लुम्बिनी अस्पतालका सटरमा चल्यो डोजर
बुटवल : लुम्बिनी प्रादेशिक अस्पताल परिसरका सटर भत्काउन डोजर चलाइएको छ। सटर व्यवसायीले खाली गर्न अटेर गरेपछि अस्पतालले डोजर चलाएर भत्काउन थालेको हो।
अस्पतालका विरूद्ध केहि व्यवसायीहरुले सम्झौता अनुसार नै व्यवसाय संञ्चालन गर्न पाउनु पर्ने भन्दै रुपन्देही जिल्ला अदालतमा मुद्धा दायर गरेका थिए। व्यवसायीको मुद्धाको अदालतले अन्तरकालिन आदेश मागलाई खारेज गरिदिएको थियो।
जिल्ला अदालत रुपन्देहीले माघ १९ गतेका दिन यस्तो आदेश गरेपछि अस्पतालले व्यवसायीलाई ४८ घन्टा भित्र सटर खाली गर्न चेतावनी दिएको थियो। अस्पतालले व्यवसायीलाई पत्र नै दिएर खाली गर्न लगाएको अस्पतालले जनाएको छ। अस्पतालको चेतावनी अटेर गरेपछि अस्पतालले डोजर लगाएर भत्काउन सुरु गरेको अस्पतालका मेसु डा. राजेन्द्र खनालले बताए।
अदालतले सटर भत्काउन बाटो खुलाएसँगै अस्पताल विकास समितिले बुधबार राति १२ बजेसम्म २४ घण्टे अल्टिमेटम दिएको थियो। व्यवसायीहरू रिट लिएर सर्वोच्च अदालत पुगेका छन्। सर्वोच्चले अन्तरिम आदेश नदिएपछि व्यवसायी निराश छन्।
अस्पताल परिसरमा ६६ सटर छन्। ती सटर हटाएर पर्खाल लगाउने प्रदेश सरकारले निर्णय गरेको छ। सटरभाडा बापत अस्पतालले वार्षिक ९ करोड आम्दानी गर्दै आएको थियो।
प्रतिक्रिया दिनुहोस !