‘राणा–महेन्द्रको टाइममा पब्लिस गर्न पाइनँ’

‘राणा–महेन्द्रको टाइममा पब्लिस गर्न पाइनँ’

कहिले राणा टाइममा परेका कुराहरू मैले प्रकाशित गर्न पाइनँ। महेन्द्रको टाइममा गोलमाल पर्दाखेरि मैले पब्लिस गर्न पाइनँ।


नेपाली साहित्यमा बहुविधामा उत्तिकै महत्त्वपूर्ण कृति दिन सफल साहित्यकार विजय मल्ल झन्डै एक्काइस वर्ष नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका विभिन्न पदमा रहेपछि २०४६ सालको जनआन्दोलनपश्चात् उपकुलपतिबाट राजीनामा दिएपछि फुर्सदिला बनेका थिए। पुरानो घर अंशबन्डापछि उनले नयाँ सडकको पाकोमा विशाल घर बनाएका थिए र साँझ परेपछि उनी पीपलबोट छेउतिर टहलिन आउने र त्यहाँ भेटिने साहित्यकारहरूसँग कुराकानी गर्ने, चिया कफी खाने, चुरोट तान्ने गर्थे।

धेरैजसो उनी पीपलबोट सामुन्ने रहेको तारागाउँ विकास समितिको स्टोरमा त्यति बेला काम गर्ने भागीरथी श्रेष्ठलाई भेट्न पुग्थे। अनि भागीरथी श्रेष्ठ कफी मगाउँथिन् र गफ गर्दै कफी खानु र चुरोट सल्काएर धुवाँ फाल्दै साहित्यका प्रसंगहरू निकाल्नु नियमितता जस्तै हुन्थ्यो। उनी निसंकोच ‘गोविन्द ल चुरोट किन त’ भन्दथे। यो उनको बानी थियो। मलाई पनि विजय मल्ल जस्ता मूर्धन्य साहित्यकारलाई चुरोट किनेर ख्वाउन पाउँदा गर्व नै लाग्थ्यो। अनि च्याप्प हात समातेर वा पाखुरा समातेर परपरसम्म पुग्नु उनको अर्काे विशेषता हुन्थ्यो।

कहिलेकाहीँ पीपलबोटको पश्चिमतिरको साहित्यकारहरूले जम्मा भएर चिया पिउने अड्डामा पनि उनी आइपुग्थे र विविध साहित्यिक गफ गर्थे। खासमा एकेडेमीमा छँदा उनको नयाँ पुस्ताका साहित्यकारहरूसँग हिमचिम थिएन। उनैलाई भेट्न जानेले मात्र भेट्थ्यो। खासै एकेडेमीका साहित्यिक कार्यक्रमहरूमा सामान्य साहित्यकारहरूले कुनै निम्तो पनि पाउन्नथे। एक प्रकारले पुस्तागत खाडल थियो। यसरी गफ गर्दा त्यो खाडलमा पुल हाल्न लागिएको हो कि भन्ने लाग्थ्यो।

उनी सोध्थे, ‘हैन, मेरो किताब मान्छेहरूले पढ्छन् ? ’

यो प्रश्न उनी बेलाबेलामा गरिरहन्थे।

यसै क्रममा २०५३ चैत २ गते शनिबार बेलुकी पनि विजय मल्ल नयाँ सडक पीपलबोटमुनि देखिए। त्यहाँ हामी नकुल सिलवाल, किशोर पहाडी, विमल निभा, राजव, राजेन्द्र पराजुली चिया पिउँदै गफिइरहेका थियौं। विजय मल्ल पनि त्यो गफको सिलसिलामा मिसिए। अचानक गफको सिलसिला रोचक र साहित्यिक हिसाबले महत्त्वपूर्ण हुन थालेको आभास पाएर मैले आफ्नो ब्रिफकेसबाट मिनी रेकर्डर निकालेर टेप गर्न थालेँ ः

विजय मल्ल भन्दै थिए— मैले लेख्न थालेका ड्रामाज (नाटकहरू) धेरै छन्। कुनै आधामा छन्। कुनै सिध्याउन बाँकी छन्। कुनै चैं के भन्देखिन् राणा टाइमको र कुनै शाह टाइमको चैं भयो नि। कैले राणा टाइमले जितेर ल्यायो। कहिले यो शाह टाइमले जितेर आयो। कहिले राणा टाइममा परेका कुराहरू मैले प्रकाशित गर्न पाइनँ। महेन्द्रको टाइममा गोलमाल पर्दाखेरि मैले पब्लिस गर्न पाइनँ। प्रकाशन गर्न नहुने अवस्थामा पर्‍यो। त्यल्ले गर्दाखेरि मेरो चैं उपन्यासहरू समाप्त हुन बाँकी रहे। कुनै चैं समाप्त भएका कुराहरू काटकुट गरेर निकाल्नु पर्दाखेरि त्यसै रहे। त्यसरी गर्दाखेरि चैं तीनचारवटा त्यसरी अल्झिरहे। अब गर्ने के मैले ?

मैले सोधेँ, ‘विजय दाइ, तपाईंले नेपालीका तरुण योङ राइटर्सहरूलाई पढ्नै भा छैन भन्छन्। तपाईंले ककसलाई पढ्नु भा’छ ल भन्नोस् !’

‘मैले चैं सबैको सबै पढेँ भन्न त सक्तिनँ। तर जति कथाकारहरू पढेको छु नि मैले, त्यसमा चैं दुईचार जनाको मैले मानेको छु।’

‘को हुन् ती ? ’

‘एउटा त के त्यो छ नि— मनु ब्राजाकी छ नि ! अब उसले बाटो बिरायो भने त म भन्न सक्तिनँ, तर उसको लेखाइ चैं बहुत तीव्र छ। मलाई लागेको चैं, मेरो दिमागमा। मलाई चैं सधैं छोइरहन्छ। अब अरू नाम चैं पुरानाको त बिर्सन्छु, नयाँको झन् के सम्झनु। तर मैले दुईतीन जनाको अति राम्रो पाएको छु।’

‘नयाँको नाम भन्नुस् न, एकदमै नयाँ ? ’

‘एकदमै नयाँको नाम त म भन्न सक्तिनँ।’

‘तै पनि...’

‘एकदमै नयाँ भनेर कल्लाई भन्ने ? ’

‘मनु ब्राजाकीभन्दा पछिको नाम भन्नुस् न !’

‘मनु ब्राजाकीपछिको छ छन्लाई त...’

‘ध्रुवचन्द्र कस्तो कथाकार हो ? ध्रुवचन्द्र, किशोर पहाडी, कुमार ज्ञवाली, मधुवन पौडेल...’

‘ध्रुवचन्द्र त उपन्यासकार हो नि। कथामा चाहिँ उल्ले मलाई त्यति छुँदैन। मेरो हृदयलाई छुने किसिमको कथाकार हैन ऊ। तर के भन्देखिन् अरू चिजमा छुन्छ नि उसले। धु्रवचन्द्रको अरू लेखन, उपन्यास...’

किशोर पहाडीले सोधे, ‘मनु ब्राजाकीले चैं छोको छ ? ’

‘मनु ब्राजाकीले चैं छोको छ। तीव्रतम् छ है। तर के भन्देखि उसको यौटा विषयवस्तु यौटा घेरामा परिराखेको छ।’

किशोर पहाडीले फेरि भने, ‘त्यही कुरा मैले यौटा किताबमा, त्यही यौटा सीमित विषयवस्तुमा रङमंगिइरहेको हुन्छ भन्दाखेरि मैले त्योबाट फुत्कन चाहेको भनेर ऊ आफैंले मलाई भनेको थियो...’

‘सीमित घेरामा छ है य, सीमित घेरामा... तर ध्रुवचन्द्रको घेरा सीमित छैन। तर बढ्ता लेख्दाखेरि पनि हानिकारक हुन्छ। ’

मैले सोधेँ, ‘बढ्ता लेख्दा कसरी हानिकारक हुन्छ ? ’

किशोर पहाडीले मलाई औंल्याउँदै भने, ‘बढ्ता लेख्ने त ऊ पनि छ।’

‘हैन हैन, बढ्ता लेख्नु हानिकारक भन्नुको मतलब... मेरो मतलब चैं अखबारमा लेख्ने जुन प्रवृत्ति छ नि, त्यो हो। बढ्ता लेख्नुको मतलब त्यो हो। तिमीलाई हृदयमा स्पर्श भएर त्यसलाई चाहिँ वर्षाैं दिनमा यौटा कथा लेख्नु र डेली कथा लेखेर ३६५ वटा कथा लेख्न थाल्यो भने के हुन्छ ? ’

‘दाइलाई यौटा कुरा सोधौं न— नेपालमा समलिंगी कथाको भविष्य कस्तो देख्नुहुन्छ ? ’

‘यसलाई कथाको विषमा त अहिलेसम्म कसैले छानेन। समलिंगीको विषयमा लेख्नेहरू नै जान्दैनन् समलिंगी भनेको के हो।’

‘कल्ले गर्‍यो समलिंगी कथा लेखनको सुरुआत ? ’

‘अब समलिंगी सम्बन्ध राख्नैपर्छ भन्ने दरकार त भएन। ती कथाहरूको माया पिर्ती, यौटा लिंगीले–समलिंगीलाई माया गरेको कथाको सुरुआत गर्नेहरू अहिले पछि मात्र आएका हुन् र ? ’

‘दाइले नाउँ भन्दिनुस् न त ! को हो त्यो सुरुआत गर्ने ? ’

‘भन्न त मैले नै के भन्ने, हगि !’

‘भन्नुस् न !’

‘मैले नै लेख्या हुँ। कहीँ पढ्या छौ ? ’

‘कुन कथा हो त्यो ? ’

‘कहीँ पढ्या छ ? कसैले पढ्या छ ? ’ विजय मल्लले सोधे।

‘ कुन कथा हो भन्नुस् न त !’

‘यौटा साथीले यौटा साथीलाई प्रेम गर्दा गर्दा यो हदसम्म पुग्छ कि तिनीहरू छुट्टिँदैनन्। तिनीहरू आईमाई आईमाई हुन् कि लोग्नेमान्छे लोग्नेमान्छे हुन् छुट्टिँदैनन्। त्यो कथालाई के भन्ने ? समलिंगी कथालाई के भन्ने ? त्यसलाई होमोसेक्सुआलिटी मान्ने कि नमान्ने ? ’

‘त्यस्तै यौटा कथा गोविन्द दाइ (गोविन्दबहादुर मल्ल गोठाले)ले लेख्नुभएको छ नि गरिमामा ? ’

‘हो, गोविन्द दाइले लेख्नुभएको छ। मैले पनि लेख्या छु। तिमीहरूले पढ्या छैनौ होला त्यो कथा।’

‘हैन, मैले पढ्या छु तपाईंका सबै कथा, कुन चैं कथा हो त्यो ? ’

‘धेरै वर्षअगाडिको। कथाको सुरुआत गर्दा दुइटा पसले भनेर लेख्या छु। ...यी सब भनेका स्वाभाविक कुराहरू हुन्।’

‘साहित्यको इतिहासमा आउने कुरा हो त्यो।’

‘लिटरेचरको इतिहासको महत्त्वपूर्ण पाना हो त्यो।’

‘महत्त्वपूर्ण पानै हो त्यो !’

‘यो कुरा के भन्देखि सिर्जनाको सुरुआतदेखिकै कुरा हो। ब्रह्माले सिर्जना गरेदेखिकै कुरा हो यो। यौटै ब्रह्मा हुँदाखेरि के हुन्छ ? उसले के गर्छ ? आफूले आफैंलाई सम्भोग नगरी प्रयोग गर्न सक्छ ? पैदा गर्न सक्छ क्यै चिजलाई ? उसले आफूले आफैंलाई सम्भोग गरेर नै पैदा भएको हो यो संसार। त्यसलाई मान्छौ भने— कसैले त्यो सिद्धान्तलाई दर्शनलाई अथवा त्यो धार्मिक विश्वासलाई मान्छ भन्देखि त्यही नै सुरुआत हो।’

नयाँ सडकमा साँझपख हावा खाँदै, चिया खाँदै, चुरोट खाँदै विजय मल्ल यस्ता गहन कुरा पनि युवा साहित्यकारसँग छलफल गर्थे। उनी स्वस्थ भएको बेला यसरी नयाँ सडकमा टहलिन र गफ गर्न आइरहन्थे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.