गौतमको तागत

गौतमको तागत

काठमाडौं : पार्टी विधान संशोधन गरेर उपाध्यक्ष। त्यसअघि नै संगठन विभाग प्रमुख।

राष्ट्रियसभामार्फत प्रधानमन्त्रीको हकदार बनाउन देशकै संविधान संशोधनको गृहकार्य।

आखिर वामदेव गौतमको ‘तागत’ के हो, जसले चाहेको कुरा पुर्‍याइदिन शीर्ष नेताहरूलाई कर लाग्छ ?

उनको खास ‘तागत’ हो– पार्टीभित्र आआफ्ना शक्तिशाली गुट चलाउँदै आएका अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसम्मले समीकरण बलियो देखाउन ‘तानातान’ गर्नु। त्यसैको फाइदा उठाउँदै गौतमले भूमिका बढाउन खोजिरहेका छन्।

गौतम निकट केन्द्रीय सदस्य हरि पराजुलीका शब्दमा, पार्टीको बाहिरी संगठनात्मक क्षेत्रमा गौतम कमजोर देखिए पनि भित्री समीकरणमा शक्तिशाली छन्। सोही कारण ओली, दाहाल र नेपालसम्मलाई उनको आवश्यकता परेको हो।

‘तत्कालीन एमाले र माओवादी एकीकरण प्रक्रियामा वामदेव नभई भएन। अध्यक्षकै पुस्ताका नेता पनि उहाँ (वामदेव) हुनुहुन्छ। वामदेवसँग बाहिरी शक्ति नदेखिए पनि भित्री शक्ति बलियो छ। जोडघटाउका सबै गतिविधिमा उहाँको महत्व बढेकै छ,’ पराजुलीको ठम्याइ छ।

पार्टीभित्रै अर्को आशंका छ, जस्केलाबाट सांसद बनाएर उनलाई कताबाट प्रधानमन्त्री बनाइन्छ ? ओली र दाहालबीच सरकार र पार्टीको कार्यकारी अधिकार पाँचै वर्षका लागि बाँडिएको छ। उसो भए गौतमको चाहना के त ? उनी निकट नेता पराजुली भन्छन्, ‘संविधान संशोधन गरेर दुवै सदनका बीचमा देखिएको विभेद अन्त्य गरे पनि उहाँ (वामदेव) प्रधानमन्त्री बनिहाल्ने भन्ने होइन। राष्ट्रियसभा सदस्य मात्र हुन उहाँ किन जाने ? प्रधानमन्त्री बन्न नपाए पनि कम्तीमा मन्त्री त बन्न पाउनुपर्‍यो नि ? त्यसका लागि पनि संविधान संशोधन चाहिन्छ।’

नेकपामा जसरी गौतम शक्तिशाली देखिँदै छन्, त्यो हेर्दा उनको दैनिकी व्यस्त हुनुपर्ने हो। नेता–कार्यकर्तासँगको भेटघाट बाक्लो हुनुपर्ने। कार्यक्रमको चाप पनि उत्तिकै हुनुपर्ने। तर, पछिल्ला तीन दिनयता उनीसँग हरि पराजुली, बलराम बाँस्कोटा, सुमन प्याकुरेल, नरबहादुर धामी, जीवनराम श्रेष्ठलगायत सीमित नेताले मात्र भेटेका छन्।

गौतमले भने मंगलबार साँझ अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसँग भेटघाट गरे। संविधान संशोधनका लागि पार्टीले बनाएको कार्यदल विवादबारे छलफल गरे। त्यसअघि दिउँसो महासचिव विष्णु पौडेलसँग कुराकानी गरे।

पार्टी सचिवालयदेखि स्थायी समितिसम्म उनकै लागि मरिहत्ते गरेर लाग्ने नेता उनी पछाडि अहिले एक जना पनि देखिन्नन्। राम्रै होस् भन्ने शुभचिन्तक भने केही छन्। केन्द्रीय समितिमा बाँस्कोटा, पराजुली, केशवलाल श्रेष्ठ, सावित्रीकुमारी भुसाल, यमलाल कँडेल, उमादेवी कोइराला, लालबहादुर विक, गणेशसिंह ठगुन्ना, राधा ज्ञवाली, दलबहादुर रानालगायत एक दर्जन जति नेता उनी पक्षमा चिनिएका छन्। संघीय संसद्मा दार्चुलाका गणेशसिंह ठगुन्ना, बझाङका भैरवहादुर सिंह, काभ्रेकी नवीना लामा, पत्नी तुलसी थापा, राधा ज्ञवाली उनका लागि पछि लाग्न सक्ने देखिन्छन्।

पार्टीको गुट राजनीतिमा विगतभन्दा ‘कमजोर’ बन्दै गए पनि व्यक्तिगत रुपमा भने उनी नेकपाभित्र शक्तिशाली देखिन्छन्। ‘अध्यक्ष दाहालले उहाँलाई संगठन विभाग प्रमुख बनाउने प्रस्ताव पार्टीको सचिवालय बैठकमा गर्नुभयो। त्यसपछि प्रधानमन्त्री ओलीले त्यसमाथिको पद उपाध्यक्ष नै बनाउने प्रस्ताव राख्नुभयो,’ एक सचिवालय सदस्यले भने, ‘संगठन विभाग प्रमुख अनि दुई महिना नबित्दै विधानमै नभएको उपाध्यक्ष पद विधान संशोधन गरेर सिर्जना गर्ने र उपाध्यक्ष बनाउने सम्मको प्रस्ताव अध्यक्षद्वयले सचिवालयमा ल्याउनुभयो। केन्द्रीय समितिले पारित गरेर उहाँलाई उपाध्यक्ष बनाइयो।’

गौतम गत प्रतिनिधिसभा चुनावमा देशभर वाम गठबन्धनले चुनाव जितिरहँदा बर्दिया १ बाट पराजित भए। तर उनले ५ वर्षसम्म चुप बस्ने नीति लिएनन्। निर्वाचित सांसदलाई राजीनामा गराई उपचुनाव गराउने र त्यसमार्फत आफू संसद् छिर्ने दाउ रचे। कहिले डोल्पा, कहिले काठमाडौंसम्मका निर्वाचन क्षेत्रमा वामदेवका आँखा परे। काठमाडौं ७ का सांसद (हालका सहरी विकास राज्यमन्त्री) रामवीर मानन्धरलाई राजीनामाको पत्र नै लेख्न लगाई पार्टी सचिवालयमा अध्यक्ष दाहालमार्फत प्रस्तुत गर्न लगाए। तर उनको संसद् छिर्ने दाउमा भने सधंै पार्टीभित्रै छेकबार लाग्दै आयो।

उनको चाहना सम्बोधन गर्न अन्ततः अध्यक्षद्वयले उनलाई कास्की– २ का दिवंगत सांसद रवीन्द्र अधिकारीको क्षेत्रमा उठ्न प्रस्ताव गरे। गौतमले चाहेनन्। उनलाई राष्ट्रियसभाको दुईवर्षे कार्यकाल सकिएका सांसदका रिक्त स्थानमा चुनाव लड्न नेताहरूले आग्रह गरे। त्यसपछि उनले संविधान संशोधन गरेर राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदका बीचमा रहेको विभेद हटाउनुपर्ने सर्त राखे। उनी निर्वाचन लड्न गएनन्। उनले पार्टी सचिवालयका बहुमत सदस्यलाई ‘कन्भिस’ गरेर संविधान संशोधन कार्यदल निर्माणसम्म पुर्‍याए। त्यसका लागि उनले आफ्नै निवासमा पुस २३ मा अध्यक्ष दाहालसहितका बहुमत सचिवालय सदस्यको भेला गरे।

नेकपाभित्र पार्टीको निर्णय गर्ने निकाय सचिवालय बन्दै आएको छ। त्यसमा शीर्ष नेताहरूको समीकरणमा गौतम जता ढल्किन्छन्, उतै उनले बहुमत पुर्‍याउन सक्ने क्षमता प्रदर्शन गरिरहेका छन्। जसका कारण पनि गौतमलाई नेताहरुले ‘उपयोग’ गर्न खोजिरहेका छन्। उनी अध्यक्ष ओली, दाहालदेखि वरिष्ठ नेता नेपालसम्मलाई पनि आपूm अनुकूल उपयोग गर्न सजिला बनिदिन्छन्।

‘शक्ति सन्तुलनका कारण पनि होला पार्टीभित्र वामदेवलाई लिएर बेलाबेला अनेक फन्डा आएका। किनभने नेतृत्वले सीधासीधा लड्न नसक्ने भएपछि जसलाई सकिन्छ, त्यसैलाई प्रयोग गर्छ। वामदेव अहिले त्यस्तै प्रयोग भएका हुन सक्छन्,’ नेकपाका अर्का स्थायी समिति सदस्य भन्छन्, ‘एकले अर्काे नेतालाई पावर साइजमा ल्याउने गतिविधि हो कि ? ओलीलाई साइजमा ल्याउन दाहालले वामदेव प्रयोग गर्ने र ओली बलियो भएका बेला दाहाललाई साइजमा ल्याउन वामदेव प्रयोग गर्ने क्रममा पद थपेर हुन्छ वा के गरेर हुन्छ माथि पुर्‍याइन्छ। पार्टीमा यो दुर्भाग्य हो।’

तत्कालीन एमालेभित्र उनी झलनाथ खनालतिर मिले। आठौं महाधिवेशनमा पार्टी अध्यक्षमा खनाल निर्वाचित भए। नवौंमा उनले ओलीसँग केही लेनदेनमा सम्झौतासहित टिम निर्माण गरे, ओलीले अध्यक्ष जिते। दाहालसँग पनि उनको जनयुद्धकालदेखिकै हितैषी सम्बन्ध छ। दाहालले अझै तत्कालीन एमालेभित्रका एक जना नेतालाई आफूले प्रधानमन्त्री बनाउन बाँकी रहेको भनेर वामदेवप्रति नै बारम्बार संकेत गर्दै आएका थिए।

‘जसले जे दिए पनि प्रयोग हुन सक्ने र पाएपछि त्यसैमा मरिहत्ते गरेर लाग्ने गुण वामदेवमा देखिन्छ। उनी सबैका सजिला पनि छन्। त्यस कारण सबै नेताले वामदेवतिर आँखा लगाउँदा उहाँ तानातानमा पर्नुभएको हो,’ नेकपाका एक स्थायी समिति सदस्यले भने।

पार्टीले संविधान संशोधन कार्यदल वनाउँदै गर्दा उनी त्यसको पक्षमा भने थिएनन्। ‘संविधान संशोधन कार्यदल पार्टीले भन्दा सरकारले बनाउने भन्ने मेरो कुरा हो, तर पार्टीले पहिले कार्यदल बनाउने कुरा ल्यायो,’ पूर्वकृषिमन्त्री पराजुलीले गौतमलाई उद्धृत गर्दै अन्नपूर्णसँग भने, ‘वामदेवलाई राष्ट्रियसभामा जान मात्र भन्ने, तर सांसद मात्र बन्न किन जाने ? ’

कञ्चनपुर– २ का सांसद नरबहादुर धामीले नेताहरूले वामदेवलाई किन स्थान दिइरहेका छन् भन्ने कुरा समयक्रमसँगै खुल्दै जाने बताए। ‘म अहिले यति भन्छु उहाँलाई नेताहरूले किन महत्व दिइरहनुभएको छ भन्ने कुरा समयक्रमले पुष्टि गर्दै लैजान्छ।’

वामदेवलाई उपाध्यक्ष बनाउँदै गर्दा पार्टी केन्द्रीय समिति बैठकमा एउटा व्यक्तिलाई मात्र हेरेर पद थप गर्नु नहुने अधिकांश नेताहरूको मत थियो। केन्द्रमा उपाध्यक्ष बनाउने हो भने तल पनि बहुपदमा जानुपर्ने नेताहरूको माग थियो। केन्द्रीय सदस्य लेखनाथ न्यौपाने भन्छन्, ‘एक व्यक्तिका पछाडि समग्र आन्दोलन, संस्था, पार्टी विधान र देशको संविधानसमेत सती जानुपर्ने अवस्था आउनु आफंैमा विघटन हो। पार्टी नेतृत्वले किन यसो गरिरहेको छ, बुझ्न सकिएको छैन।’

यसैबीच नेकपाले बुधबार बिहान सचिवालय बैठक बोलाएको छ। त्यसमा तुहेको ‘कार्यदल’ र एमसीसीबारे छलफल हुने स्रोतले बतायो। पार्टीका एक नेताले भने, ‘हेरौं, गौतमको वास्तविक तागत यो बैठकमा देखिएला।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.