१३ सय वर्ष पुरानो अनौठो इनार र रुख (भिडियाे)

१३ सय वर्ष पुरानो अनौठो इनार र रुख (भिडियाे)

दाङ : सामान्यतया एउटा इनार(कुवा)को आयु कति हुन्छ ? बढीमा एक सय दुई सय वर्ष । कति त एक दुई वर्षमा नै इनारहरु सुकेका इतिहास पनि भेटिन्छ । तर दाङमा एउटा यस्तो कुवा छ । झण्डै १३ सय वर्ष पुरानो । त्यो पनि अहिले निरन्तर रुपमा पानी आइरहेको इनार ।

दाङको घोराही उपमहानगरपालिका वडा नं.१७ चौघेरास्थित गोरक्ष रत्ननाथ मन्दिर परिसरमा विक्रम सम्वत ८ सय सालतिर निर्माण गरिएको एउटा इनार छ । त्यहीँ इनारको पानीले  मन्दिरमा पूजाआजा देखि पिउन र अन्य प्रयोजनका लागि प्रयोग गरिँदै आएको छ ।

यो जिल्लाकै सबभन्दा पुरानो र गहिरो भएको दावी समेत गरिएको छ । पातालबाट भाले बासेको सुनिएपछि इनार खन्ने क्रम रोकिएको भन्ने किम्बदन्ती छ । इनारबाट घिर्नीको सहयोगमा पानी निकालेर देवीदेवताको पूजा हुँदैआएको छ । पहिले त गाउँभरीले पानी त्यही कुवाबाट खान्थे । अहिले सबैका घरमा धारा आएपछि मन्दिर मात्रै प्रयोग गर्दैआएको छ । 


पुरानो इनार भएका कारण त्यसको संरक्षण र व्यवस्थापन पनि राम्रो तरिकाले गरिँदै आएको छ । सुरक्षाका लागि वरिपरि फलामे बार लगाइएको छ । चारैतिर बाक्लिएको घाँस र झाडी छिचोलेर नियाल्दा पनि इनारको गहिराइ पत्ता लगाउन कठिन छ । अहिलेसम्म गहिराइको  बास्तविकता पनि पहिचान गर्न सकिएको छैन । 

यही इनारबाट दिनहुँ पानी निकालिन्छ र गोरक्षरत्ननाथ मन्दिरमा विशेष पूजा आराधनासँगै यही इनारको जल चढाइने गरेको गोरक्ष रत्ननाथका मठाधीश (प्रमुख) योगी देवनाथले बताए । उनले कुवाको पानी १२ महिना प्रयोग हुने भन्दै १३ सय वर्ष पुरानो भएको दावी गरे । निर्माण र स्थापनाको कुनै लिखोट नभए पनि मन्दिरसंगै स्थापना भएको हुदा यसको इतिहास लामो भएको उनको तर्क छ । 

मन्दिर परिसरमा रहेको इनारसँगै फूलको लागि रोपिएको रुख पनि छ । त्यो रुख पनि १३ वर्ष पुरानो छ । अहिले त्यो रुखमा विभिन्न आकृतिहरु समेत देखिने गरेका छन् । त्यो पनि भगवानकै शक्ति रहेको स्थानीयहरुको जिकिर छ । इनारनजिकै गलैंचीको रूख छ । रत्ननाथले पानीका लागि इनार र फूलका लागि गलैंची रोपेका जनविश्वास छ । गलैंचीसँगै मन्दिर परिसरबाहिरका केही वरपिपलका रूख पनि इनारजत्तिकै पुराना मानिन्छ ।

के छ मन्दिरको किम्बदन्ती ?
रत्ननाथबारे किम्बदन्तीअनुसार हालको चौघेरा त्यति बेला घना जंगल थियो। थारू राजा रत्नपारखु एकदिन जंगलमा शिकार खेल्न गए। एउटा बँदेललाई वाण हाने । घाइते बँदेल भाग्यो। रत्नपारखु घोडा चढेर बँदेलको रगतको डोब पछ्याउँदै हिँडे।

जंगलका बीचमा एकजना योगी धुनी बालेर बसेका थिए। उनको छेउमै घाइते बँदेल पनि । बँदेलको शरीरमा लागेको तीर धुनीमा गाडिएको थियो। रगत बगिरहेकै थियो । रत्नपारखु घोडाबाट ओर्लिएर आफ्नो शिकार बँदेल दिन जोगीलाई आग्रह गरे ।

जोगीले मानेनन्। बरू सम्झाइ बुझाइ गरे । कुनै पनि राजा मान्छे र सबै जीवजन्तुको पालक तथा संरक्षक बन्न सक्नुपर्छ’ भने । तर राजा रत्नपारखुले शिकार गर्ने र जनावरको मासु खाने छुट धर्मले दिएको धारणा राखे । ती योगीले उसो भए छाती, खुट्टा, मुख, पखेटा, र रगत मासु नभएको जनावरको शिकार गर’ भने । रत्नपारखु अक्कमक्क परे । काम, क्रोध, लोभ, मोह,अहंकार यी पाँच चिजको राजाले शिकार गर्न सक्नुपर्ने योगीले बताएपछि रत्नपारखुले 'तिमी को हौ ?’ भनेर सोधे । योगीले भने, म गोरखनाथ हुँ। शिव भगवानको अवतार ।’ 

आफूसँग कुरा गरिरहेका जोगी गुरू गोरखनाथ भएको थाहा पाएपछि रत्नपारखु अचम्म परे । उनी गोरखनाथका चेला बने र दीक्षा पाएपछि सम्पूर्ण राजकाज र सम्पत्ति जनतालाई दिए । राजा रत्नपारखु रत्ननाथ योगी बने । गोरखनाथले रत्ननाथलाई एउटा अमृत पात्र (भाँडो) दिएर त्यसको नित्य पूजा गर्न सुझाए । त्यही समयमा शुद्ध जल जोहो गर्न रत्ननाथले यो इनार खन्न लगाएको विश्वास गरिँदैआएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.