दीक्षान्तको दराज
‘बाबा, अब म मेरा पुस्तक छुट्टै राख्छु है ! तपाईंहरूको पुस्तकमा मिसाएर राख्दा खोजेको बेला मेरा पुस्तक मैले भेटिनँ’, दीक्षान्तले भने। बाबाले दीक्षान्तका कुरा नसुनेभैmँ गर्नुभयो। आमाले भन्नुभयो, ‘त्यै र्याकमाथि मिलाएर राख न ! अहिले किन छुट्टै र्याक चाहियो ? ’
उनले भने, ‘र्याकमाथि खेलौना छन्। पुस्तक अट्दैनन्। कता राख्नु !’ आमा दीक्षान्तका पुस्तक हेर्न आउनुभयो। साँच्चै, उनका पुस्तक राख्न छुट्टै र्याक आवश्यक भइसकेछ। आमाले र्याकको एउटा खण्डबाट अरू पुस्तक झिकेर अर्कोमा खाँद्नुभयो। र्याकको एउटा खण्ड खाली भयो। अनि भन्नुभयो, ‘ल, अहिले यहीँ मिलाएर राख।’ खाली भएको खण्डमा दीक्षान्तले पुस्तक मिलाएर राखे।
दीक्षान्तलाई कथा, कविता पढ्न खुब मन पर्छ। त्यस्ता पुस्तक पढ्दा उनलाई निकै फाइदा भएको छ। परीक्षामा उनी नयाँ तरिकाले उत्तर लेख्छन्। कक्षामा सधैं प्रथम हुन्छन्। अरू साथीभन्दा उनले बढी शब्द जानेका छन्। उनी कक्षाका मनिटर बनेका छन्। साथीहरूलाई कथा, कविता पढ्न भन्छन्।
उनी अहिले ५ कक्षामा पढ्छन्। ५ कक्षामै उनले बाल साहित्यका धेरै पुस्तक पढे। कथा पढे। कविता पढे। उपन्यास पढे। निबन्ध पढे। नाटक पढे। बालगीत र बाल गजल पनि खोजीखोजी पढे।
पढिसकेका पुस्तक साथीहरूलाई पढ्न दिन्छन्। साथीलाई दिएको पुस्तकको नाम नोटकापीमा लेखेर राख्छन्। पुस्तक पढेका साथीलाई पुस्तकका कुरा पनि सोध्छन्।
दिनदिनै दीक्षान्तका पुस्तक बढ्दै गए। जन्म दिनमा उनी ‘पुस्तक उपहार ल्याइदिनु है !’ भन्थे। दीक्षान्तको पुस्तकप्रेम थाह पाएपछि पाहुनाले समेत उनलाई पुस्तक ल्याइदिनुहुन्थ्यो। पुस्तक दिने मानिस उनलाई असल लाग्थ्यो।
उनका पुस्तक राखेको खण्डमा अब पुस्तक अट्न छाड्यो। उनलाई नयाँ र्याक चाहिने भयो। एकदिन उनले आमालाई भने, ‘अब मेरा पुस्तक अटेनन्। अर्को खण्ड पनि खाली बनाइदिनु है !’
आमाले आएर हेर्नुभयो। दीक्षान्तका थुप्रो पुस्तक जम्मा भइसकेका रहेछन्। आमाले भन्नुभयो, ‘बाबासँग सल्लाह गरेर तिमीलाई सानो र्याक किनिदिउँला।’
अर्को दिन बाबाले दीक्षान्तका पुस्तक राख्न र्याक किनेर ल्याउनुभयो। शनिबारको दिन पारेर दीक्षान्तले पुस्तक मिलाए। कथा एउटा खण्डमा राखे। कथा राखेको खण्डमा ठूला अक्षरले ‘कथा खण्ड’ लेखेर टाँसे। कविता अर्को खण्डमा राखे। त्यहाँ पनि नाम लेखे। अर्कोमा निबन्ध राखे। सबै र्याकमा नाम पनि लेखेर टाँसे।
स्कुल आउनेबित्तिकै उनी पुस्तकको र्याक हेर्छन्। पुस्तक हराउँछन् कि भनेर उनलाई चिन्ता लाग्छ। आपूm सुत्ने खाटको अगाडि र्याकभरि पुस्तक देख्दा उनलाई आनन्द आउँछ। उनी दिनको एकचोटि र्याकका पुस्तक यताउता चलाउँछन्। अनि मिलाउँछन्।
एकदिन बिहान उठ्दा दुई तीनवटा पुस्तक भुईंमा झरेका रहेछन्। ‘राति पुस्तक कसले झार्यो होला ! बेलुका सबै पुस्तक र्याकमै थिए’, उनले सोचे। नजिक गएर तल झरेका पुस्तक समाते। हेरे। किताबका छेउतिर काटिएको रहेछ। भुइँमा कागजका टुक्रा देखे। उनको मन कुटुक्क खायो। एउटा मुसो र्याकको चेपबाट भाग्यो। पुस्तक चपाउने बदमासलाई उनले चिनिहाले।
उनी कुदेर आमा भएको ठाउँमा गए। आमालाई कोठामा लिएर आए। रुन्चे मुख लगाएर भने, ‘आमा, पुस्तक मुसाले काटिहालेछ नि ! हेर्नु त, भुईंमा पुस्तक काटेको टुक्रा। अब मुसाले मेरा सबै पुस्तक काट्छ। तपाईंहरूका पुस्तक पनि सिध्याउँछ।’
आमाले भन्नुभयो, ‘लौ, मुसाले अब पुस्तक काटेर सक्छ।’ उनले सोधे, ‘अब के गर्ने त आमा ? पुस्तक कसरी जोगाउने ? ’ आमाले भन्नुभयो, ‘कुनबेला आएर काट्छ, मुसालाई के गर्न सकिन्छ र बाबु ? ’
दीक्षान्त रुन मात्र सकेनन्। उनलाई मुसादेखि रिस उठ्यो। उनले भने, ‘त्यसलाई किन उपद्रो गर्नु परेको होला ! पुस्तक काट्दा मुसालाई के फाइदा हुन्छ होला ? मुसाले कागज त खाँदैन होला नि !’
आमाले भन्नुभयो, ‘मुसाले उपद्रो गरेको हैन बाबु। हामीले मुसाबाट पुस्तक जोगाउन नसकेको हो। यो गर्नु हुन्छ, यो गर्नु हुँदैन भनेर मुसालाई थाह हुन्छ र ! खानेकुरा नभेटेपछि जे पनि काट्छ मुसाले।’
दीक्षान्तले भने, ‘अब र्याकको छेउमा मुसालाई खानेकुरा राखिदिऊँ न त।’ आमाले भन्नुभयो, ‘मुसालाई खानेकुरा राख्नु पर्दैन। मुसाले नकाट्ने गरी पुस्तक राख्नुपर्छ।’
अर्को दिन बाबाले सिसाको ढोका भएको दराज ल्याउनुभयो। दराजलाई कोठाको कुनामा मिलाएर राखेपछि बाबाले भन्नुभयो, ‘ल, अब त गनगन गर्दैनौ होला नि ! यसमा सबै पुस्तक अट्छन्, मिलाएर राख। चाहिएको बेला मात्र दराजको ढोका खोल्नू। अघिपछि सधैँ बन्द गर्नू।’ दीक्षान्त अत्यन्त खुसी भए। उनले भने, ‘बाबाआमालाई धेरैधेरै धन्यवाद !’
दीक्षान्त सुत्ने खाटबाट दराजका पुस्तक देखिन्छ। मन लागेको पुस्तक झिकेर पढ्छन्। दराजको सिसा लगाउन उनी बिर्सिँदैनन्। कहिलेकाँही ‘चींचीं’ गरेर डुहुरे मुसा दराजवरिपरि आउँछ। पहिले पो र्याक खुला थियो अनि मुसा भित्र पस्थ्यो। अहिले मुसा कताबाट पसोस् !
घरमा आएका साथी र आफन्तहरूलाई पुस्तक देखाउँछन्। ‘तिमीले यो पुस्तक पढेका छौ ? ’ भनेर सोध्छन्। उनकै सिको गरेर अचेल साथीहरूले पनि पुस्तक जम्मा गर्न थालेका छन्। कोर्सका भन्दा अरू पुस्तक नपढ्ने साथीलाई पनि पुस्तक पढ्न बानी पारेका छन्।