पर्यावरणप्रेमी बलिउड स्टार
![पर्यावरणप्रेमी बलिउड स्टार](https://annapurnapost.prixacdn.net/media/albums/aaliya_20190601005758_yhus8qcrAf.jpg)
जलवायु परिवर्तनका कारण पर्यावरणसम्बन्धी विभिन्न समस्या विश्वभरि देखापरेका छन् । त्यसको प्रभावबाट भारत पनि बच्न सकेको छैन । त्यसबारे बेला–बेलामा बलिउड सेलिब्रिटीले बोल्ने गरेका छन् । कतिपय स्टार पर्यावरण जोगाउने अभियानमा लागिपरेका छन् ।
दिया मिर्जा
अभिनेत्री दिया मिर्जा ‘यूएन इन्भाइरन्मेन्ट गुडविल एम्बेसडर अफ इन्डिया’ हुन् । पर्यावरण सुरक्षित राख्न उनी लागिपरेकी छिन् । उनले आवास संरक्षण, वन्यजन्तु संरक्षणलगायत काम गरेकी छिन् । ‘प्रकृतिलाई सुरक्षित राख्न आवश्यक छ,’ भारतीय मिडियासँग एक अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘किनकि, बस्नका लागि हामीसँग यो मात्र एउटा ग्रह छ । यसको हेरचाह राम्ररी गरेनौँ भने पछि हुन सक्ने नराम्रो परिणामका लागि पनि हामी तयार हुनुपर्छ ।’
रविना टन्डन
पर्यावरणसँग जोडिएका काम बलिउडकी ‘मस्त मस्त गर्ल’ रविना टन्डन सक्रिय भएर गर्छिन् । पछिल्लो समय भारतीय मिडियासँग कुराकानी गर्दा उनले भनेकी थिइन्, ‘गाडीबाट निस्कने धुवाँ, फ्याक्ट्रीको फोहोर, फोहोर नदी, प्लास्टिक आदि मान्छेले उब्जाएकमा समस्या हुन् । बिस्तारै हामीले यस धरतीलाई बर्बाद पारिरहेका छौँ । हरेक मानिसले आफ्नो स्तरबाट पर्यावरण बचाउने प्रयास गर्नुपर्छ ।’
आलिया भट्ट
अभिनेत्री आलिया भट्टले गत वर्ष फोहोरसँग लड्ने प्रण गरेकी थिइन् । सचेत पर्यावरणप्रेमीका रूपमा उनले आफ्नो जीवनबाट प्लास्टिक हटाउने अठोटसमेत गरेकी थिइन् । सामाजिक सञ्जालमा उनले आफ्ना प्रशंसकलाई ‘इको–फ्रेन्डली’ विकल्प छान्ने सल्लाह दिएकी थिइन् । ‘स्टिल वा सिसाका बोतल प्रयोग गर्नुहोस्,’ उनले सोसल मिडिायमा पोस्ट गर्दै लेखेकी थिइन्, ‘आजैदेखि आफ्नो जीवनबाट प्लास्टिक हटाउने प्रयास गर्नुहोस् । प्लास्टिकका बोतललाई अपघटित हुन ४ सय ५० वर्षभन्दा बढी समय लाग्छ । तबसम्म यसले हाम्रो पर्यावरणमा हानि पुर्याइसकेको हुन्छ । म आफ्नो जीवनमा प्लास्टिक कमभन्दा कम प्रयोग गर्ने प्रयास गरिरहेकी छु ।’
अभिषेक बच्चन
अभिनेता अभिषेक बच्चनलाई सन् २०१२ मा ‘ग्रिन ग्लोब अवार्ड’ बाट सम्मानित गरिएको थियो । यो सम्मान उनलाई मौसममा हुने अनियमित परिवर्तनविरुद्ध काम गर्नका लागि दिइएको थियो ।
अमिताभ बच्चन
अभिनेता अमिताभ बच्चनले भारत सरकारद्वारा चलाइएका पर्यावरणसम्बन्धी थुप्रै योजनामा काम गरेका छन् । हरेक वर्ष ‘पृथ्वी दिवस’ मनाउने गरेका छन् । त्यस दिन उनी एक घण्टाका लागि आफ्नो घरको बिजुली बन्द गर्छन् । ग्रामीण क्षेत्रमा फोहोरबाट मल बनाउने कामलाई पनि उनले प्रोत्साहन गरेका छन् । हानिकारक कृत्रिम मलको साटो प्राकृतिक मल प्रयोग गर्न उनी सक्रिय भएर लागेका छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)