कोशी टप्पुमा छैनन् पर्यटक
इटहरी : अर्ना तथा चराको स्वर्गभूमि मानिने कोशी टप्पु वन्यजन्तु आरक्ष पर्यटकका लागि गन्तव्य बन्न सकेन। सुनसरी, सप्तरी र उदयपुर जिल्लामा पर्ने र सबैतिरबाट अवलोकन गर्न सकिने आरक्षमा पर्यटन विकासका लागि सरकारी र निजी क्षेत्रबाट कुनै पहल हुन सकेन।
तर, स्थानीय तहको निर्वाचनपछि कोशी गाउँपालिका सरकारले आरक्षबाटै पहिचान र विकास गर्ने सोच बनायो। त्यसयता गाउँपालिका कार्यालय आरक्ष विकासका लागि कम्मर कसेर लागिपरेको छ। ‘कोशीको मुख्य सम्पत्ती नै कोशी टप्पु हो’, गाउँपालिका अध्यक्ष अयुव अन्सारी भन्छन्, ‘सधैं कोशीको बाढी अनि जंगली जनावरले गाउँपालिकालाई दुःख दिइरहेको छ। हामी कोशीलाई गाउँपालिकाको मुख्य आर्थिक स्रोत बनाउन लागिपरेका छौं।’
आर्थिक तथा विकासको दृष्टिले पछि परेको कोशी गाउँपालिकाले यो पटक कोशी महोत्सव आयोजना गर्यो। महोत्सवमा नेपाल तथा भारतबाट गरेर दुई लाखभन्दा बढी पर्यटक सहभागी भए।
अघिल्लो वर्षको माघ महिनामा एक हजार पाँच सय पर्यटक आएकोमा यो वर्ष भने दुई हजार ८२९ जना पर्यटक आएको आरक्षका कर्मचारी जयराम न्यौपानेले जानकारी दिए।
पर्यटक देखेर मेला आयोजक तथा कोशी गाउँपालिका उत्साहित बनेको छ। ‘अब चितवनजस्तै कोशी गाउँपालिका पनि पर्यटकको केन्द्र बन्नेछ’, कोशी गाउँपालिकाकी उपप्रमुख अनिता देवी यादवले भनिन्।
सुनसरी, सप्तरी र उदयपुरमा फैलिएको कोशी टप्पु क्षेत्र रामसार सूचीमा सूचीकृत भएको नेपालको पहिलो ठूलो रामसार क्षेत्र हो। आरक्षमा अहिले ५२६ प्रजातिका चरा, पाँच सय बढीको संख्यामा अर्ना, डल्फिनलगायत वन्यजन्तु छन्। कोशीटप्पुमा जंगल सफारी, हात्ती सफारी अनि बोटिङ मुख्य आकर्षण रहेको छ। पर्यटक यहाँ आएर फायर क्याम्प गर्न सक्छन्। अर्ना र चराको अध्ययन गर्ने अध्ययनकर्ताका लागि यो स्वर्ग नै हो।
त्यसबाहेक ठूलो घाँसे मैदान, समुद्रको किनारकै झल्को दिनेगरी विसाल क्षेत्रमा फैलिएको वालुवा बगर अनि बाह्रै महिना बगिरहने सप्तकोशी नदी पर्यटक, फिल्म निर्माता तथा सर्वसाधारणका लागि छुट्टी बिताउने र रोमान्चक साहसी पर्यटनको लागि उपयोगी हुन सक्छ। आरक्षनजिकै सप्तकोशी नदीमै जेटबोटसमेत सञ्चालनमा छ। धार्मिक स्थल चतरा र बराहक्षेत्र कोशी किनारमै पर्छ।
सम्भावना हुँदा हुँदै पनि कोशीटप्पु घुम्न सोचजति पर्यटक आएका छैनन्। अघिल्लो वर्ष माघ महिनासम्म १२ हजारभन्दा बढी पर्यटक आएका थिए भने यो वर्षको माघ महिनासम्म १० हजार पर्यटक मात्र आएको तथ्यांक छ। विदेशी पर्यटक त झन् विरलै आउँछन्। यो वर्ष ४७ जना मात्र विदेशी पर्यटक आएको तथ्यांक आरक्षले दिएको छ।
आरक्षप्रति आकर्षण बढ्न नसक्नुको मुख्य कारण प्रचारप्रसारको अभावलाई मान्छन् आरक्षका वार्डेन रामदेव चौधरी। ‘वेबसाइट त भर्खरै म आएपछि बनाएर लन्च गर्यौं’, उनले वन्यजन्तु आरक्षको उद्देश्यमा पर्यटन खासै नपर्ने बताउँदै भने, ‘दोस्रोमा, आरक्षको साटो निकुन्ज भएको भए प्राकृतिक स्रोतको व्यवस्थापनसँगै सदुपयोग पनि पथ्र्यो।’
त्यसो त आरक्षससम्म पुग्ने बाटो पनि व्यवस्थित थिएन। न त आरक्षसम्म आउने पर्यटकका लागि खाने बस्ने ठाउँ थिए। अहिले केही हदसम्म पूर्वाधार विकास थालिएको छ।
उदयपुर, सुनसरी र सप्तरी गरेर ५ स्थानमा होमस्टेको विकासका लागि पहल भइरहेको चौधरीले बताए। त्यसका साथै निजी क्षेत्र पनि अहिले उत्साहित भएर होटलमा लगानी गरिरहेको छ। कोशी टप्पु आउने पर्यटकलाई लक्ष्य गर्दै सुनसरीमा जम्मा तीन वटा रिसोर्ट सञ्चालनमा छन्। ती रिसोर्ट खुल्नु अघिसम्म पनि पर्यटकलाई बास बस्न सुनसरी सदरमुकाम इनरुवा पुग्नुपर्ने बाध्यता थियो। पर्यटक नआएकाले रिसोर्ट खुलेनन्, रिसोर्ट नै नभएपछि पर्यटक आएनन्।
कोशी गाउँपालिकामा रहेको एक्वा बर्ड इको रिसोर्टका सञ्चालक सुरज गिरीकाअनुसार पर्यटकलाई आरक्षबारे थाहा दिनु आवश्यक छ। उनले आरक्ष आउने आगन्तुकका लागि विभिन्न प्याकेज बनाइएको बताए। युरोपको पीआर छाडेर आरक्षनजिकै रिसोर्ट चलाइरहेका गिरी कोशी टप्पुमा पर्यटक बढ्ने आशामा छन्। त्यसका लागि स्थानीयदेखि केन्द्रीय सरकारले चासो र आवश्यक काम गर्नुपर्ने उनको सुझाव छ। साथै प्रचारप्रसार गर्नुपर्नेमा उनको जोड छ। यो वर्ष मात्र दर्जनभन्दा बढी समूहले कोरोना भाइरसको त्रासको कारण भ्रमण रद्ध गरेको उनले जानकारी दिए।