दंग विद्यार्थी, ढुक्क आमाबुबा
![दंग विद्यार्थी, ढुक्क आमाबुबा](https://annapurnapost.prixacdn.net/media/albums/khana-student-dhading_20200115064732_EeyJP6sCUc.jpg)
धादिङ : थाक्रे गाउँपालिका दामेचौरको जनभोजनालयले दैनिक दुई हजारको हाराहारीमा बालबालिकालाई निःशुल्क खाना तथा खाजा खुवाउँदै आएको छ। हामीलाई सुन्दा पनि अचम्म लाग्न सक्छ दैनिक दुई हजार। त्यो पनि निःशुल्क ? तर, यो सत्य हो। प्रेमसागर फाउण्डेसन मार्फत यो सबै सम्भव भएको छ।
नौबिसेबाट बसमा बाइरोडको बाटो उकालो लागेको करिब आधा घण्टाको यात्रापछि जनभोजनालय पुग्न सकिन्छ। आउने जाने मानिसले सजिलै थाहा पाउन भनेर त्रिभुवन राजपथमै जनभोजनालय जाने बाटो भनेर पनि लेखिएको छ। त्यहाँबाट केही मिनेटमै उक्त ठाउँ पुग्न सकिन्छ।
तामाङ, चेपाङ तथा दलितको बसोबास रहेको धादिङ जिल्लाको थाक्रे गाउँपालिकाका मानिसहरू आर्थिक रूपमा कमजोर छन्। पुरुषहरू डकर्मी, गिट्टी फोर्ने, बालुवा बोक्ने र ज्यालादारी कामको लागि देशका विभिन्न ठाउँमा जान्छन्। महिलाहरू भने दैनिक घरेलु काममा व्यस्त हुन्छन्। पहिले यहाँका बालबालिका खाना खाएर स्कुल जाने स्थिति थिएन। अहिले भोजनालयको कारणले विद्यार्थीको दैनिक उपस्थितिमा पनि सुधार भएको बताउँछन् थाक्रेका आदर्श माध्यमिक विद्यालयका प्रध्यानाध्यापक विष्णु गौतम।
पहिले बालबिवाहको दर उच्च रहेको थियो। अहिले त्यसमा पनि सुधार आएको छ। पहिले स्कुल छाडेका बालबालिका पनि अहिले पुनः स्कुल आउन थालेका छन्। बीचमै स्कुल छाड्ने दरमा पनि कमी आएको छ। यसको श्रेय यहाँका अभिभावक भोजनालयलाई नै दिन्छन्।
डोकोमा बोकेर खाजा
जनभोजनालयले अहिले दश वटा विद्यालयका लगभग दुई हजार बालबालिकालाई खाजा तथा खाना खुवाउँदै आएको छ। भोजनालयबाट नजिकमा रहेका विद्यार्थी बिहानको खाना त्यहिँ खान आउँछन्। टाढा रहेका विद्यालयमा भने भोजनालय आफैले पुर्याउने गरेको छ। सबै ठाउँमा यातायातको सुबिधा छैन। डोकोमा बोकेर तीन घण्टाको दुरीमा समेत खाजा पुर्याउने गर्छन यहाँका कर्मचारी। खाना तथा खाजाको जिम्मा भोजनालयले नै लिए पनि कर्मचारीको खर्च भने विद्यालयले नै बेहोर्ने गरेको छ।
सन्तुलित तथा पौष्टिक खानाले बालबालिकाहरू फूर्तिला भएका तथा सिकाईमा समेत सुधार आएको बताउँछन् प्रद्यानाध्यापक विष्णु गौतम।
ढुक्क छन् अभिभावक
जनभोजनालयको स्थापनापछि त्यहाँका अभिभावक पनि खुसी छन्। दैनिक गुजारामा धौ धौ पर्ने परिवारलाई भोजनालयले निकै राहत दिएको छ।
आफ्ना छोराछोरीलाई के खुवाएर विद्यालय पठाउने, खाजा के दिने भन्ने तनाव हुने गरेको बताउँदै स्थानीय बिनिता तामाङ भन्छिन् ‘तर, अहिले हामी ढुक्क छौँ। आफ्नो काममा ध्यान दिए पुग्छ। छोराछोरी पनि खुसीले विद्यालय जान्छन्।’ पहिले पहिले विद्यार्थीहरू फर्सी र इस्कुस उसिनेर पेट भर्थे।
खाजाको माग बढ्दो
जनभोजनालयले दश वटा विद्यालयमा यो सेवा प्रदान गरिरहेको छ। तर, अन्य धेरै विद्यालयले पनि खाजाको माग गरिरहेको बताउँछन् प्रेम सागर फाउण्डेसनका उपाध्यक्ष प्रेमराज ढुङ्गेल। उनले अन्य चार विद्यालयले पनि खाजा उपलब्ध गराउन निवेदन दिएको बताउँछन्। प्राथमिकता र आवश्यकताको आधारमा खाजा उपलब्ध गराउने सोच सँस्थाको छ।
विशुद्ध सामाजिक संस्था
यो एक विशुद्ध सामाजिक सँस्था हो। विभिन्न सामाजिक कार्यहरूमध्ये जनभोजन पनि एक हो। यो जनभोजन बि.स. २०६५ सालमा सुरूवात भएको हो।
सुरूवातमा भारत निवासी प्रेम रावतले यसलाई सहयोग गरे। त्यसपछि व्यक्तिगत तथा सँस्थागत रूपमा दाताले सहयोग गरे। अहिले जन्मदिन, पुण्य तिथी, श्राद्ध जस्ता विशेष दिनमा निः शुल्क खाना खुवाउने तथा सहयोग गर्न मानिसहरू आउने गर्छन। निः शुल्क खाना खुवाउन चाहनेले पच्चिस हजार रूपैयाँ फाउण्डेसनलाई बुझाउनुपर्ने हुन्छ।
फाउण्डेसनमा व्यवस्थापक बाहेक बिस जना स्वयमसेवक पनि छन्। स्वयमसेवकलाई कुनै तलबको व्यवस्था छैन। तर, आवश्यकता अनुसार केही खर्च भने सँस्थाले उपलब्ध गराउने गरेको उपाध्यक्ष ढुङ्गेलले बताए।
यस सँस्थाले बालबालिकालाई मात्र नभई स्थानीय जेष्ठ नागरिक, असक्त,असहाय व्यक्तिका लागि पनि बिहानको खाना निःशुल्क व्यवस्था गरेको छ। खाना र खाजा मात्र नभई स्थानीय बासिन्दालाई तरकारी खेती, च्याऊ खेती आदि सीपमुलक तालिम पनि दिदै आएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)