सुत्केरीलाई झोलको साटो रक्सी !

सुत्केरीलाई झोलको साटो रक्सी !

बागलुङ : समाजमा घरेलु हिंसा र सामाजिक अपराध बढाएको निष्कर्षसहित अधिकांश गाउँमा मदिरा नियन्त्रण गर्न अभियान थालिएको छ। तर, बागलुङको पश्चिम ढोरपाटनको एउटा गाउँमा चाहिँ सुत्केरी हुनासाथ जाँड-रक्सी खुवाउने प्रचलन छ।

अन्यत्र सुत्केरी हुँदा झोलिलो पदार्थ खुवाउने गरे पनि ढोरपाटन नगरपालिका-७ बोबाङमा भने जाँड-रक्सी खुवाउने गरिन्छ। ‘अर्को गाउँबाट बिहे गरेर यहाँ आएको हुँ, कहिल्यै रक्सी खाने गरेको थिइनँ,’ स्थानीय २७ वर्षीया पुनम अदैले सुत्केरीपछिको सकसबारे भनिन्, ‘बच्चा जन्माएपछि रक्सी खाँदिनँ भन्न नपाइने रै’छ, पेट दुख्छ भनेर पानी खान दिँदैनन्, यस अवधिमा जाँड-रक्सी मात्र खाने हो।’

सुत्केरीपछिको कहालीलाग्दो कथा सुनाउने क्रममा सपना भण्डारी कायतले थपिन्, ‘सुत्केरी भएको ८ महिना भयो, यस अवधिमा पानीभन्दा धेरै रक्सी पिएँ।’ सुत्केरीपछि सुरुमा बानी पार्नै कठिन भए पनि सासू-ससुराको जोडबलमा रक्सी खाएको उनले बताइन्। १२ कक्षासम्म अध्ययन गरेकी सपनाले सुत्केरीले मादक पदार्थ सेवन गर्नुहुँदैन भन्ने जानकारी नभएको पनि होइन। तर, गाउँ समाजको पुरानो प्रचलनबारे सासू-ससुरा र अगुवाका अगाडि केही बोल्न नसकिने उनले बताइन्।

बोबाङमा रहेका कायत समुदायका हरेक महिलाको एकै खालको अनुभव छ। यहाँका सुत्केरीलाई दैनिक २ देखि ४ बोतल रक्सी र जाँड खुवाउने गरेको स्थानीय सुनी कायत बताउँछिन्। ‘सुरुमा अप्ठ्यारो लाग्यो, रक्सी खानु राम्रो होइन भन्ने पनि लाग्थ्यो,’ पाँच छोराछोरीका आमा सुनीले थपिन्, ‘दुई छोराछोरी हुँदासम्म सासू र परिवारको करले खाएँ, त्यसपछि आफैँ खाने बानी पर्‍यो।’

एक दिनमा तीन पटकसम्म रक्सी खुवाउने चलन छ। जाँड-रक्सी नखाने हो भने बच्चाको पेट दुख्ने, सुत्केरी कमजोर हुने र दूध पनि नआउने बूढापाका तर्क गर्छन्। स्थानीय ६४ वर्षीय लालमाया कायतले भनिन्, ‘म बुहारी हुँदा बच्चा जन्मिएपछि जबर्जस्ती खाएँ, अहिले बुहारी सुत्केरी हुँदा खान कर गर्छु,’ लालमायाले भनिन्, ‘ तिर्खा नलाग्दा जाँड र तिर्खा लाग्दा रक्सी खाने खुवाउने हाम्रो चलन छ।’

सुत्केरीपछि जाँड-रक्सी खुवाउँदा आमालाई दुखाइ अनुभूति नहुने र बच्चालाई रोग नलाग्ने स्थानीयको दाबी छ। बच्चा जन्मिएपछि सबैजसो सुत्केरीलाई रक्सी घ्यूमा झानेर खान दिने गरिन्छ। सहज रुपमा रक्सी दिइने समाजमा ६ महिनासम्म पानी भने पिउन दिइँदैन।

कुनै घरमा महिला गर्भवती भएर प्रसूति हुने दिनको हिसाब गरेर उक्त घरमा पूर्ववत् तयारीसाथ जाँडरक्सी बनाउने गरिन्छ।

‘गर्भवती र सुत्केरीले मादक पदार्थ सेवन गर्नु हुँदैन भनेर पटक-पटक भनेका त छौँ,’ स्थानीयसमेत रहेका बोबाङ स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट विश्वास कायतले भने, ‘यो अन्धविश्वासको डरलाग्दो रूप हो, यसमा राज्यको गम्भीर ध्यान र सचेतनामूलक कार्यक्रम आउनुपर्छ।’

वर्षांैदेखि प्रचलनका रूपमा विकास भएकाले तत्काल रोक्न नसकिएको ढोरपाटन नगरपालिका-७ का अध्यक्ष दीपक थापाले बताए। ‘हामी जनताबाट निर्वाचित भएर आएपछि केही चेतना र जागरण ल्याउन सुरु त गरेका छौँ,’ अध्यक्ष थापाले भने, ‘यो सजिलै रोकिँदैन, समय लाग्छ, यो प्रचलन रोक्न हामी सक्दो कोसिस गर्नेछौँ।’

धौलागिरि अञ्चल अस्पताल बागलुङका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सौगात कोइरालाले बोबाङका गर्भवती र सुत्केरीलाई रक्सी खुवाउने अभ्यास गलत भएको बताए। पोषिलो र झोलिलो पदार्थ खुवाउने समयमा आमाले जाँडरक्सी खाने र दूध मात्र खुवाउनुपर्ने बच्चालाई आमाले रक्सी खाएर दूध चुसाउँदा पोषणमा असर पर्न गई औसत आयु कम हुने, मानसिक र बौद्धिक रुपमा कमजोर हुनेजस्ता समस्या देखा पर्न सक्ने उनको भनाइ छ। गर्भवती अवस्थामा महिलाले मादक पदार्थ सेवन गर्दा बच्चा खेर जान सक्ने, जन्मिए पनि शारीरिक र बौद्धिक रूपमा अपांगता भएको जन्मन सक्ने खतरा बढ्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.