‘सेलिब्रिटी हुनुअघि मान्छे हुँ म’

‘सेलिब्रिटी हुनुअघि मान्छे हुँ म’

एक महिनाअघि काठमाडौँ, बूढानीलकण्ठमा एउटा कारले सडकमा हिँडिरहेकी महिलालाई ठक्कर दियो। महिलाको घटनास्थलमै मृत्यु भयो। कारमा चालकसँगै अरू तीन जना सवार थिए, जसमा दुई युवती थिए। ती दुईमध्ये एक थिइन्, मोडल तथा अभिनेत्री परमिता आरएल राणा। घटनाको करिब एक महिनापछि परमिता आफैँले कारमा सवार रहेको र घटनाप्रति आफू दुःखी रहेको स्वीकारोक्तिसहित लामो स्ट्याटस लेखिन्। त्यसयता उनले सामाजिक सञ्जालमा प्रशस्त गाली र थोरै सहानुभूति पाएकी छिन्। तर, यो प्रकरण चिसिन नपाउँदै उनी नयाँ फिल्म ‘दी कर्मा’ को प्रचारप्रसारका लागि बाहिर निस्किएकी छिन्। यही फिल्मको प्रचारका क्रममा ‘अन्नपूर्ण सम्पूर्ण’का लागि सामीप्यराज तिमल्सेनाले परमितासँग खुलस्त संवाद गरेका छन्।


 

यत्रो ठूलो दुर्घटनापछि सामान्य दिनचर्यामा फर्कन कत्तिको सकस भइरहेको छ ? 
सजिलो छैन, तर म सधैँभरि घरमै बसिरहन पनि त सम्भव छैन नि। त्यसैले निस्कन थालेकी छु। 

एक महिनापछि मात्र तपाईं घटना भएको कारमा भएको थाहा भयो। नभनी बस्नुभएको भए धेरैलाई थाहा हुन्थेन। यति धेरै गाली खान पर्थेन होला नि ?

हो, मसँग त्यो अप्सन थियो। तर, मलाई त्यो घटनाले भित्रैदेखि हल्लाएको छ। मैले फेसबुक र इन्स्टामा सेयर गरेको पोस्टमा पनि लेखेकी छु– डिसेम्बर १४ को बिहानपछि म पहिलाको परमिता रहिनँ। घटना भएको दुई हप्तासम्म त केही सोच्न पनि सकिनँ। केही समयपछि सम्हालिएँ। एक महिनापछि चाहिँ हिम्मत गरेर भएको घटना लेखेँ। हो, म चुपचाप बस्न पनि सक्थेँ। तर, मैले त्यसो गरिनँ। किनकि, यो घटनाले मलाई भित्रभित्रै पीडा भइरहेको थियो। 

तर, धेरैले घटनाबारे पहिला नै नभनेको भनेर आलोचना गरिहेका छन्।

सुरुसुरुमा मैले पनि हेरेँ। तर, मलाई के लाग्छ भने यो कुरा परमिता भएका कारण आएको हो। सेलिब्रिटी हुन्थेन भने यो कुरा आउँथेन पनि होला। तर, सेलिब्रिटी हुनुअघि म मान्छे हुँ। मान्छेका रूपमा विवेकले जे प्रतिक्रिया दिन भन्यो, त्यही दिएँ। ढिलो भयो होला, तर मैले गल्ती त रियलाइज गरेँ नि। गलत इन्टेन्सन हुन्थ्यो भने नगर्न पनि त सक्थेँ। 

त्यो दिन भएको के थियो ? 

त्यो रात हामी ठमेलको क्लबमा थियौँ। म र मेरो साथी ट्याक्सी लिएर निस्कन पर्‍यो भन्ने सोचिरहेका थियौँ। करिश मास्के पनि क्लबमा थियो। साथीको भाइ भएकाले मैले भाइ नै भन्ने गरेकी थिएँ। हामी निस्कन लागेको देखेर उसले ‘ब्रेकफास्ट खाएर जाऔँ, मलाई लिन साथी आउँदै छ’ भन्यो। उसले भनेको साथी पृथ्वी मल्ल रहेछ। पृथ्वीसँग पहिला पनि एकचोटि भेटेकी थिएँ। ऊसँग मेरो त्यो दोस्रो भेट थियो। पृथ्वी आइसकेपछि ‘सनराइज पनि हेरौँ, ब्रेकफास्ट पनि खाऊँ’ भन्ने कुरा भयो। पृथ्वीको घर गोल्फुटारमा रहेछ। उसले हामीलाई छाड्दिन्छु भन्यो।  भोक लागिरहेको थियो, जाऔँ न त भन्ने भयो। पृथ्वीले चिनेको रिसोर्ट रहेछ शिवपुरीमा। पृथ्वीले नै त्यहाँ जाऔँ भन्ने प्रस्ताव राख्यो। ब्रेकफास्ट खाएर आधा घण्टाजति बस्यौँ होला। फर्कंदा त्यो घटना भयो। 

अहिले यहाँ कुरा गरिरहँदा तपाईं त्यो घटनाबाट मुभ अन गरेजस्तो लाग्छ ? थोरै रिल्याक्स्ड देखिनुहुन्छ। केही उपाय लगाउनुभयो कि ? 

धेरै दिनसम्म त मलाई गाह्रै भएको थियो। त्यो घटनामा मै पनि नरहन सक्थेँ भन्ने फिल हुन्थ्यो। भाग्यवश मलाई देखिने गरी चोटपटक लागेन। तर, भित्र नराम्ररी चोट लागेको छ। मन अझै खलबल छ। सुरुसुरुमा एक्लै बस्यो कि त्यही घटना याद आउँथ्यो। तर, अहिले नियमित थेरापिस्टकहाँ गइरहेकी छु। थेरापिस्टको सल्लाहले धेरै काम गरेको छ। यो समयमा एक्लै चाहिँ बस्न नहुने रहेछ। यही कारण जबर्जस्ती पनि बाहिर निस्किरहेकी छु। 

जे नहुनु थियो, त्यो त भइहाल्यो। घटनापछि मृतकको परिवारसँग सम्पर्कमा हुनुहुन्छ ?

छु। एकचोटि सम्पर्क भएको छ। तर, यो कुरा मैले भनिरहन जरुरी नठानेर भनेको छैन। अहिले अवस्था यस्तो छ कि मैले जे गरे पनि देखाउनलाई गरी भन्ने हुन्छ। त्यसैले मैले सोसल मिडियामा केही भनिनँ। बच्चाका लागि पनि केही न केही गर्छु भन्ने छ, जुन कुरा प्रोसेसमा पनि छ। 

तपाईंसँग प्रहरीले बयान पनि लिएन भन्ने कुरा पनि आएको थियो। प्रहरीले खोजेन ?

खोजेको छैन। खोजेको भए अवश्य नै जान्थेँ। पृथ्वीको परिवारले जाऊ भनेको थियो। तर, नबोलाएकाले गइएन।  

विगत केही समययता तपाईंको जीवन पूरै डामाडोल छ। रिलेसनसिपमा पनि अप्स एन्ड डाउन्स भइरहेका छन् ?

त्यो त हरेकको जीवनमा भइरहेको हुन्छ नि। मेरो मात्र हैन। सोसल मिडियामा सबैले मिलेको मात्रै राख्छन्, झगडा गरेको त राख्दैनन् नि। तर, म यस्तो छु कि मेरो जीवनमा जे भइरहेको छ, त्यो सोसल मिडियामा पनि एक्सप्रेस गर्छु। त्यो के भन्छ नि ओपन बुकजस्तो। लुकाउने÷नदेखाउने भन्ने हुँदैन। मेरो जीवनमा देखावटी भन्ने चाहिँ हुँदैन। 

आयुष्मान जोशीसँग ब्रेकअप भयो। हिसी लोसाङसँग तपाईंको इन्गेजमेन्ट पनि तोडियो... 

सरी ल, मेरो इन्गेजमेन्ट चाहिँ भएको थिएन। मानिसहरू औँठी देख्यो कि इन्गेजमेन्ट भयो भन्ठानिहाल्छन्। उसले बर्थडेमा औँठी दिएर प्रपोज मात्र गरेको थियो। त्यो इन्गेजमेन्ट थिएन। दुवैको च्याप्टर क्लोज भइसक्यो। अब म काममा फोकस्ड छु। 

‘दी कर्मा’ मा ? 

हो। यो त अब रिलिज हुन लागिसक्यो। यसपछि अरू प्रोजेक्ट पनि छन्। 

ट्रेलरमा तपाईं अलि फरक गेटअपमा देखिनुहुन्छ। कस्तो भूमिका हो यो ?

मैले ‘चपली हाइट २’, ‘रोज’ आदि फिल्ममा ग्ल्यामरस केटीको भूमिका निर्वाह गरेकी थिएँ। तर, ‘दी कर्मा’मा मैले निर्वाह गरेको अम्बिका देवीको भूमिका शालीन छ। नढाँटी भन्ने हो भने मलाई काम गर्न सबैभन्दा मज्जा लागेको भूमिका नै  यही हो। यो फिल्मपछि जस्तो पनि भूमिका गर्न सक्ने रहिछु भन्ने आत्मविश्वास आएको छ। 

तपाईंले ‘रोज’को नाम लिइहाल्नुभयो, त्यो फिल्मको पेमेन्ट बाँकी छ भन्ने सुनिएको थियो नि।  

बाँकी थियो तर भर्खरै पाएँ। गोपीकृष्णले नयाँ फिल्म घोषणा गरेको थियो...

माइकल अधिकारी ?

हो, त्यो फिल्मको घोषणाअघि दिनुभयो। 

काम गरेको पैसा पाउन पनि गाह्रो छ है यहाँ ? 

कुरै नगर्नुस्। आफैँले काम गरेको पैसा लिन पनि भीख मागेजस्तो गर्नुपर्छ।  बाहिरतिर कलाकारको कस्तो इज्जत हुन्छ ! तर, यहाँ ठीक उल्टो छ। किन यस्तो हुन्छ, त्यो चाहिँ बुझ्न सकेको छैन। 

यो फिल्मबाट तपाईंलाई कस्तो खाले अपेक्षा छ ? 

आफ्नै फिल्म हेर्दा मलाई चित्त बुझ्दैन। योभन्दा धेरै राम्रो गर्न सक्थेँ कि जस्तो लाग्छ। पहिला गरेको कुनै पनि फिल्ममा पूरै सन्तुष्ट छैन। सायद हुँदिन पनि। तर, ‘दी कर्मा’ चाहिँ अलि छुट्टै छ। अरू सिनेमामा हिरोको मात्र बढाइचढाइ गरेको हुन्छ। म्यान अफ द डे भनेकै हिरो मात्र हो भनेजसरी प्रस्तुत गरिन्छ। तर, यो फिल्म चाहिँ महिला चरित्रकेन्द्रित छ। 

फिल्ममा नीता ढुंगाना पनि हुनुहुन्छ। फिल्ममा दुइटा हिरोइन भएपछि जेलसी आफसे  आफ उत्पन्न हुन्छ भनिन्छ। तपाईंलाई त्यस्तो भयो कि भएन ? 

नपत्याउनुहोला, तर मलाई जेलसी भन्ने त हुँदै हुन्न। मेरो ममले मलाई सानैदेखि  सिकाउनुभएको कुरा नै यही हो कि– बी काइन्ड टू एभ्रीवान। कोही मभन्दा काममा राम्रो छ, उसको कामलाई समाजले पनि प्रशंसा गरिरहेको छ भने मैले किन ईष्र्या गर्ने ? ममा त्यस्तो खाले फिलिङ नै आउँदैन।

भनेपछि आयुष्मानजी तपाईंलाई छाडेर प्रियंका कार्कीसँग अफेयर गर्न थाल्नुभयो। कहीँ जम्काभेट हुँदा प्रियंकासँग झोक चल्दैन ?

कहिल्यै पनि झोक चलेन। हाम्रो भाग्यमा लेखेको थिएन सायद, त्यही भएर भएन। त्यसपछि त प्रियंका र मसँगै सिंगापुर गएका थियौँ। मिलेर बस्यौं। न उहाँमा मप्रति त्यस्तो कुनै नेगेटिभ फिलिङ थियो, न ममा उहाँप्रति छ। अझ उहाँ त मभन्दा धेरै सिनियर हुनुहुन्छ। स्टार हुनुहुन्छ। उहाँको काम देखेर खुशी लाग्छ र कुनै दिन म पनि त्यहाँसम्म पुग्न सक्छु कि भन्ने आश छ। 

तपाईंको कुरा सुन्दा त तपाईं बुद्धत्व प्राप्त गर्ने बाटोमा हुनुहुन्छजस्तो लाग्छ। तर, तपाईंमाथि नै अनेक हुँदो रहेछ।

मलाई पनि पहिला–पहिला यस्तै लाग्थ्यो तर अहिले यसको कारण भेटेकी छु। यो भनेको पोजिटिभले नेगेटिभलाई आकर्षित गर्ने रैछ। जस्तो, तपाईंले ट्युबलाइटमा देख्नुभयो भने कति किराहरू बसेको देख्नुहुन्छ। त्यो सब उज्यालो देखेर झुम्मिकएका हुन् नि। त्यसै गरी, पोजिटिभ मान्छेले पनि नेगेटिभ मान्छेहरू आकर्षित गर्दो रहेछ। ममाथि जहिल्यै यही भएजस्तो लाग्छ। 

तपाईंले तेलगु स्टार गोपीचन्दसँग फिल्म खेल्ने कुरा थियो। फिल्मको मुहूर्त पनि भएको थियो क्यार। सुटिङ सकियो कि बाँकी छ ? 

सुरु भएकै छैन। दुईतीन महिनाअगाडि नै सुटिङ हुने कुरा थियो तर गोपीचन्दको अर्को फिल्मको काम बाँकी रहेकाले सुटिङ सुरु हुन सकेको छैन। केही दिनमै खबर गर्छु भनेका छन्। सायद अब चाँडै सुरु हुन्छ। 

त्यो फिल्मसम्म कसरी पुग्नुभयो ? 

पत्याउँदै नपत्याउने खालको कथा छ। एक दिन एउटा एजेन्सीबाट फोन आयो। ‘तेलगुमा बन्ने फिल्मका लागि उहाँहरूले तपाईंको अडिसन लिन खोज्नुभएको छ, गर्ने ?’ भनेर मलाई सोधियो। मैले गर्छु भनेँ। दुई दिनपछि ‘साउथबाट निर्देशक, कास्टिङ डाइरेक्टर कोको आउनुभएको छ, अडिसन दिन आउनुस्’ भन्ने खबर आयो। मैले त पत्याएकै थिइनँ। त्यही पनि बोलाएको ठाउँमा गएँ। तमिल भाषामा कुनै संवाद बोल्नुपर्ने थियो। त्यसलाई पहिला अंग्रेजीमा त्यसपछि नेपालीमा उल्था गरेर बोल्न दिइयो। मैले बोलेँ। उहाँहरूले तुरुन्तै ‘ल तिमी फाइनल भयौ’ भन्नुभयो। मैले त नपत्याएर पाँच चोटि सोधेँ। उहाँहरूले कन्ट्र्याक्ट साइन गर्न हैदराबाद बोलाउँछौँ भन्नुभयो। केही महिनाअघि फिल्मको मुहूर्त पनि भयो र कन्ट्र्याक्ट पनि। अब सुटिङको प्रतीक्षा छ। 

उनीहरूले हिरोइनको कमी भएर तपाईंलाई खोजेका थिएनन् होला। किनकि साउथमा, बलिउडमा एकसे एक हिरोइन छन्। 

मलाई पनि लागेको थियो। तर, स्क्रिप्टमा मंगोल र आर्यनको बीचको लुकको माग रहेछ। म न पूरै आर्यन देखिन्छु, न मंगोल। यही कारणले नै मलाई छानेको होजस्तो लाग्छ। 

पेमेन्ट त गतिलै पाउनुभयो होला नि ? 

मैले सोचेभन्दा राम्रो पाएँ। तर, पैसाभन्दा पनि मलाई त्यहाँको अनुभव ठूलो हुन्छ। एक हप्ता बस्दा नै त्यहाँको काम गर्ने शैली देखेर छक्क परेकी थिएँ। हेरौँ, अब के हुन्छ ?

अन्नपूर्ण सम्पूर्णबाट (https://sampurnaweekly.com/news/2853)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.