सहकारी घोटाला प्रकरण : ५३ विरुद्ध अदालतमा ठगी मुद्दा दायर
कपिलवस्तु : सहकारीको १२ करोड रुपैयाँ घोटालामा संलग्नमाथि अदालतमा मुद्दा दायर भएको छ । कपिलवस्तु बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भएको रकम हिनामिना गरेका ५३ जनालाई प्रतिवादी बनाई प्रहरीले मुद्दा दायर गरेको हो ।
सहकारीका कर्मचारी, कार्यसमिति तथा अन्य विभिन्न समितिका पदाधिकारी र लेखा परीक्षक सहित ५३ जना उपर सोमबार जिल्ला अदालतमा ठगी तथा संगठित अपराधमा मुद्दा चलाईएको हो । करिब दुई महिना लामो अनुसन्धानपछि मुद्धा दायर गरिएको प्रहरीले जनाएको छ । सहकारीका अध्यक्ष रामेन्द्रसिंह रावल, उपाध्यक्ष जय प्रकाश पाण्डेय, सचिव देवेश जयसवाल, कोषाध्यक्ष प्रशान्त गुप्ता, लेखा समिति संयोजक बाबुराम भण्डारी लगायतको समितिलाई मुद्दा दर्ता गरिएको छ । त्यसैगरी आर्थिक वर्ष २०६७।०६८ देखि हाल सम्मका पदाधिकारीलाई मुद्धामा विपक्षी बनाईएको छ ।
प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिलले ५३ जना उपर अभियोग पत्रका साथ अदालतमा मुद्दा दर्ता गराएका छन् । प्रतिवादी ५३ जना मध्ये सहकारीका प्रबन्धक अविनाश पाण्डेय, कर्मचारीहरु राजेश कान्दु, श्रवण कुमार गुप्ता र राकेश ठाकुर प्रहरीको नियन्त्रणमा छन् । प्रतिवादी मध्ये बाँकी ४९ जना फरार रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी नियन्त्रणमा रहेका ४ जना आरोपीको सोमबारबाटै बयान लिने काम शुरु भएको अदालतका श्रेस्तेदार चिन्तामणि शर्माले बताए । प्रहरी अनुसन्धानका क्रममा मुख्य आरोपी राजेश कान्दुसँगको लामो बयान र अनुसन्धानपछि २०६७ सालदेखि हालसम्मका कर्मचारी, सञ्चालक समिति, लेखा परीक्षक सवैलाई विपक्षी बनाई मुद्दा दायर गरिएको प्रहरी नायब उपरीक्षक सुनील मल्लले बताए ।
२०६७।०६८ सालदेखि हुदै आएको लेखा परीक्षणमा लाखौं रुपैया हिनामिना भएको भए पनि सो हिनामिनालाई लेखा परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छैन । ‘लेखा परीक्षण सही ढंगबाट हुँदै आएको भए गल्ती कमजोरी भएकै वर्षबाट सच्याउन मिल्थ्यो, तर लेखा परीक्षकहरुले सही ढंगबाट लेखा परीक्षण गरेको देखिएन’, सहकारीका अध्यक्ष रामेन्द्र सिंह रावलले बताए । आफुहरुलाई समेत प्रतिवादी बनाई मुद्धा दर्ता गरिएको थाहा पाएको र त्यसको प्रतिउत्तर अदालतमा उपस्थित भई दिने अध्यक्ष रावलले बताए ।
यति धेरै रुपैया घोटाला भएपछि सो सहकारी २ महिना भन्दा अघिदेखि बन्द छ । यो सहकारी संस्था जिल्लाकै अग्रणी र प्रतिष्ठित सहकारी संस्थाको रुपमा चिनिएको थियो । सहकारीका सयौं बचतकर्ताले बचत रकम झिक्न नपाउँदा आफ्ना अति आवश्यक कामकाज गर्न नपाएको गुनासो गरेका छन् ।