चिकित्सक अभाव : बिरामी थेग्नै मुस्किल

चिकित्सक अभाव : बिरामी थेग्नै मुस्किल

डडेलधुरा : बैतडीको मेलौलीकी सकुन्तला भण्डारी गर्भवती छन्। उनी गर्भवती भएको चार महिना नाघ्यो। पेट दुखेपछि उनी डडेलधुरा अस्पताल पुगिन्। तर उनले ओपीडीमा डेढ घन्टा कुर्नुपर्‍यो।

‘डाक्टर अप्रेसनमा छन् भनेको छ, अप्रेसन सकिने पर्खाइमा छु,’ डडेलधुरा अस्पतालको ओपीडीको स्त्री तथा प्रसूति रोग विषेशज्ञ लेखेको कक्ष बाहिर बसेकी सकुन्तलाले भनिन्। डेढ घन्टापछि, आएका स्त्री तथा प्रसूति

रोग विषेशज्ञ तथा मेडिकल सुपरिन्टेन्डेन्ट डा. जगदीश विष्टले उनको परीक्षण गरे। डा. विष्ट डडेलधुरा अस्पताल आएको धेरै दिन भएको छैन। मेडिकल अधिकृतको दरबन्दी भए पनि उनी विषेशज्ञ चिकित्सक हुन्। ‘ओपीडी बस्नै लागेको थिएँ, डडेलधुराकै एक गर्भवतीको अवस्था गम्भीर देखियो,’ उनले भने, ‘अनि अप्रेसनमा गइहालेँ, बाहिर कुरेका बिरामी हेर्न केही ढिला भयो।’

अस्पतालमा पर्याप्त चिकित्सक नहुँदा एउटा बिरामीको परीक्षण गरिरहँदा अर्को छुट्ने गरेको उनी बताउँछन्। ‘ओपीडीमा बसेका बेला, अप्रेसन गर्ने खालका बिरामी आएपछि अरु काम छाडेर अप्रेसन थिएटरमा जानुपर्छ। बाहिर अरु बिरामी भरिएका हुन्छन्,’ उनले थपे, ‘अस्पतालको प्रशासनिक काम पनि आफैं हेर्नुपर्छ।’ चिकित्सक अभावमा प्रेसरमा काम गर्न बाध्य हुनुपर्ने उनको गुनासो थियो।

०१८ सालमा तत्कालीन अमेरिकी मिसन ‘टिम अस्पताल’ का नामले सुरु भएको अस्पताल नै ०७० सालमा उप–क्षेत्रीय अस्पताल हुँदै अहिले संघीय सरकारमातहतको डडेलधुरा अस्पताल भएको हो। अमेरिकी मिसनका डाक्टर साइमनले गर्ने उपचारका कारण सुदूरपश्चिमभरिका बिरामी टिम अस्पताल आउँथे। तर साइमनको मृत्युपछि अस्पताल सरकारमातहत आयो। ‘०७० सालमा उप–क्षेत्रीय अस्पताल घोषणा हुँदादेखि नै १९ जना चिकित्सकको दरबन्दी हो। तर अहिले दरबन्दीअनुसार एक जना पनि छैनन्,’ मेसु विष्टले भने, ‘२० जना मेडिकल अफिसरको दरबन्दीमा ३ जना मात्र कार्यरत छौं।’ उनीसहित तीन जना चिकित्सक विषेशज्ञ भएकाले सबै जनाले विषेशज्ञ सेवा दिइरहेका छन्।

डडेलधुराकै हर्क साहु सिकिस्त भएका बुवा लिएर उपचार गराउन अस्पताल पुगे। डाक्टरले कलेजोमा पानी भरिएको बताएपछि उनलाई धनगढी रेफर गरियो। ‘यहाँ चिकित्सक नभएपछि १० हजार रुपैयाँमा एम्बुलेन्स लिएर धनगढी पुर्‍याउनुपर्‍यो,’ हर्कले गुनासो गरे। दरबन्दीअनुसार डाक्टर भए यहाँका ८० प्रतिशत बिरामीले डडेलधुरामै उपचार पाउँथे।

‘पटक–पटक प्रधानमन्त्री भइसकेको व्यक्ति यसै जिल्लाका हुन्,’ पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवातर्फ संकेत गर्दै हर्कले भने, ‘प्रदेश सरकारमा पनि यहाँका मन्त्री छन्। तर उनीहरूलाई कहिल्यै यहाँ उपचार गर्नुपरेन। हाम्रा लागि किन पहल गर्थे र ? ’ डडेलधुरा अस्पतालमा दैनिक दुई सयभन्दा बढी बिरामी उपचार गराउन आउँछन्। तर अधिकांश बिरामी उपचारै नपाइ घर फर्किन्छन्। केही बिरामी बाहिरका जिल्लामा जान्छन् त केही भारततिर जान्छन्।

अस्पतालमा डाक्टर मात्र होइन उपचारमा ‘ब्याकबोन’ मानिने नर्सिङ स्टाफको दरबन्दी पनि रिक्त छ। ‘यहाँ ३१ जना स्टाफ नर्सको दरबन्दी छ तर ८ जना दरबन्दी र १३ जना करारमा राखेर काम चलाइसकेका छौं,’ मेसु डा. विष्टले भने। आकस्मिक कक्षका लागि दुई जना स्वास्थ्य सहायक र दुई जना अहेबको दरबन्दी खाली छ। कर्मचारी सरुवा भएदेखि एक्सरे बन्द छ। ५ जनाको दरबन्दी रहेको प्रयोगशालामा दरबन्दीका एक जना छन्। ३ जना करारमा छन्। सुदूरका ७ पहाडी जिल्ला बैतडी, डडेलधुरा, दार्चुला, बझाङ, अछाम, बाजुरा र डोटीका बिरामीको उपचार गर्ने अस्पताल डडेलधुरा नै हो।

पर्याप्त डाक्टर भइदिए बाहिर गएर उपचारमा महँगो खर्च गर्नुपर्ने बाध्यता हट्ने स्थानीयको अपेक्षा छ। तर संघ र प्रदेश सरकार दुवैले डाक्टर पठाउन कुनै पहल नगरेपछि सामान्य उपचारका लागि पनि अन्यत्र जान बाध्य छन्। आठौं तहको समायोजन नभएकाले दरबन्दीअनुसार चिकित्सक आउन नसकेको अस्पताल प्रशासनले बताएको छ। केही समयअघि डाक्टरलाई कुटपिट भएपछि पनि समायोजन रोजेका चिकित्सक सुरक्षाको कारण देखाउँदै आउन नमानेको अस्पतालले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.