हुण्डी कारोबारी आरोपमा तीन लाखसहित भारतीय पक्राउ
वीरगन्ज : प्रहरीले हुण्डीको कारोबारी रहेको आशंकामा एक भारतीय नागरिकलाई वीरगञ्जबाट पक्राउ गरेको छ। विशेष सुराकी पाएर सोमबार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले जबिउल्लाह आलमलाई वीरगन्ज-१६ रजतजयन्ती चोकबाट पक्राउ गरेको हो । २१ वर्षीय आलमको घर भारत बिहारको रक्सौल भएको बताइएको छ।
रक्सौलबाट बीआर ०५ भी ३४४४ नम्बरको भारतीय मोटरसाइलकमा रक्सौलबाट वीरगन्ज आइरहेका उनलाई रोकेर चेकजाँच गर्दा उनको साथबाट श्रोत खुल्न नसकेको नगद ३ लाख रुपैयाँ बरामद भएको प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले बताए। उक्त रकम हुण्डीको अवैध कारोबारका लागि ल्याइएको आशंका गरिएको भन्दै प्रहरी उपरिक्षक राठौरले भने ‘आलमलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको छ।’
यसअघि पुष २२ मा पनि प्रहरीले रजतजयन्ती चोकबाटै हुण्डी कारोबारीको आशंकामा एक भारतीय नागरिकलाई नगद ४ लाख ४५ हजार रुपैयाँसहित पक्राउ गरेको थियो।
प्रतिक्रिया दिनुहोस !