्र त्यस्तो चकचक स्वभावमा कमी भयो। तर, म जिज्ञासु भने थिएँ। यो २०३९÷४० तिरको कुरा हो। म विस्तारै विभिन्न खेलकुदमा भाग लिन थालेँ। सूर्योदय युवा क्लव नामको एउटा क्लब थियो। क्लबले दौड, भलिबल तथा अन्य विभिन्न खालका प्रतियोगिता गथ्र्यो। खेलकुदमा रुचि बढेपछि मैले मार्सल आर्ट पनि खेले। त्यसमा ब्ल्याकबेल्ट लिएको थिएँ। यसरी विभिन्न गतिविधिमा सक्रिय भएपछि मलाई नाटक गर्ने मौका मिल्यो।
पहिलो पल्ट मैले ‘जब इज्जत सल्कन्छ’ नामको लागूपदार्थ विरुद्धको नाटक गरेँ, त्यसले मलाई त्यतातिर आकर्षित गर्यो। नाटक देखाउनका लागि त्यतिबेला साधनस्रोत केही थिएन। घरकै सामान लगेर बनाउँथे। पछि ‘किन बाँच्नुपर्छ’ भन्ने नाटक मैले पहिलो पटक थिएटरमा गरेँ। यहीँबाट मेरो यात्रा सुरु भयो। मैले गरेका यी नाटकबाट धेरैले प्रभावित भएर उनीहरूले प्रशंसा गर्न थाले।
आफूले भन्न खोजेको विषय नाटकको माध्यमबाट रमाइलो गर्दै भन्न सकिन्छ भन्ने लाग्यो र यसले मलाई तान्यो। त्यतिबेला बुवाले नेपालका विभिन्न पत्रपत्रिका र भारतबाट प्रकाशित हुने पत्रिकाहरू ल्याउनुहुन्थ्यो। ती पत्रिकाहरू पढ्ने बानी मलाई पनि लाग्यो र पढेर मैले कथाहरू कसरी भन्न सकिन्छ भन्ने आइडिया लिएँ। मैले पनि नाटकका माध्यमबाट यसलाई देखाउनुपर्छ भन्ने लाग्यो।
यसरी मेरा नाटकयात्रा प्रारम्भ भयो। मैले थाङ्ला, मलामी, उमा, कोर्टमार्सललगायतका दर्जनौं नाटक गरिसकेको छुँ भने दासढुंगालगायतका फिल्ममा पनि अभिनय गरिसकेको छुँ। यसरी पछि मैले सिकेका कुरा अरुलाई पनि सिकाउनुपर्छ भनेर ‘एक्टर्स स्टुडियो’ भन्ने नाटक प्रशिक्षण केन्द्र खोलेको छुृ। त्यसैले भाइबहिनी हो, कुनै पनि क्षेत्रमा लाग्दा रहरले मात्र होइन, यही क्षेत्रमा केही गर्छु भनेर लागेमा अवश्य सफल भइन्छ।
(रंगकर्मी बरालसँग इन्द्र चौधरीले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)