सुदूरपश्‍चिममा 'चेलीतिहार' को रौनक

सुदूरपश्‍चिममा 'चेलीतिहार' को रौनक

अछाम : साँफेबगर नगरपालिका ३ सिद्धेश्वरकी मंगलादेबी कुँवरलार्ई माघ महिना लागेसंगै माघी तिहार दिन भ्याइनभ्याइ छ। विवाहित चार छोरीलाई उनले माघी तिहार दिनुपर्छ। माघको ५ गतेदेखि नै छोरी चेलीलाई माघी तिहार (सेल, पुरी) कोसेलीको रुपमा दिन सुरु गरेकी मंगलाले भर्खरै मात्र जेठी छोरीलाई तिहार दिएकी छन्। 

विभिन्न गाउँमा रहेका छोरी चेलीलाई उनीहरुको घरमै पुगी कोसेली पुर्‍याउन पर्छ उनले। यसअघि जेठी छोरीको घरमा पुगेर कोसेली दिइसकेको उनले सुनाइन्। उनले भनिन्, ‘चार छोरी छन्, उनीहरूलाई माघी तिहार दिनुपर्छ पुसको एक हप्ता सेल, पुरी पकाउन आवश्यक पर्ने वस्तु जोहो गर्न समय लाग्छ भने माघको हप्ता दश दिन तिहार पर्‍याउन लाग्छ। मेरो कोसेली पनि आउँछ माइतबाट', उनले भनिन्।

चौरपाटी गाउँपालिका ७ मार्कुकी अमृता बोगटीले एक नन्द र दिदी(जेठी सासु)लाई माघी तिहार दिनुपर्छ। अमृतालाई माघी तिहार बनाउन चटारो छ यतिबेला। उनले सेल पुरी पकाउनका लागि कुटानी पिसानी गरेर भ्याए पनि कोसेली पकाएर पुर्याउन भ्याएकी छैनन्। ‘तेल पेलेर अनि चामल र गहुँ पिसेर सकेँ', उनले भनिन्, 'अब सेल पुरी पकाएर नन्द र दिदीको घर जान बाँकी छ। माघ महिनाभरि जहिले दिए पनि हुन्छ माघी तिहार।’  

माघी तिहारलाई सुदूरका गाउँमा चेलत्यार अर्थात चेलीतिहार पनि भन्ने गरिन्छ। वर्षको एक पटक छोरी चेलीलाई अनिवार्य रुपमा तिहार दिने प्रचलन रहेकाले माघी तिहारलाई चेली तिहार भन्ने गरिएको हो। मंगला र अमृता जस्तै सुदूरका प्राय चेलीका आमा भाउजुहरु यो बेला चेलीत्यार पुर्‍याउन व्यस्त छन्।  

माघी तिहारको दिन माइतीमै उपस्थित हुन सक्ने छोरी चेली तिहार खाएरै जाने गर्दछन् भने माइती घरमा उपस्थित हुन नसक्ने छोरी चेलीको घरमै भएर माइतीले अनिवार्य रुपमा तिहार पुर्‍याउनु पर्ने चलन छ। माघ महिनाभर यहाँका गाउँ गाउँमा छोरी चेलीलाई तिहार पुर्‍याउन आउने जानेको उपस्थिति बाक्लो देखिने गर्दछ। 

पहिलेका मानिसले सेल पुरी (स्थानीय भाषामा बाबर, लाउन) दिने गरिएको भए पनि नयाँ पुस्ताका मानिसले समय परिस्थितिसँगै विभिन्न प्रकारका मिठाइ लगायतका खानेकुरा पनि दिने गरेको पाइन्छ। चेली तिहारको अर्को महत्त्वपूर्ण प्रचलन भनेको माघको महिनामा छोरी चेलीलाई दिइने कोसेली हरियो पात अर्थात त्यसमा पनि सालको पातमा बेरेर दिने प्रचलन छ। 

हरियो पात पुर्णको प्रतीक भएकाले माघको महिना धर्मअनुसार हरियो पात देखाउने प्रचलन हिन्दु धर्ममा परम्परादेखि चलिआएको साँफेबगर नगरपालिका–३ का शिबराज उपाध्यायले बताए। माघको महिनामा सूर्य दक्षिण दिशाबाट उत्तर दिशातर्फ लाग्ने भएकाले माघी तिहारलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ। माघको महिना धर्मकर्म गर्नका लागि सबै भन्दा राम्रो महिना भएकाले पनि छोरी चेलीलाई तिहार दिएर सम्झिने प्रचलन हिन्दु धर्ममा रहेको उपाध्यायले जानकारी दिए। 

हिन्दु धर्मका अन्य विभिन्न प्रचलनको विस्तारै महत्व घट्दै गए पनि माघी तिहारको महत्व पहिलेको भन्दा झन बढ्दै गएको अनुभव उपाध्यायको छ। बिहे गरेर पराइको घरमा गइसकेकी छोरी चेलीसँग सधैँ भेटघाट नहुने भएकाले वर्षमा एक पटक माघको महिना अनिवार्य रुपमा भेट हुने हुँदा आमा बाबु र छोरी चेलीको बीचको प्रेम सम्बन्ध पनि प्रगाढ बनाउन माघी तिहारको महत्व विषेश खालको रहेको छ। 

माइती घरमा बाबु आमा र सहोदर दाइभाइ नहुने छोरी चेलीलाई छिमेकीले पनि तिहार दिने प्रचलन छ। गाउँका अरु जेठानी देउरानीको माइतीबाट तिहार आउँदा माइतीमा आमा बुबा र दाइभाइ नहुनेलाई नराम्रो महसुस नहोस् भनेर छिमेकीले पनि तिहार दिने गरेको भनाइ उपाध्यायको छ। माघी तिहार एक महिनासम्म मनाउने गरिएकाले सेल पुरी पकाउन चाहिने तेलको व्यवस्था गर्नका लागि तोरी पेल्न मिलहरुमा निकै भीड लाग्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.