ढल सिधै सिर्सियामा

ढल सिधै सिर्सियामा

वीरगन्ज : ‘कुनै बेला सिर्सिया नदीमा कलकल सङ्लो पानी बग्दथ्यो, गाउँले नदीमै नुहाउँथ्यौं, यही नदीको पानी खेतमा सिँचाइ गरेर अन्न फलाउँथ्यौं’, वीरगञ्ज महानगरपालिका २४ रामगढवाका वृद्ध ६५ वर्षीय समसुल अन्सारी तीन दसकअघिको दैनिकी सम्झँदै भन्छन्।

तर अहिले नदी यति प्रदुषित र विषालु भइसकेको छ कि दुर्गन्धले नाक थुनेर हिँड्नुपर्छ। नदीको पानी खाएका चौपया बिरामी पर्छन्। सिर्सिया पर्सा र बाराको बीचबाट बग्छ। यो दर्जनौं गाउँका लाखौंको जीवनसँग गाँसिएको छ। तर, औद्योगिक प्रदूषणले नदीको पानी दुर्गन्धित मात्रै होइन, अतिक्रमणको चपेटामा पनि परेको छ। छाला, डिस्टिलरी, टेक्स्टाइल, घ्यू, साबुन लगायतका उद्योगबाट निस्कने रसायनयुक्त पानी खोलामा बगाइन्छ। जीवजन्तुका सडेगलेका छाला, रौं, खरानी, लेदो लगायतका विकार प्रशोधन नगरी नदीमा सिधै बगाउने र फालिन्छ। वीरगन्ज महानगरपालिकाले पनि पदमरोड, रानीघाट, आदर्शनगर, छपकैया लगायतका स्थानको ढल नदीमा मिसाएको छ।

सिर्सियाको प्रदूषणले बारा र पर्साका दर्जनभन्दा बढी गाउँ स्थानीय समस्यामा छन्। सिमरा, बकुलिया, लोहसन्डा, रमौली, सगरदीना, रामपुर टोकनी, छातापिपरा, नितनपुर, गम्हरगाँव, बेहरा, बलुवा, पर्साको श्रीसिया, ताजपुर, भलुही, रामगढवा, परवानीपुर र वीरगञ्ज महानगरपालिकाको रामवन, रामगढवा, विन्दवासिनी, रानीघाट, अशोकवाटिका, छपकैयाका गाउँवासी सिर्सिया प्रदूषित भएपछि किसानले नदीबाट खेतमा सिँचाइ गर्न पाएका छैनन्। रामगढवाका किसान रमेश पटेलका अनुसार, प्रदूषण नभएका ताकाको समयमा दर्जनौं गाउँका किसानले नदीमै पम्पसेट लगाएर खेतमा सिँचाइ गर्दै आएका थिए। उनी भन्छन्, ‘कुनै बेला यही नदीको पानीबाट सात आठ सय बिघाको खेतमा सिँचाइ हुन्थ्यो, सिँचाइका लागि कुनै समस्या नै थिएन, अहिले त विषालु देखिने यो एक थोपा पानी पनि खेतमा पटाउन हिम्मत आउँदैन।’

नदी छेउका बासिन्दा तथा पशु चौपायामा छालासम्बन्धी रोगको संक्रमण पनि देखिने गरेको छ। नारायणी अस्पतालका चिकित्सक उदनारायण सिंहका अनुसार, आसपासका गाउँबाट आउने छालाका बिरामीमा घाउखटिरा, लुतो र हातगोडा चिलाउने समस्या बढी देखिन्छ। नदीको प्रदूषण रोक्न माग गर्दै अभियन्ता पछिल्लो तीन महिनादेखि फेरि चरणबद्ध आन्दोलन गर्दै आएका छन्। सिर्सिया नदी एवं वीरगन्ज प्रदूषणमुक्त अभियानका अभियन्ताले वीरगन्ज महानगर, जिल्ला प्रशासन कार्यालय र प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र बुझाइसकेका छन्। सुनवाई नभएपछि एक महिना पहिले घण्टाघर चोकमा धर्ना दिए।

मंसिरमा नदीको प्रदूषण रोक्न माग गर्दै १५ हजारले हस्ताक्षर गरे। प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीको कार्यालयमा पनि पठाएको अभियानका संयोजक सुरेन्द्र कुर्मीले बताए। ‘सिर्सिया हाम्रो जीवनशैली र सभ्यतासँग जोडिएको सम्पदा हो’, प्रकृति सेवा प्रतिष्ठानका अध्यक्ष सरदार जसपाल सिंह भन्छन्। बारा रामपुरटोकनीको नारायणी छाला उद्योग, लिपनीमालको मोरियम एण्ड मारियम लेदर इण्डष्ट्रिज, वीरगन्ज बहुअरीको नेशनल लेदर इन्डष्ट्रिज, लिपनीबिर्ताको ग्लोबल लेदर टेनिग इन्डष्ट्रिज, नेपाल लेदर र रामपुरटोकनीको एभरेष्ट छाला उद्योगलाई कारबाही गर्न माग गरिएको थियो।

यस्तै त्रिवेणी टेक्सटाइल इन्डष्ट्रिज, अरनिको टेक्सटाइल, सिद्धि टेक्स्टाइल, डायमन्ड टेक्सटाइल, न्यु अनिल टेक्सटाइल, इष्टर्न टेक्सटाइल, हिमाल डिष्टिलरी प्रालि, सूर्या एग्रो प्रोडक्सन एन्ड कुसुम आयल, विनायक एग्रो प्रालि, शिवशक्ति घ्यू उद्योग, शिवशक्ति सोप इन्डष्ट्रिज, पूजा सप एन्ड केमिकल इन्डष्ट्रिज, हुलास स्टील, भगवती स्टिल, जय विश्वकर्मा इन्डष्ट्रिज, साल्ट एन्ड स्वीट र हिमाल स्टिलले पनि नदीमा प्रदूषण गरेको प्रदिवेदनमा उल्लेख छ। अनुगमन समितिले जिल्ला प्रशासन कार्यालयमा त्यतिबेलै बुझाएको प्रतिवेदन अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन।

अनुगमन समितिका संयोजक रितेश त्रिपाठी भन्छन्, ‘निकै मेहनत गरेर २५ पृष्ठको प्रतिवेदन प्रशासनलाई बुझायौं। नौ वर्ष बित्दा पनि कार्यान्वयन भएन।’ महानगरपालिकाका मेयर विजयकुमार सरावगीले सिर्सियाको सफाई र सौन्दर्यीकरणका लागि संघीय सरकारसमक्ष ‘सिर्सिया करिडोर’ प्रस्ताव गरिएको बताए। झन्डै २ सय करोडको लागत अनुमान गरिएको करिडोरको डीपीआर तयार पार्ने काम भइरहेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने सिर्सियामा देखिएको प्रदूषणको समस्याका विषयमा छलफल गर्न सर्वपक्षीय बैठक बोलाउने तयारी गरेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.