धर्मगुरुका प्रतिवद्धता : बालविवाह हुन दिन्नौँ
वीरगन्ज : समाजमा विद्यमान बालविवाह रोक्न विभिन्न धर्मका धर्मगुरुले सामुहिक प्रतिबद्धता जनाएका छन्। वीरगन्जमा मङ्गलबार भएको बालविवाह नियन्त्रण तथा रोकथाम विषयक अन्तरक्रिया कार्यक्रममा हिन्दु, मुस्लिम, सिख र क्रिश्चियन धर्मका धर्म गुरु र अगुवाले आ-आफ्नो धर्म र समुदायमा बालविवाह रोक्ने सामुहिक प्रतिबद्धता जनाएका हुन्।
हिन्दु धर्मका तर्फबाट नेपाल ज्योतिष परिषदका केन्द्रीय उपाध्यक्ष पण्डित पुरुषोत्तम दुबे, इस्लाम धर्मका तर्फबाट मौलाना अली असगर मदिनी, नेपाल ख्रिष्टियन समाज पर्साका अध्यक्ष नारायण आचार्य र सिख धर्मकातर्फबाट गुरुद्वारा वीरगन्जका अध्यक्ष अमरजित सिंहले लिखित रुपमै प्रतिबद्धता जनाएका हुन्।
कुनै पनि धर्ममा बालविवाहलाई मान्यता नदिएको भन्दै उनीहरूले बालविवाह कानूनी मात्र नभइ सामाजिक अपराध पनि भएकोले समाजबाट यसलाई निमिट्यान्न नै पार्नु पर्नेमा जोड दिए।
प्रहरीको यो सचेतनामुलक अभियानसँगै राज्यले बालबालिकाको शिक्षामा पनि जोड दिनुपर्ने सुझाव उनीहरूको थियो। कार्यक्रममा मुस्लिम धर्म गुरु मौलाना अली असगर मदिनीले इस्लाम धर्म बालविवाहविरुद्ध रहेकोले सदैव बालविवाहविरुद्ध आवाज उठाउँदै आएको बताए।
'हुन त इस्लाम धर्ममा बिहेको उमेर हद तोकिएको छैन, बालीग भएपछि बिहे गरिदिनु पर्छ भनिएको छ। तर बालीग भएलगत्तै विवाह नगरे त्यो इस्लामको खिलाफ हुन्छ वा पाप लाग्छ भनेर पनि इस्लाम धर्ममा भनिएको छैन।' उनले थपे ,‘ इस्लाम धर्मग्रन्थ कुरानमा आफ्नो देशको कानुनको पालना गर्न भनिएको छ , त्यसैले नेपालको कानुन अनुसार २० वर्ष उमेर नपुगी विवाह गरे गराए कानूनी अपराध हुने भएकाले बालविवाहविरुद्ध हाम्रो धर्म सुमदायमा पनि अभियान चलाउँछौँ।'
नेपाल ज्योतिष परिषदका केन्द्रीय उपाध्यक्ष पण्डित पुरुषोत्तम दुबेले बालविवाह सामाजिक अपराध पनि भएकाले यो कुप्रथाका विरुद्ध जिल्लाका सबै हिन्दुधर्मसँग सम्बद्ध संघसंस्थाहरु लाग्ने उद्घोष गरे। 'बालविवाह कानुनी अपराध मात्र नभइ सामाजिक अपराध पनि हो', उनले भने,‘हिन्दुधमशास्त्रका पुराण, वेद सबै ग्रन्थमा पनि मुलुकको कानुन, ऐनलाई पालना गर्नु भनेर लेखिएको छ, त्यसैले समाजबाट बालविवाह निस्तेज पार्न हामी अब सक्रिय भएर लाग्छौँ।'
सिख धर्मका धर्मगुरु अमरजित सिंहले भने सिख धर्म समुदायमा बालविवाह गर्ने चलन नै नरहेको जानकारी गराए। ख्रिष्टियन समाज पर्साका अध्यक्ष नारायण आचार्यले सामाजिक कुरीतिका रुपमा रहेको बालविवाहका कारण महिला हिंसा र सामाजिक अपराध पनि भइरहेकाले यो कुप्रथाकाविरुद्ध थालिएको अभियानमा आफ्नो समुदायको पुर्ण समर्थन रहेको बताए।
बालविवाहविरुद्ध सामुहिक प्रतिबद्धता जनाएका धर्म गुरु र अगुवाहरुले प्रहरीको अगुवाइमा थालिएको अभियान सकरात्मक र प्रशंसनीय रहेको बताएका थिए। तर प्रहरी कार्यालयमा बालविवाह सम्बन्धि पर्ने उजुरीहरुमा कहिले काही प्रहरीले कानुनी कार्वाही नगरी मिलापत्र गराएर पठाइदिने गरेको गुनासो पनि उनीहरुको थियो।
शिक्षा र चेतनाको कमीको कारणले पनि सामाजमा बालविवाह कुप्रथा बढिरहेको भन्दै उनीहरुले यसलाई निरुत्साहित गर्न शिक्षामा जोड दिनुपर्ने सुझाव दिए। कार्यक्रममा पर्साका प्रहरी नायव उपरीक्षक गौतम थापाले बालविवाहका प्रमुख कारण र यस सम्बन्धि कानुनी सजायको प्रावधान बारे जानकारी गराएका थिए।
प्रहरी नायव उपरीक्षक थापाका अनुसार जिल्ला प्रहरी कार्यालय पर्सामा चालु आर्थिक वर्षको साउनदेखि पुष अन्तिम सातासम्म बालविवाहका २ मुद्धा दर्ता भएका छन्। गत आर्थिक वर्ष २०७५/०७६ मा बालविवाहका १ र २०७४/०७५ मा ४ र बालविवाह उद्योगका २ मुद्धा दर्ता भएका थिए।
प्रतिक्रिया दिनुहोस !