असुरक्षित रिङरोड
काठमाडौं : – घटना १
अघिल्लो बिहीबार राति पौने एक बजे कलंकी अन्डरपासमा बा४ख ८५६९ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भयो। बल्खुबाट कलंकीतर्फ जाँदै गरेको प्रदेश २–०३–०४ प ५५० नम्बरको मोटरसाइकलाई टिपरले ठक्कर दिँदा रौटहट गजुराका राकेशकुमार चौधरी, रौतहट कटहरियाका मुन्ना चौधरीको मृत्यु भयो।
ठक्कर दिएर भागेको टिपर चालकले ललितपुर नख्खुडोल स्थित ग्यारेजमा लुकाई सिन्धुपाल्चोक चौतारा भागे। महानगरीय प्रहरी वृत्त कालिमाटीको प्रहरी टोलीले चालक अनिल लामालाई घरमै पुगेर पक्राउ गर्यो।
–घटना २
गएको पुस १० गते बल्खुमा बा५ख ६८१७ नम्बरको बसले बा६२प १०३२ नम्बरको स्कुटरलाई ठक्कर दियो। बसको ठक्करले स्कुटर चालक धनी राई र पछाडि बसेकी चन्द्रमाया तामाङ घाइते भए। तामाङको उपचारको क्रममा मृत्यु भयो। प्रहरीले ठक्कर दिने बसका चालक अजय लामालाई पक्राउ गरी सवारी ज्यान मुद्दा चलायो।
–घटना ३
गएको मंसिर १६ गते कलंकी अण्डरपास सडकमा बा२क ५७०५ नम्बरको टिपरले एक व्यक्तिलाई ठक्कर दियो। टिपरको ठक्करबाट घाइते ती व्यक्तिलाई प्रहरीले उपचारार्थ त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा पुर्यायो। तर घाइतेको मृत्यु भयो। मृतक व्यक्तिको हालसम्म पनि पहिचान हुन सकेको छैन। प्रहरीले टिपरका चालक रामेछाप खाँडादेवीका विक्रम मोक्तानलाई पक्राउ गरी ज्यान मुद्दा चलाएको थियो।
रिङरोडमा भएका यी दुर्घटना प्रतिनिधि मात्रै हुन्। पछिल्ला दिनमा रिङरोड सडक खण्डमा सवारी दुर्घटनाको जोखिम बढेको छ। सडकमा हुनुपर्ने भौतिक पूर्वाधारको अभावसँगै सवारीसाधनबीच हुने तीव्र प्रतिस्पर्धाले रिङरोड जोखिमयुक्त बनेको हो। करिब २७ किलोमिटरको रिङरोड सडक खण्डमा उपत्यकाभित्र र बाहिर चल्ने सबैजसो रुटका सवारी चल्छन्।
रिङरोड परिक्रमासँगै रिङरोड बाहिर विशेषगरी काठमाडौं, भक्तपुर र ललितपुरका बाहिरी रुटमा चल्ने सानादेखि ठूला सवारीसाधनको चाप धेरै छ। उपत्यका बाहिर लामा रुटका सवारी गोंगबु बसपार्कदेखि बनेपा बसपार्कसम्मका सवारी रिङरोड भएर नै बाहिरिन्छन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गत साउनदेखि पुससम्म मात्रै उपत्यकामा ६ हजार चार सय ३६ वटा सवारी दुर्घटना भए। यीमध्ये एक हजार चार सय सातवटा दुर्घटना रिङरोडमै भएको देखिन्छ। रिङरोडको बाफलदेखि बल्खुसम्म दुर्घटनाको जोखिम बढ्दो छ। असोजदेखि माघसम्ममा बाफलदेखि बल्खुसम्म भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भइसकेको छ भने २४ जना घाइते भएका छन्।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले ‘ट्राफिक उज्यालो कार्यक्रम’ सञ्चालन गरेको छ। अभियानअन्तर्गत तीन महिनायता ट्राफिक प्रहरीले ४५ हजार एक सय ७४ जना पैदलयात्री, १५ हजार ६ सय ४८ जना मोटरसाइकल चालक, ६ सय १२ जना निजी सवारी चालक, ११ हजार आठ सय तीनजना भाडाका सवारी चालक, ५७ जना सरकारी सवारीसाधनका चालकलगायत ८१ हजार दुई सय ८९ जनालाई सचेतना अभिवृद्धि गराइसक्यो। तर पनि जोखिम न्यूनीकरण भने हुन सकेको छैन। ट्राफिक प्रहरीले तीन महिनायता विशेष मोबाइल कारवाही अभियानअन्तर्गत २० हजार चार सय ३३ वटा सवारीचालकलाई कारवाही गरेको छ।
महाशाखाका प्रमुख एसएसपी भीम ढकालले रिङरोडमा दुर्घटना वृद्धिदर कम भए पनि जोखिम नघटेको बताए। उनले भने, ‘दुर्घटना जोखिम बढ्नुमा सडक प्रयोगकर्तामा सचेतना अभावले हो। आकाशे पुलको प्रयोग गर्दैनन्। सवारी चाप धेरै छ।’ उनले रिङरोडमा सवारी चालकबीच हुने अस्वस्थ्य प्रतिस्पर्धा नै दुर्घटना जोखिमको मुख्य कारण रहेको बताए।
उनले भने, ‘ उपत्यकामा चल्ने सवारीले रिङरोड अनिवार्य प्रयोग गर्नुपर्ने अवस्था छ। त्यसैले सवारी रुटको पुनर्विचार गर्नुपर्ने आवश्यकता छ।’ लामा रुटका सवारीको पार्किङ रिङरोड बाहिर गर्ने हो भने उपत्यकाको चापमा कमी आउने र दुर्घटना कम हुने दाबी उनको छ।