खरिपाटीले भुलायो वुहानको पीडा
काठमाडौं : चीनको हुपै प्रान्तबाट १ सय ७५ नेपाली आइतबार बिहान झिसमिसेममा काठमाडौं ओर्लिए । उनीहरू राष्ट्रिय ध्वजावाहक विमानबाट स्वदेशमा पाइला टेकेभन्दा क्वारेन्टाइन स्थल पुग्दा बढी खुसी देखिन्थे ।
विमानस्थलमा ओर्लेपछि स्वास्थ्य जाँच गरी प्रहरी स्कर्टिङमा उनीहरूलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र (क्वारेन्टाइन)मा लगिएको हो ।
चीनको सुन्दर प्रान्त एकाएक कोरोना भाइरस संक्रमणको केन्द्र बनेपछि त्यहाँबाट फर्किंदा ‘कालको मुखबाट फिर्ता आएझैं’ महसुस भएको केहीले बताएका छन् । बसबाट लामो यात्रा, त्यसपछि हवाई उडानले थकित उनीहरू क्वारेन्टाइन क्षेत्रमा पुग्दा सरकारको तयारीले दंग परेका हुन् । उनीहरूले नयाँ जीवन पाएको महसुस गरेका छन् ।
अस्पतालमा छटपटिइरहँदा घर जान मन लाग्नु र घर पुग्दा हुने खुसीकै क्षण भएको उनीहरूको भनाइ छ । तीन सातादेखि लगातार उद्धार गर्न आग्रह गरिरहेकामा अन्ततः सरकारले सुनेको भन्दै उनीहरूले खुसी व्यक्त गरेका छन् ।
उनीहरूलाई स्वदेश फर्काउन बेइजिङस्थित नेपाली दूतावासले त्यहाँको र यहाँको व्यवस्थापन नेपाली सेनाले गरेको थियो । उद्धार व्यवस्थापनको जिम्मा लिएको दूतावासले हुपैबाट नेपालीलाई केही कडा नियमसहितको मञ्जुरीनामा लिएको थियो । सरकारले तोकेको समयावधिभर क्वारेन्टाइनमा बस्ने, आफन्त नभेट्ने, बाहिर निस्किन नखोज्नेजस्ता विषयमा मञ्जुर गराएर हुपैका ६ सहरबाट उनीहरूको उद्धार गरेको हो ।
उनीहरूले सरकारी व्यवस्थापनको प्रशंसा गरेका छन् । ‘अलिकति ढिलो भयो भन्ने मात्र हो तर यहाँको तयारी राम्रो रहेछ’, डा. गौरव पोखरेलले भने, ‘हामी खुला स्थानमा आइपुगेझैं भएका छौं । खुला हावा लिन पाएका छौं । मानसिक तनाव कम भएको मात्र होइन, पूर्णतः सुरक्षित रहेको महसुस गरेका छौं ।’ सरकारले तयार गरिदिएको बस्ने स्थान र खानाले आफू घरमै बसेको महसुस गर्न पाएको उनले बताए ।
वुहानबाट अबेर राति उडेका उनीहरू बिहान खरिपाटी पुगेपछि आआफ्नो बेडमा गएर पल्टिएका थिए । अधिकांश मस्त निद्रामा रहेको एक विद्यार्थीले बताइन् । ‘सरकारले ढिलै भए पनि कालको मुखबाट फर्काएको छ । यस्तै बेला सरकार चाहिने हो’, उनले टेलिफोनमा अन्नपूर्णसँग भनिन्, ‘आगामी दिनमा अन्य नेपालीलाई पर्दा यत्तिको ढिलाइ नहोस् ।’
उनीहरूले यहाँको व्यवस्थापन राम्रो रहेको तर ढिलाइ सम्झिँदा यो पनि बिर्सिनपर्ने नै रहेको बताए । ‘यहाँ बस्दा पालना गर्नुपर्ने नियम र खानेपिउने समय तालिकासमेत उपलब्ध गराइएको थियो’, प्रमिला देवकोटाले भनिन्, ‘लन्च बक्समा खाना बाहिर टेन्टमा व्यवस्था गरिएको थियो । कतै छुन नपर्ने तवरले मिलाइएको रहेछ । हामीले सोचेभन्दा पनि राम्रो तयारी सरकारले गरेको रहेछ ।’
सरकारले हुपैमा गरेको व्यवस्थापन पनि प्रशंसालायक थियो । भलै ४ जनामा ज्वरो देखिएपछि एक परिवार सहित ६ जना उतै बस्न पर्यो भन्दै उहाँहरु पनि संक्रमणमा परेका होइनन जस्तो लाग्छ, उनले भनिन । चार जना सुरक्षित महसुस गरेर हो वा अन्य कुनै आफ्नो कारणले हो फर्केनन् । १ सय ८५ मा १० उतै रहेर अन्य फर्केका हुन ।
विमानस्थलमा जम्मा गर्ने तरिका र व्यवस्थापन साच्चै लोभलाग्दो थियो भने विमान यात्रा पनि स्वाभाविक रुपमा उत्साहप्रद थियो भन्दै उनले भने, ‘हाम्रो स्वास्थ्यको निकै ख्याल गरेर खानाको ब्यवस्था गरिएको रहेछ ।’ खरिपाटीमा रहेका सबै नेपाली निकै खुशी रहेको उनले बताइन । यो स्तरको ब्यवस्थापन देखेर साच्चै नेपालका राजनीतिक नेतृत्व र कर्मचारीमा धेरै नै ज्ञान भरिएको पनि बताए । ‘मेरो एउटै गुनासो हो । सरकारले यति धेरै गर्न सक्ने रहेछ । तर, किन हामी यति धेरै कराउन पर्ने, यो काम समयमा नै गरिदिएको भए हुन्थ्यो,’ उभनले भनिन,‘केही छैन, ढिलै भए पनि मुलुका फर्कन पाएका छौं र सरकारले राम्रोसँग राखेको छ । दंग छौं ।’
भरतपुरका अमृत शर्माले भने कतै फर्कनै पो नपाइने हो की झै लागेको थियो तर सरकारले हाम्रो, जनताको र संचारमाध्यमको कुरा सुनिदिएकोमा खुशी लागेको भन्दै विशेष गरि अन्नपूर्ण पोस्टले गरेको पहलबाट हामी दंग रहेको पनि बताए । ‘पछिल्लो समय हुपैंमा चीन सरकारले लकडाउन बढाउनेमात्र होइन थप कडाई गर्दै लगेको थियो जसले गर्दा समस्या बढेको अनुभव गरेर हामी त्रसिद थियौ., अव ढुक्का भएका छौ,’ उनले भने, ‘संसारमा सबैकुरा ढुक्क त के हुन्छ र तर यो त्रासबाट अहिले ढुक्क भएका छौं ।’ठूलो क्षेत्रफल हरियालीको माझमा रहेकाले उनीहरु दंग हुँदै प्रकृतिसँग रमाइरहको पनि अधिकांश चिकित्सकहरुले बताए ।
कोठामै बस्ने अनलाइनबाट खाना लिने जस्ता कामहरु भएका थिए । उनीहरु फर्केपछि अभिभावक पनि उत्तिकै खुशी रहेको र सबैसँग टेलिफोनमा कुरा गर्न पाएको उनीहरुले बताए । त्यो त्रासबाट आफ्नैभुमीमा छोराछोरी आएकाले दुइसाता भेट्न नपाएपनि केही नभएको भन्दै सरकारको आफ्नो कुरा सुनिदिएकोमा खुशी ब्यक्त गरे । यति हुँदा हुँदै पनि किन सरकारले ढिलो गरेको भन्ने विषयमा भने उनीहरुको अड्कल भने यहाँ नेपालीलाई सर्छ भन्ने केही नेता र कर्मचारीको सोचको कारणले हो भन्ने लाग्यो भन्दै सबैले संचारमाध्यम र प्रधानमन्त्री केपी ओलीको प्रयासलाई प्रशंसा गरे । सबै एकातिर हुँदा पनि प्रधानमन्त्री ओलीले नै अडान लिएपछि र नियमित चासो देखाएपछि ढिलाई गरिरहेका काममा तिव्रता आएको हो ।
प्रतिक्रिया दिनुहोस !