दशगजा मिचेर कस्टम चेकपोस्ट

दशगजा मिचेर कस्टम चेकपोस्ट

सिरहा : सीमावर्ती भगवानपुर गाउँपालिका–४ ठाडी बजारस्थित भारतीय पक्षको कस्टम अफिसले दशगजा मिचेर स्वागतद्वार निर्माण थालेपछि विरोध भएको छ। स्थानीयले विरोध गरेसँगै प्रहरी प्रशासनले चासो देखाएको छ। तत्काललाई काम स्थगन गर्न दुवै पक्षका सुरक्षा अधिकारीबीच सहमति भएको छ। दुवै देशको संयुक्त सर्वे टोलीको अनुगमनबाट विवाद निरूपण गरेपछि मात्रै काम अघि बढाउने सहमति भएको हो।

एक वर्षअघि पनि यहाँ भारतीय पक्षले स्वागतद्वार बनाउन खाल्टो खनिसकेको थियो। तत्कालै प्रशासनले रोक्न लगाएको थियो। अहिले फेरि भारतीय पक्षले निर्माण कार्य गर्न खाल्टो खनिसकेको छ। हाल निर्माण गर्न खोजिएको स्वागतद्वारबाहेक पनि भारतीय पक्षले कस्टम चेकपोस्ट र एसएसबीको चेकिङ प्वाइन्ट दशगजामै राखेको छ।

पटक–पटक चेकपोस्ट हटाउन माग गरे पनि आफूहरूको माग सुनुवाइ नभएको स्थानीय कन्हैया भट्टले बताए। ‘दशगजा मिचेर भारतीय प्रशासन र स्थानीयले घर टहरा बनाएको छ,’ उनले भने, ‘रोक्नका लागि हाम्रो प्रशासनलाई धेरैपटक भनिसक्यौं। तर कुनै पहल भएको देखिँदैन।’ स्वागतद्वार निर्माण भइरहेको जानकारी पाउनसाथ आफूले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएको गाउँपालिका अध्यक्ष बेचनप्रसाद यादवले बताए।

‘यहाँ स्वागतद्वार बनाउने विषयमा वर्षैपिच्छे विवाद हुन्छ। भारततिर एउटा गेट हुँदाहुँदै पनि अर्को बनाउन दशगजा मिच्न खोजिएको छ,’ उनले भने, ‘विवाद बढेपछि काम स्थगन भएको छ।’ दुवैतिरका प्रशासनले सर्वे टोली ल्याएर विवाद समाधान गर्ने सहमति भएको उनले बताए।

‘भारतीय कस्टम अफिसबाट स्वागतद्वार बनाउने कुरा आयो। स्थानीयलmे त्यो ठाउँ दशगजाभित्रै पर्न कुरा उठाएपछि हामीले सम्बन्धित पक्षसँग यसको बारेमा बुझ्ने काम गरेका छौँ,’ सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भने, ‘स्थानीय गाउँपालिका अध्यक्षलगायत सुरक्षा निकाय, स्थानीयवासीसँग छलफल गर्दा विवादित ठाउँ रहेको कुरा उठेको छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.