फुसको छाना हटाइ जस्ताको छाना
वीरगन्ज :पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा फुसको घर भएका विपन्नलाई प्रतिनिधिसभा सदस्य प्रदीप यादवले जस्ताको छाना उपलब्ध गराउने घोषणा गरेका छन्। सघन सहरी तथा भवन निर्माण योजना अन्तर्गत सुरक्षित नागरिक आवास कार्यक्रमको बुधबार बसेको बैठकमा सांसद यादवले आफ्नो निर्वाचनमा क्षेत्रमा रहेका फुसको छाना हटाइने घोषा गरे।
सुरक्षित नागरिक आवास कार्यक्रमका संयोजकसमेत रहेका सांसद यादवले भने, ‘मेरो निर्वाचन क्षेत्रका दुई हजार बढी फुसको छानो भएका घर छन्। पहिलो चरणमा ५ सय जतिको घरमा जस्तापाता लगाउने निर्णय भएको छ।’ पाच वर्षे कार्यकालमा बाँकी रहेका सबै घरधुरीमा जस्तापाताको छाना हुने उनले दाबी गरे। ‘मेरो कार्यकालमा यहाँका कुनै पनि घरमा फुसको छाना रहने छैन’ उनले थपे।
जस्ता हाल्नका लागि हरेक परिवारलाई जनही ५० हजार रुपैयाँ उपलब्ध गराइने उनले बताए। उनले थपे, ‘घरधनिको खाता खोलेर पहिलो किस्तामा ३० हजार रकम उपलब्ध गराइनेछ। त्यसपछिको कार्य प्रगति हेरेर दोस्रो किस्तामा २० हजार रुपैयाँ दिइनेछ।’
प्रतिक्रिया दिनुहोस !