सतबाँझ-दार्चुला सडक निर्माण किन रोकियो ?
बैतडी : सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको गौरवको योजनामा सूचीकृत गरेको बैतडीको सतबाँझ-श्रीभावर-हाट-दार्चुला सडकमा अझै पनि काम सुरु हुन सकेको छैन्। चालु आर्थिक वर्षदेखि निर्माण गर्ने गरी प्रदेश गौरवको योजनाको रुपमा राखिएको सडक आर्थिक वर्षको ६ महिना बितिसक्दा समेत सुरुवात हुन नसकेको हो ।
प्रत्येक जिल्लामा एउटा सडकलाई प्रदेश गौरवको योजनामा राखेको प्रदेश सरकारले ती योजना कार्यान्वयनमा भने ढिलाइ गरेको छ ।२०४५ सालमा ट्रयाक ओपन भएको सतबाँझ-श्रीभावर सडकको अहिले १५ किलोमिटरसम्म मात्रै गाडी गुड्ने गर्दछ ।
यस्तै, सोही सडकअन्तर्गतको श्रीभावर-हाट सडकमा पनि गाडी गुड्ने गरेको छ । ती दुवै सडकलाई जोड्ने र स्तरोन्नति गरी दार्चुलासँग जोड्ने हिसाबले प्रदेश गौरवको योजनामा राखिएको भएपनि काम भने सुरु हुन नसकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ।
चालु आर्थिक वर्षमा सतबाँझ-श्रीभावर-हाट-दार्चुला सडकका लागि ५ करोड प्रदेश सरकारले बजेट विनियोजन गरेको भएपनि काम भने सुरु हुन नसकेको पूर्वाधार विकास कार्यालयका प्रमुख जगतप्रसाद जोशीलाई जानकारी दिए।'हामीलाई यताबाट तीन महिनाअघि डीपीआर तयार पारेर पठाएका छौं।
मन्त्रालयबाट अझैं पनि स्वीकृत भएर आएको छैन्, 'उनले भने, 'हामीले गौरवको योजनाका लागि बजेट पनि कम भएको भनेका छौं। हामीले ५० करोडको स्टमेट बनाएका छौं। मन्त्रालयले १५ करोडको मात्रै बनाउन भनेको थियो ।'
सतबाँझ-श्रीभावर र श्रीभावर-हाट दुवै सडकमा एकै पटक काम गर्ने गरेर स्टमेट बनाएको भएपनि स्वीकृत नहुँदा कामअघि नबढेको जोशीले बताए। जिल्लाका तीनवटा स्थानीय तह र अर्को जिल्लासँग सडक सञ्जालमा जोड्ने हिसाबले सतबाँझ-श्रीभावर-हाट-दार्चुला सडकलाई प्रदेश गौरवको योजनामा राखेको भएपनि काम सुरु नहुँदा स्थानीयबासी निरास भएका छन् । 'सरकारले घोषणा गरेका कार्यक्रम वर्षौंसम्म कार्यान्वयन नहुने रोग पहिलादेखिको हो । संघीयतामा पनि यो रोगले छोडेको छैन।'
सुर्नया ५ का नवराज मडैले भने, 'सतबाँझ श्रीभावर सडक ३ दशक पहिलादेखि निर्माण सुरु भएको हो । बल्ल प्रदेश सरकारको गौरवको योजनामा परेको छ । तर पनि काम सुरु हुन सकेको छैन् । यसले गर्दा सडक स्तरोन्नती हुने सपना मात्रै भएको छ ।'
सरकारले गौरवको योजनामा राखेका कामलाई प्राथमिकता दिनुपर्ने रौलेश्वर माविका शिक्षक गणेशदत्त अवस्थीले बताए। उनले भने, 'सरकारले आफैले प्राथमिकतामा राखेका कामलाई समयमा सुरुवात गर्न सक्नुपर्छ । नत्र सरकारप्रति जनताको विश्वास घट्दै जानेछ। प्रदेश सरकारले गौरवको योजना चाँडै कार्यान्वयनमा ल्याओस् भन्ने हाम्रो चाहाना हो।'
प्रदेश गौरवको योजनाको रुपमा रहेको सो सडकखण्डको सतबाँझदेखि सुर्नया गाउँपालिकाको केन्द्र रौलेश्वर र श्रीभावरदेखि बडगाउँसम्म पहिलो चरणमा कालोपत्रे गर्ने योजना स्टमेटमा राखिएको पूर्वाधार विकास कार्यालयका प्रमुख जोशीले बताए ।
प्रतिक्रिया दिनुहोस !