वर्षाले २२ करोडका इँटा नष्ट
कपिलवस्तु : हिउँदे वर्षाका कारण कपिलवस्तु जिल्लामा करिब १० करोड ‘पिस’ काँचो इँटा नष्टभएको छ। यसबाट इँटा उद्योग सञ्चालकलाई करिब २२ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
३ दिन लगातार वर्षाका कारण महाराजगंज नगरपालिका २ स्थित आईएसके इँटा उद्योगमा २० लाख पिस, सोही स्थानको एसकेइँटा उद्योगमा २५ लाख पिस, कपिलवस्तु नगरपालिका ८ स्थितश्याम इँटा उद्योगमा २१ लाख िपस र शुद्धोधन गाउँपालिका १ स्थित समृद्धि इँटा उद्योगमा २२ लाख पिस काँचो इँटा गलेर नष्ट भएको उद्योगीले बताएका छन्।
पकाउन तयार गरिएको काचोको इँटाको लागत प्रति इँटा २ रुपैयाँ २५ पैसा पर्ने आईएसके इँटा उद्योगका सञ्चालक मुमताज खांले बताए। खुला आकाशमुनि रहने र कच्चावस्तु भएका कारण यसरी पर्ने वेमौसमी वर्षाले इँटा उद्योगलाई ठूलो नोक्सानी भएको छ। यस वर्ष ४ पटक हिउँदे वर्षा हुँदा कपिलवस्तु क्षेत्रका सबै इँटा व्यवसायीलाई ठूलो नोक्सानी भएको इँटा उद्योग व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष सफर मियाले बताए।
अहिले जिल्लामा कात्तिकदेखि उत्पादन सुरु गरिएको काँचो इँटा कुनै उद्योगमा छैनन्। सबै काचो इँटा पानीले गलेको छ। यसरी काचो इँटा नोक्सान भएपछि यस वर्ष भने जिल्लामा इँटाको अभाव हुने र उपभोक्तालाई इँटाको मूल्यसमेत वृद्धि हुने भएको छ।
इँटा उद्योगका क्षेत्रमा देखिएको यो संकट समाधान गर्न उद्योगीले आयकर छुट, कोइलाको भन्सार छुटलगायतमा सहुलियत दिन सरकारसँग माग गरेका छन्। हिउँदे वर्षाले बर्सेनि इँटामा ठूलो क्षति पुर्याउने गरेको छ। इँटा व्यवसायी महासंघका उपाध्यक्ष मियाले सरकारले इँटाको बिमा गर्ने व्यवस्था मिलाउनुपर्ने माग गरे। कपिलवस्तु जिल्लामा ७७ वटा इँटा उद्योग छन्।