चीनको हुपेबाट १८० विद्यार्थी फर्कंदै

चीनको हुपेबाट १८० विद्यार्थी फर्कंदै

बेइजिङ : चीनको हुपे प्रान्तमा रहेका १ सय ८० नेपाली विद्यार्थी स्वदेश फर्किने भएका छन्। उनीहरूले आइतबार साँझसम्म ‘नेपाल जान पाऊँ’ भनेर आवेदन दिएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासका उपप्रमुख सुशीलकुमार लम्सालका अनुसार रोजगारी गर्दै आएका नेपालीले भने फारम भरेका छैनन्। उहान भ्रमणमा आएका नेपालीसमेत फर्किन लागेको उपप्रमुख लम्सालले सुनाए। उद्धारपछि नेपालमा राख्न उपयुक्त ठाउँको खोजी भइरहेको जानकारी पाएको दूतावासले जनाएको छ।

कोरोना भाइरसबाट सबैभन्दा प्रभावित उहान सहरबाट ५९, चिङचौ, चिङमन, अनसी, सयान र यिछाङ सहरबाट क्रमशः ५०, ९, २९, २८ र ५ जनाले नेपाल फर्किनका लागि आवेदन दिएका छन्। ‘बाँकी नेपालीलाई एकपटक सोधिनेछ। त्यसपछि अन्तिम सूची तयार हुनेछ’, उनले अन्नपूर्णसँग भने, ‘चिनियाँ पक्षसँग पनि अनुमानित नेपाली र ल्याइने हवाईजहाजलगायतबारे छलफल भएको छ। अन्तिम स्वीकृतिको प्रतीक्षामा छौं। हामी जतिसक्दो छिटो पठाउने तयारीमा छौं।’

नेपाल सरकारले उद्धार गर्ने निर्णय गरेको भन्दै त्यसका लागि आवेदन दिन वेबसाइटमार्फत सूचना जारी गरिएको थियो। जसअनुसार हुपेमा रहेका नेपालीले दूतावासको वेबसाइटमा उपलब्ध फारम भर्नुपर्ने जनाइएको थियो।

उनीहरू फर्किनुअघि चिनियाँ विमानस्थलमा सबैको स्वास्थ्य परीक्षण गरिनेछ। परीक्षणपछि स्वास्थ्य स्थिति सबल भए नेपाल फर्काइनेछ। कसैमा शंका लागे चीनमै राखेर केही समयपछि मात्र फर्काइनेछ। संक्रमितलाई चीनमै उपचार गर्नुपर्नेछ।

हुपे प्रान्तका उहानसहित विभिन्न सहरमा रहेका नेपाली संक्रमित नरहेको जनाइएको छ। बिदामा गएर नेपालबाहिर वा चीनकै अन्य सहरमा रहेकालाई पनि हुपेमै विश्वविद्यालयले फिर्ता बोलाएर परीक्षण गर्ने भएको छ। चीनले हुपे प्रान्तका अन्य आफ्ना विद्यार्थीलाई पनि फर्काएर उनीहरूको परीक्षण थालेको छ।

चीनमा कोरोना संक्रमण बढेपछि नेपाली विद्यार्थी अन्योलमा परेका थिए। समस्या निराकरण कहिलेसम्म हुने थाहा नभएपछि उनीहरूले फर्किन माग गरेका थिए। सरकारको चाहनाबिना फर्किन सक्ने अवस्था भने थिएन।

अन्य मुलुकका विद्यार्थी फर्केपछि उनीहरूले नेपाल सरकारसँग फर्काउन पहल गरिरहेका थिए। चीनले स्वदेशी र विदेशी नभनी समान रूपले उपचार गरेको र परीक्षण पनि गर्दै सतर्कतामा जोड दिएको थियो। सुरक्षामा कमी नभए पनि कहिलेसम्म यसरी रहने भन्दै आफ्नै मुलुक फर्किन उनीहरूले खोजेको बताएका थिए। उनीहरूलाई उहान ल्याएर त्यहाँबाट चार्टर्ड फ्लाइटमा नेपाल ल्याउने तयारी छ। त्यसका लागि प्रधानमन्त्री केपी ओलीले चासो दिएर छिटो गर्न विभिन्न निकायलाई निर्देशन दिएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.