कोरोना भाइरसका कारण चिनियाँ प्रेमीले गर्न पाएनन् विवाह

कोरोना भाइरसका कारण चिनियाँ प्रेमीले गर्न पाएनन् विवाह

पइचिङ : यतिखेर चीन कोरोना भाइरसविरुद्धको युद्ध लडिरहेको छ। कोरोना भाइरसबाट नेपाली समयअनुसार आइतबार ५ बजेसम्म संक्रमित हुनेको संख्या १४ हजार ६२९ पुगेको छ। तीमध्ये १४ हजार ४८३ चीनमा मात्र छन्।

यसैगरी हालसम्म चीनमा ३०४ र फिलिपिन्समा १ गरी ३०५ को मृत्यु भएको छ। यसका साथै ३८१ जनाको सफल उपचार पनि भइसकेको छ। यो भाइरसविरुद्ध चीनले विभिन्न कदम चालिरहेको छ।

दश दिनमा १ हजार संख्यामा भएको अस्पतालको निर्माण सम्पन्न गरी फेब्रुअरी ३ सोमबारबाट स्वास्थ्य जाँचसम्बन्धी कार्यारम्भ हुने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

चिनियाँ सेनाका १ हजार ४ सय स्वास्थ्यकर्मीले सोमबारदेखि भाइरस संक्रमितको उपचार सुरु गर्ने भएका छन्। जनवरी २४ बाट निर्माण सुरु गरिएको उक्त अस्पताल दश दिनमा पूरा गरी चीनले अर्को चमत्कार गरेको छ। 

यस भाइरसले चीनको अर्थतन्त्रका साथै सामाजिक क्षेत्रमा ठूलो धक्का पुर्‍याएको छ। मुसा वर्ष आरम्भसँगै यो भाइरसले उग्र रूप लिँदा सर्वसाधारण चिनियाँको नयाँ वर्षका साथै वसन्त चाड निरस बन्नपुगेको छ। गत जनवरी २४ तारिख चीनको परम्परागत पात्रोअनुसार चिनियाँको नयाँ वर्षको पूर्वसन्ध्या थियो।

चिनियाँका लागि यो दिन पारिवारिक पुनर्मिलनको दिन थियो। वुहान शहरमा भेटिएको नोबल कोरोनाभाइरसले चिनियाँको योजनालाई प्रभावित बनाइदियो।  यो भाइरसको फैलावटबाट बच्न र रोकथाम गर्नका लागि आम चिनियाँले घर फर्किने योजनाका साथै देश बाहिर तथा भित्र घुम्ने योजना पनि रद्द गरे।

१ अर्ब ४० करोड चिनियाँले भाइरस र रोगको प्रतिरोध गर्नका खातिर निर्धारित यात्रा मात्रै रद्द गरेका छैनन्, भाइरसको फैलावट हुन नदिन सरकारको आदेशको पालना गर्दै घरभित्रै बसेका छन्।

यसैबीच हजारौं चिनियाँ प्रेमी जोडीको विवाह गर्ने सपना पनि भताभुंग भएको छ। सन् २०२० फेब्रुअरी २ तारिखका दिन प्रेमी जोडीले हजार वर्षमा एकपटक भेटिने उक्त दिनलाई आफ्नो विवाहका लागि शुभ दिन छनौट गरेका थिए। 

एक त यो मिति २०२०-०२-०२ आफैमा अ्भुत र असामान्य देखिन्छ। अगाडिबाट वा पछाडिबाट एकै बुझाउँछ, त्यसमाथि चिनियाँमा समस्वर या समध्वनि शब्द निकै प्रचलित छन्। 

ग्रेगोरियन पात्रोअनुसार, मे महिनाको २० तारिखलाई चिनियाँले समध्वनिको आधारमा प्रेम दिवसको रूपमा मनाउँछन्। ५२० अंक, वुआरलिङको समउच्चारण वोआईनी अर्थात् ‘आई लभ यू’ सँग मिल्ने धारणा चिनियाँहरू राख्छन्। यस्तै यो २०२० को समध्वनि आइनिआइनी हुन्छ, जसको अर्थ ‘तिमीलाई माया गर्छु, तिमीलाई माया गर्छु’ (लभ यू, लभ यू) हो। त्यसबाहेक नोभेम्बर ११ लाई एकल दिवसको रूपमा मनाए जसरी फेब्रुअरी दुई तारिखलाई युगल र जोडीको दिनको रूपमा पनि चिनियाँले मनाउँदै आएका छन्।

यस पटकको यो असाधारण अंक मितिमा चिनियाँले विवाहका लागि शुभसाइत मानिरहँदा आइतबार बिदाको दिन पर्ने भएपछि सबै जोडीले सामाजिक सञ्जाललगायत विभिन्न माध्यममात्र दुःख पोखेका थिए। 

यसै दिनलाई मध्येनजरमा राखी चीनभरिका विवाह दर्ता कार्यालयले उक्त दिन कार्यालय खोल्ने सूचना नै जारी गरेको थियो। तर कोरोनाभाइरस फैलिनबाट रोक्न र नियन्त्रण गर्न साथै नवजोडीको स्वास्थ्य सुरक्षामा ध्यान दिन भन्दै केही दिनअघि मात्र आइतबार २ तारिखको दिन विवाह दर्ता कार्य रद्द हुने सूचना प्रकाशित गरिएको थियो। योसँगै प्रेमी जोडीले उक्त हजारौं वर्षमा एकपटक भेटिने दिनमा विवाह गर्न पाएनन्। यो मिति २०२०-०२-०२ लाई अविस्मरणीय बनाउन चाहने चिनियाँ जोडीको सपना अधूरो रह्यो।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.