चीनमा बन्दीझैं बसेका विद्यार्थी भन्छन्, ‘फिर्ता नलाने भए अन्तर्राष्ट्रिय समुदाय गुहार्छौं’

चीनमा बन्दीझैं बसेका विद्यार्थी भन्छन्, ‘फिर्ता नलाने भए अन्तर्राष्ट्रिय समुदाय गुहार्छौं’

काठमाडौं : कोरोना भाइरस सन्त्रासले विश्वविद्यालयको होस्टेलमा बन्दीझैं बस्न बाध्य नेपाली विद्यार्थीले स्वदेश फिर्तीका लागि अन्तर्राष्ट्रिय समुदाय गुहार्ने चेतावनी दिएका छन्। नेपाल सरकारले स्वदेश फर्काउन आलटाल गरेपछि चीनको वुहान सहरमा रहेका विद्यार्थी छटपटिएका हुन्।

‘हामीमाथि खेलवाड भएको छ। समस्या पर्दा राज्यले हेर्छ भन्ने अनुभूति गर्न पाइएन,’ नेपाल फर्कन आवेदन दिएका एक विद्यार्थीले विच्याटमा भने, ‘अब हामी विश्व समुदायसँग अपिल गर्नेछौं। विश्वमा मानवता बाँकी नै होला !’

उनीहरूले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई सम्बोधन गर्दै दुई दिनभित्र स्वदेश फिर्ताको आग्रह गरेका हुन्। नत्र अन्तर्राष्ट्रिय समुदाय गुहार्न बाध्य हुनेमा ध्यानाकर्षण गराएका छन्। ‘कि हामीलाई स्वदेश फर्काउनुपर्‍यो, कि तत्काल कोही मन्त्री वुहान आएर अभिभावकत्व दिनुपर्‍यो भनेर आग्रह गरेका छौं,’ उनले भने।

सरकारले आफ्ना नागरिकका सट्टा विदेशी कूटनीतिज्ञका कुरा सुन्दा अचम्मित भएको उनीहरूको भनाइ छ। एक विद्यार्थीले भने, ‘यो हाम्रो निरीहताको पराकाष्ठा हो। साथीहरू आफ्नो मुलुक पुगेको दुई साता हुन लागिसक्यो। हामी अझै सरकारको बाटो हेर्दै छौं।’ भारत, बंगलादेश,  श्रीलंका, माल्दिभ्स, म्यानमारलगायत मुलुकले आफ्ना नागरिकलाई लगिसकेका छन्। अमेरिका, फ्रान्स, टर्की, साउदी अरेबियाका नागरिक त्यसअघि नै फर्किएका थिए।

संक्रममितको उपचार घरमै

हुपेई प्रान्तका संक्रमित अस्पतालमा शड्ढया नपाएपछि घरमै उपचार गराउन थालेको समाचार चाइना डेलीले छापेको छ। ‘नेपाल सरकार भने चीनमै राम्रो व्यवस्था छ भनेर चिनियाँ राजदूत होउ यान्छीको कुरामा मस्त छ,’ चिकित्सा अध्ययन गरिरहेका एक विद्यार्थीले भने, ‘हाम्रो जीवनमाथि सरकारले खेलवाड गरिरहेको छ। मरून् भन्ने आसय देखियो। अन्यथा अब स्वदेश फर्काउन कुन शक्तिले रोक्छ ? सरकारले सहजीकरण गरिदिए फर्कन्छौं भन्दा पनि नपाउने ? ’

भियना अभिसन्धिअनुसार सम्बन्धित देशको दूतावासले आफ्ना नागरिकको अवस्था संकलन गरी सरकारलाई सुझाव दिनुपर्छ। बेइजिङस्थित नेपाली दूतावासले उक्त कार्य गरिरहेको छ। दूतावासले १ सय ८० जनाको तथ्यांक संकलन गरेर ‘क्लियरेन्स’ को लागि प्रक्रिया सुरु गरेको जनाएको छ। तर, सरकारले ढिलाइ गरेको छ। राजदूत लीलामणि पौड्याल सम्पर्कमा नआएको विद्यार्थीले बताए।

दूतावास उपप्रमुख सुशील लम्सालले विद्यार्थी फर्काउन पहल गरिरहेको बताए। ‘हामी सरकारको सम्पर्कमा छौं। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुरूप स्थान तय गरेर फर्काउने पहल सरकारको छ,’ लम्सालले भने, ‘विद्यार्थी निकै असहजत अनुभव गरिरहेका छन्। कतिपयले गगनचुम्बी भवनमा एक्लै रहनुपरेको र अब हामफाल्नुपर्ने अवस्था आएको सुनाउन थालेका छन्। हामी सम्झाइबुझाइ गरिरहेका छौं।’

न्युरो सर्जनमा पीएचडी सकेका डा. गौरव पोखरेल भन्छन्, ‘हामी अन्योलमा छौं। राजदूत नै सम्पर्कमा हुनुहुन्न। प्रधानमन्त्रीलाई अपिल लेख्यौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सञ्चारमन्त्री गोकुल बाँस्कोटालगायतसँग हारगुहार गरे पनि सुनुवाइ भएन।’

सरकारले प्रस्ट भनिदिए अन्य उपाय अवलम्बन गर्न बाटो खुल्ने उनले बताए। उनले भने, ‘सरकारले नेपाली नागरिक हौं भनेर हामीलाई शिर ठाडो पार्ने अवस्था गरिदियोस्। तर सरकारले आनाकानी गरेको देखेर हामी अचम्मित छौं। ’ उनले आफूहरूलाई स्वदेश फर्काएर खाली भवनमा म्याट ओछ्याएर निगरानीमा राख्न अपिल गरे। भारत, बंगलादेश,  श्रीलंका र माल्दिभ्स फर्किएका व्यक्तिमा कोरोना भाइरस देखिएको छैन।

‘पिउने पानी छैन’

चीनमा संक्रमितको संख्या बढिरहेको छ। वुहानमा पीएचडी गरिरहेकी प्रमिला देवकोटा भन्छिन्, ‘चीनकै समाचार पढिदिए हुन्छ सरकारमा बस्नेहरूले। हामी कागजी प्रक्रिया पूरा गरेर पर्खने पखाइमा रहँदा सरकारले गैरनागरिक जस्तो व्यवहार गरिरहेको छ।’

चीनमा संक्रमितलाई घरमै राखेर उपचार प्रक्रिया सुरु गरिएको उनले बताइन्। ‘अस्पतालमा बेड अपुग छ। पिउने पानी छैन’, देवकोटाले भनिन्, ‘वुहानमा १० हजारभन्दा बढीलाई कोरोना भाइरस लागिसकेको छ।

हामी मानसिक तनावमा छौं।’ उनले वुहानको जनजीवन जटिल बन्दै गएको बताइन्। ‘खानेकुरा पाइँदैन। नजिकैका स्टोर खुला छैनन्। टाढा किन्न जाँदा संक्रमणको डर छ।’ नेपाली कूटनीतिज्ञको लापरबाहीले आफूहरूले दुःख पाएको उनको गुनासो छ।


ल्याउने दिन टुंगो छैन : स्वास्थ्य प्रवक्ता

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चीनमा रहेका नेपालीलाई स्वेदश ल्याउने तयारी अन्तिम चरणमा पुगेको बताएका छन्। श्रेष्ठले फर्किएका नेपाली विद्यार्थीलाई राख्ने ठाउँ तय भइसकेको जानकारी दिए। उनले भने, ‘तयारी अन्तिम चरणमा पुगेको छ। कुन दिन ल्याउने टुंगो लागेको छैन।’

प्रधानमन्त्री केपी ओलीले नेपाली विद्यार्थी स्वदेश ल्याउन उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, मुख्य सचिव र सम्बद्ध मन्त्रालयका सचिव एवं सुरक्षा अधिकारीलाई बिहीबार निर्देशन दिएका थिए। चीनमा रहेका विद्यार्थीका अभिभावकले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतसँग भेट गरी छिटो उद्धार गर्न आग्रह गरेका छन्।

चीनबाट उद्धार गरी ल्याइने विद्यार्थीलाई शिवपुरीस्थित नेपाली सेनाको तालिम केन्द्र, इचंगुनारायणस्थित सुकुम्बासीका लागि बनाइएको अपार्टमेन्ट, सूर्यविनायकस्थित कृषि तालिम केन्द्र र खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राख्ने तयारी छ।

एक लाख मास्क सहयोग

सरकारले कोरोना भाइरस संक्रमणको समस्या भोगिरहेको चीनलाई एक लाख मास्क सहयोग प्रदान गरेको छ। परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चिनियाँ राजदूत होउ यान्छीलाई मास्क हस्तान्तरण गरेका हुन्। कोरोना भाइरस संक्रमण उच्च रहेको चीनमा मास्क अभाव भएपछि नेपालका तर्फबाट सहयोग उपलब्ध गराइएको हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.