गर्भवतीलाई उपाध्यक्षको ‘कोसेली’
बैतडी : बैतडीको शिवनाथ गाउँपालिकाले सुत्केरीलाई उपाध्यक्षको ‘कोसेली’ वितरण गर्ने कार्य सुरु गरेको छ। स्वास्थ्य संस्थामा आएर बच्चा जन्माउने हरेक आमालाई कोसेली वितरण सुरु गरिएको गाउँपालिका उपाध्यक्ष कुष्मा चन्दले बताइन्।
‘सुत्केरी भएका बेला पोषिलो खानेकुरा दिनुपर्छ भन्ने सन्देश दिनका लागि कोसेली दिन सुरु गरिएको हो’, उनले भनिन्, ‘स्वास्थ्य संस्थामा बच्चा जन्माउने हरेक आमालाई कोसेली वितरण गर्छौं। यसले सुत्केरी आमाको पोषणमा सुधार ल्याउन पनि सहयोग गर्ने हाम्रो विश्वास छ।’
उपाध्यक्षको कोसेलीमा सुत्केरी आमाका लागि मेक्सी, टावल, आयोडिन नुन, २ केजी कोदो, आधा केजी घिउ, नेलकटर, सेनेटरी प्याड, काइयो, कोलगेट, ब्रस र साबुन राखिएको उपाध्यक्ष चन्दले बताइन्।
उपाध्यक्ष कोसेली कार्यक्रमलाई संस्था सुत्केरीको संख्या बढाउने आसा लिएको शिवनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र महताले बताए।
उपाध्यक्षको कोसेली कार्यक्रमले आमालाई सजिलो भएको स्थानीय किरन धनाडीले बताइन्। ‘स्वास्थ्य संस्थामा बच्चा पाउने बित्तिकै कोसेली पनि पायौं’, उनले भने, ‘यसले घरपरिवारलाई पनि सुत्केरीका बारेमा ध्यान दिनुपर्छ भन्ने कुराको ज्ञान भएको छ।’
प्रतिक्रिया दिनुहोस !