चीनमा नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ

चीनमा नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ

बेइजिङ : नेपाल भ्रमण वर्ष २०२० को चीनमा पनि औपचारिक रूपमा शुभारम्भ गरिएको छ । यसै अवसरमा मङ्गलबार बेइजिङस्थित नेपाली दूतावासले एक समारोहको आयोजना गरेको छ ।

बेइजिङस्थित प्यान प्यासिफिक होटलमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले स्वागत मन्तव्य राख्दै नेपालको अद्वितीय संस्कृति, प्रकृति र साहसिक खेल तथा पर्यटनको अनुभव लिन चिनियाँ पर्यटकलाई अपील गरे । 'नेपाल भ्रमण वर्षको अवसरमा चिनियाँ पर्यटकलाई हार्दिक स्वागत छ', राजदूतले भने ,'पर्यटन नेपालको मुख्य स्रोत हो र यस वर्ष नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएको छ।'

चिनियाँ राष्ट्राध्यक्ष सीको नेपालको राजकीय भ्रमणको स्मरण गर्दै राष्ट्राध्यक्ष सीलेसमेत नेपाल भ्रमणलाई सफल बनाउन सहयोग गर्ने बताएको भन्दै उनले दुई देशका जनताबीच आदाप्रदान धेरै बढ्ने आशा पनि व्यक्त गरे ।

समारोहको मुख्य आकर्षण नेपाल भ्रमण वर्षकी चिनियाँ सद्भावना दूत प्रख्यात चिनियाँ अभिनेत्री स्वी छिङ बनेकी थिइन् । उनले हालैको आफ्नो नेपाल भ्रमणको अनुभव सुनाउँदै उपस्थित चिनियाँलाई नेपाल घुम्न जान आह्वान गरिन् ।

साथै नेपालको पर्यटकीय क्षेत्रसँग परिचित चिनियाँहरूले आफ्ना गहकिला अनुभव सुनाउँदै चिनियाँ पर्यटकका लागि नेपाल उत्कृष्ट गन्तव्य रहेको बताए । सगरमाथा आरोही स्या पोयु र सुन यिछ्युआनले पनि आफ्नो साहसिलो अनुभव सुनाउनुका साथै सगरमाथा आरोहणको छोटो भिडियोसमेत देखाएका थिए ।

नेपालमा छायाङ्कन गरिएको चिनियाँ चलचित्र ‘तङ फङ लाइ’ का निर्माता स्यान फङ र उनको समूहले पनि नेपालको अनुभव सुनाएका थिए ।

कार्यक्रमका मानार्थ अतिथि विदेशी राष्ट्रका लागि बेइजिङ जनमैत्री संघका कार्यकारी उपाध्यक्ष चाङ छिआनले नेपाल अत्यन्त सुन्दर र सांस्कृतिक विविधताले भरिपूर्ण रहेको भन्दै नेपाल भ्रमण वर्ष २०२० ले धेरैभन्दा धेरै चिनियाँलाई आकर्षित गर्ने बताइन् साथै भ्रमण वर्षको सफलताको कामना पनि गरिन् ।

नेपाल सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ भने चीनबाट मात्रै ५ लाख पर्यटक ल्याउने लक्ष्य लिएको छ । सरकारले चिनियाँ पर्यटकलाई सन् २०१६ देखि निशुल्क भिसा दिन थालेको छ । कूटनीतिक नियोग उपप्रमुख सुशील लम्सालले नेपालको पर्यटकीय विशेषता झल्किने खालको पिपिटी प्रस्तुतिसहित जानकारी दिएका थिए । अन्तर्राष्ट्रिय मिडियाले समेत नेपाललाई भ्रमणका लागि सर्वोत्कृष्ट गन्तव्य जनाएको सम्बन्धमा पनि चर्चा गरे ।

काठमाडौं बाट बेइजिङसम्म सिधा हवाइ उडान गरिरहेको हिमालय एयरलाइन्स, एयर चाइना र प्रख्यात चिनियाँ पर्यटन वेबसाइट ट्रिपजटकमले पनि प्रर्वद्धनात्मक सामग्री प्रस्तुत गरेको थियो ।

कार्यक्रमको शुभारम्भ कुमारी नृत्यबाट गरिएको थियो साथै कार्यक्रममा विविध नेपाली सांस्कृतिक नृत्य पनि प्रस्तुत गरिएको थियो । सो अवसरमा बेइजिङस्थित विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधिहरु तथा चीनका विभिन्न पर्यटन व्यवसायी, लगानीकर्ता तथा उद्यमीहरु सहभागी थिए । साथै उपस्थित अतिथिलाई नेपाली परिकारले समेत स्वागत गरिएको थियो ।

दूतावासले गत वर्षदेखि नै चीनका विभिन्न शहरमा नेपाल भ्रमण वर्षको प्रचारप्रसार गर्दै आएको छ । यसै वर्षको आरम्भसँगै जनवरी ४ मा नेपाली व्यापारीको बाक्लो ओहोरदोहोर हुने ईवु शहरमा पनि वर्ष २०२० को कार्यक्रमको आयोजना गरेको थियो ।

नेपाल सरकारले नेपालभन्दा बाहिर ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भ समारोह आयोजना सन् २०२० जनवरी ७ मा गर्न विदेशस्थित नेपाली दूतावास तथा नियोगलाई परिपत्र जारी गरेको थियो ।

नेपाल भ्रमण वर्षको प्रचारप्रसार गर्नका लागि चीनका विभिन्न शहरमा वर्षभरि नै नेपाली कला, संस्कृति, सङ्गीत, तथा खाना लगायतको प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने पनि दूतावासले जनाएको छ ।
 
सन् २०१७ देखि २०१९ सम्म क्रमशः ९,६०४, १५,७०४ र २३,९६७ चिनियाँ तथा केही विदेशीले नेपालको पर्यटन भिसा लिएको तथ्याङ्क दूतावासले उपलब्ध गराएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.