३५ कोठेलाई पाँचतारे मान्यता

३५ कोठेलाई पाँचतारे मान्यता

काठमाडौं : सरकारले पहिलो पटक हेरिटेज तथा बुटिक होटलको स्तर वर्गीकरण गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले होटल, लज, रेस्टुराँ, बार तथा पथप्रदर्शक नियमावली २०३८ लाई संशोधन गरेर होटल वर्गीकरणको नयाँ मापदण्ड निर्धारण गरेको हो। मन्त्रालयले जारी गरेको होटल, रिसोर्ट, पर्यटक इन, पर्यटक लज मोटेल तथा बेड एन्ड बे्रकफास्टको वर्गीकरण र मापदण्ड निर्धारण गरेको छ। उक्त मापदण्डले पहिलो पटक हेरिटेज तथा बुटिक होटललाई वर्गीकरण गरेर अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था गरेको हो।

सरकारबाट स्वीकृतपश्चात यही पुस पहिलो साता राजपत्रमा सूचना प्रकाशित गरेर सार्वजनिक गरिएको होटल वर्गीकरण मापदण्डमा पर्यटकस्तरदेखि पाँचतारे डिलक्ससम्मकै लागि आवश्यक सेवा र शर्तको व्यवस्था तोकिएको छ। सोही मापदण्डमा हेरिटेज एवं बुटिक होटललाई भौतिक सेवा र सुविधाका आधारमा साधारण, डिलक्स र लक्जरी गरी तीन भागमा वर्गीकरण गरिएको छ। यस्तो होटल कम्तीमा तीनतारे स्तरको सेवा सुविधामा हुनुपर्ने उल्लेख छ। साधारण डिलक्स र लक्जरीलाई क्रमश: तीनतारे, चारतारे र पाँचतारेको मापदण्ड तोकिएको छ। समग्र होटलको वातारवण नेपाली परम्परा र मौलिकमता झल्कने गरी तयार पारेको हुनुपर्ने व्यवस्था तय गरिएको छ। यस्ता होटलको स्तरीकरण गर्ने समितिमा पुरातत्व विभागबाट सम्बन्धित क्षेत्रको ज्ञान भएका प्राविधिकलाई समावेश गर्नैपर्ने व्यवस्था गरिएको छ।

हेरिटेज तथा बुटिक होटल ३५ कोठा भएको अवस्थामा यसलाई पाँचतारे स्तरमा वर्गीकरण गर्न सकिने व्यवस्था गरिएको छ। कम्तीमा २५ कोठासम्मलाई चारतारे र १५ कोठाकोलाई भने तीनतारे स्तरमा वर्गीकरण गर्ने व्यवस्था मापदण्डले गरेको छ। यसअघि बुटिक तथा हेरिटेज होटल दर्ता तथा स्तरीकरणको व्यवस्था थिएन। यस्ता होटल स्तरीकरण गर्न अनिवार्य नभएकाले पर्यटन मन्त्रालयमा हालसम्म कुनै पनि हेरिटेज तथा बुटिक होटल स्तरीकरण भएका छैनन्। हाल उपत्यकाभित्र कम्तीमा एक सय र बाहिर ८० कोठासम्मका होटलले पाँचतारेमा स्तरीकरण गर्न पाउने व्यवस्था छ। काठमाडौंमा पाँचतारे होटलका लागि १ सय कोठा अनिवार्य भए पनि बुटिक होटलले ३५ कोठामै पाँचतारेसरहको मान्यता पाउनेछन्।

नयाँ मापदण्डलले सबै प्रकारका होटल तथा रिसोर्ट दर्ता प्रक्रियामा आउन् भन्ने नै प्रमुख उद्देश्य राखिएको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए। उनका अनुसार सबै प्रकारको होटलको वर्गीरकरण गर्ने र सरकारी तथ्यांकमा ल्याउन प्रोत्साहन गरिएको पनि हो। हेरिटेज तथा बुटिक होटल भने सेवा र सुविधा राम्रो स्तरीय हुन धेरैवटा कोठा हुनुनपर्ने गरी मापदण्ड बनाएको जानकारी घिमिरेले दिए।

होटल संघ नेपालका प्रतिनिधि तथा सांग्रिला होटलका कार्यकारी निर्देशक प्रवीण पाण्डेका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसार हाम्रा होटल पनि स्तरीकरण गर्नुपर्छ भनेर नयाँ मापदण्ड ल्याइएको हो। भारत, थाइल्यान्ड, भुटानसहित देशको मापदण्डलाई हेरेर नेपालले हेरिटेज तथा बुटिक होटललाई पहिलोपटक स्तरीकरण गरेको हो। तीन वटा वर्गमा साधारण, डिलक्स र लक्जरी बुटिक होटल हुने व्यवस्था गरिएको हो।

अरु होटलजस्तो तारे नै नभनिने भए पनि कम्तीमा तीनदेखि पाँच तारेसम्मको मापदण्ड पूरा गरेको हुनुपर्ने व्यवस्था छ। यसले बुटिक तथा हेरिटेजमा आउने सानोदेखि ठूलासम्मका लगानीकर्तालाई प्रोत्साहन गर्न खोजिएको र यस्ता होटलको प्रवद्र्धन गरिएको जानकारी पाण्डेले अन्नपूर्णलाई दिए। यस्तो मापदण्ड अन्य देशसँग दाँज्नेभन्दा सरकारले हाम्रोमा निर्धारण गरेको न्यूनतम स्तर भएको पाण्डेको बुझाइ छ।

नयाँ मापदण्डले अब सरकारले हेरिटेज तथा बुटिक होटेललाई वर्गीकरण गरी प्रमाणपत्र दिने व्यवस्था तय भएको छ। यो व्यवस्थापछि बुटिक होटलका नाममा खुलेका सबै होटल अब सेवा र सुविधाको हिसाबले साधारणदेखि लक्जरीसम्म हुनेछन्।

बुटिक तथा हेरिटेज होटललाई समग्रमा नेपाली परम्परा र मौलिकता झल्कने किसिमको हुनुपर्नेछ। होटलको बाहिरी तथा आन्तरिक स्वरूप नेपालको ऐतिहासिक, पुरातात्विक वा साँस्कृतिक मौलिकता झल्कने गरी र बाहिरीस्वरूप हेर्दा पृथक बनावट देखिने हुनुपर्नेछ। होटलको प्रवेशद्वार, परिसर, झ्याल तथा ढोका नेपाली मौलिकता झल्कने गरी निर्माण गरिएको हुनुपर्नेछ। होटलमा नेपाली मौलिक संस्कृति झल्कने कला एवं संगीतको नियमित प्रदर्शन गर्ने स्थान तथा कलाकारको समेत व्यवस्था गर्नुपर्ने प्रावधान मापदण्डमा तोकिएको छ।

बुटिक होटलका कोठामा नेपालीपन झल्कने गरी मौलिक फर्निचर प्रयोग भएको एवं भित्ताको सजावटमा मौलिक संस्कृति र सम्पदा झल्कने हुनेपर्नेछ। लक्जरी बुटिकमा भने नेपाली इतिहास, कला, भेषभूषा, संगीत, नृत्य, साहित्य र जीवनशैलीको प्रतिधित्वि गर्ने संग्रहालय अनिवार्य गरिएको छ। यो व्यवस्था साधारण र डिलक्सका लागि अनिवार्य छैन।

बुटिक होटेलमा अतिथिलाई नेपाली मौलिक संस्कृतिले स्वागत, सत्कार तथा बिदाइ गर्नुपर्नेछ। होटलभित्रका अन्य सेवा सुविधा नेपाली संस्कृतिअनुरूप नै आवश्यक पर्छ। यस्ता होटलमा प्रयोग हुने मेनु, ब्रोसर, प्रचार सामग्री, सोभेनियर ब्याग, भाँडाकुँडाजस्ता सामग्रीसमेत परम्परागत एवं मौलिक हुनुपर्नेेछ।

अतिथि सत्कार, वेटर, बारमा सेवा दिन बस्ने कर्मचारीले नेपाली मौलिक पोसाक लगाउनुपर्नेछ। यस्तो होटलले स्थानीय तथा अर्गानिकरूपमा उत्पादित खाना तथा पेय पदार्थलाई अधिकतम प्रयोगमा ल्याउनुपर्नेछ। पूर्वीय सभ्यतामा आधारित योगा, ध्यानजस्ता स्वास्थ्यवद्र्धक क्रियाकलापसमेत होटलमा हुनुपर्ने भएको छ।

सञ्चालनमा आइसकेका होटलले ६ महिनाभित्र मापदण्ड पूरा गर्नुपर्ने र नयाँ होटलका हकमा भने सुरुमै मापदण्ड पूरा गर्नुपर्ने प्रावधान मापदण्डमा तोकिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.