गर्भमा गर्व छ

गर्भमा गर्व छ

छोरीहरूले फुलाइदिएको संसारमा मस्त रहन पाएकाले सामाजिक दरिद्री र तिनका विषवमन गरिएका टिप्पणीलाई ‘बाल नदिएरै’ संसारकै सुखी आमामध्ये एक भएको अनुभूतिमा म रमाइरहेकी छु।


‘अरू भए भ्रूणको लिंगबारे जानकारी दिँदैनथ्यौं, तर तपाईंलाई चाहिँ दिन्छु, तपाईंको गर्भमा छोरी छ’ डाक्टरले स्क्रिन हेर्दै भनिन्। नेपाली समाज हो, भोलि परिवारले छोरै चाहिन्छ भनेर प्रेसर दिन्छ जस्तो लाग्छ भने यसलाई नजन्माउन सक्नुहुन्छ भनी सल्लाह दिइन् उनले। त्यसमाथि पहिलो सन्तान सानै थिई। गर्भपतन नै गर्ने हो भने त्यो समय र कारण ठीक रहेको सुझाव प्राप्त गरेँ मैले।

छेउको कुर्सीमा बसिरहेका बुढातिर मेरा आँखा फर्किएछन्। ‘प्रेसर कसले दिन्छ ? म दिन्नँ, अरूको मतलब भएन’ जीवनमा सबैभन्दा मधुर सुनिएको बुढाको वाक्य त्यही थियो मेरा लागि। त्यसो त हामी भ्रूणको लिंग पहिचान्ने दृष्टिले देखाउन गएका पनि थिएनौं।

पहिलो सन्तान जन्मिएको छोटै अवधिमा अर्को जन्माउँदा मेरो स्वास्थ्यमा पर्नसक्ने असर र जन्मिने बच्चाको स्वास्थ्यबारे बुझ्न म डा. कान्ति गिरीकहाँ यसभन्दा पहिला नै पुगेकी थिएँ। उनले त मलाई कल्पनाबाहिरको सल्लाह पो दिइन्।

‘अहिलेको परिवेशअनुसार यस्तो कुरा गर्न त नहुने हो तर धेरै ग्याप नराखी छिटै बच्चा जन्माइदिनुस्। छ÷सात वर्षको अन्तरालमा बच्चा जन्माउँदा तपाईंको जीवनको अधिकांश ऊर्जाशील समय लिटो र टालोमै अल्झिन्छ। एकैपटकमा लिटोटालोको झन्झटबाट मुक्त हुनुस्।’ कान्ति गिरीबाट प्राप्त सकारात्मक सल्लाहले अर्काे सन्तान जन्माउने निष्कर्षमा पुगेँ र उनकै सल्लाहबमोजिम म अल्ट्रासाउन्ड गराउन गएकी थिएँ।

भौतिक एवं प्राज्ञिक ढंगले जीवन व्यवस्थित गर्ने चक्करमा त्यतिखेर हाम्रो दिनचर्या संघर्षकै चरणमा थियो। यति हुँदाहुँदै पनि दुइटी छोरीको स्याहारसुसार एक्लै गर्नु परेको स्थितिमा समेत मैले लेखपढलाई सुस्ताउन दिइनँ। धेरैलाई लेखपढका लागि एकान्त वातावरण चाहिन्छ भन्छन्, म दुई छोरीलाई दुईतिर सुताएर लेखपढ गर्थें।

घर सानो भएकाले पुस्तकालय पनि त्यति व्यवस्थित गर्न सकिएको थिएन। कोठाभरि किताब भद्रगोल अवस्थामा छरिएका हुन्थे। यति हुँदाहुँदै पनि दुइटी छोरीले कुनै पुस्तक च्यातेको र भित्ता कोरेको भेटिएन। अझ अलि बुझ्ने र नक्कल गर्ने भएपछि म आफ्नो काम गर्न बस्दा कलम र काम नलाग्ने पत्रिका दिन्थेँ उनीहरूलाई। लेख्दाका अक्षर र प्रुफ हेर्दाका चिह्न नक्कल गर्थे।

दुई छोरी भएपछि छोेराको आवश्यकताबोध गरी हामी दुईबीच कहिल्यै कुनै कुरै भएन। दुई छोरी स्याहार्नु अनि बाँकी समय अध्ययन, अध्यापन, अनुसन्धानमा लाग्नुपर्ने आफ्नै दिनचर्यामा मस्त थियौं हामी। उमेर र उत्साह दुवै दृष्टिले ऊर्जाशील रहेको त्यस बेला हाम्रो अधिकांश समय अध्ययन अनुसन्धानमै बित्थ्यो। देशभित्र अनि बाहिरका प्राज्ञिक गतिविधिमा व्यस्त हुनु परेकाले आफन्त र समाजसँगको सम्बन्धलाई औपचारिकतामा सीमित राख्न बाध्य थिएँ म। नगई नहुने सामाजिक व्यवहारमा पनि मुख मात्र देखाएर फर्कन्थेँ। अनौपचारिक भलाकुसारीको समय नै हँुदैनथ्यो मसँग।

त्यस्ता छोटा भेटघाटमा पनि आपूmभन्दा ठूलाबडालाई अभिवादन गर्दा ‘दुइटी छोरी भइहाले, अब छोरा पाउनु’ आशीर्वाद दिन उनीहरू भ्याइसक्थे। यति मात्र हो र ‘जे भए पनि एउटा छोरा त चाहिन्छ’ भन्ने थप ‘टिप’ पनि बोनसका रूपमा प्राप्त हुन्थ्यो। उनीहरूको आदेश मैले नटेर्ने बुझ्दाबुझ्दै पनि उनीहरू मेरो भविष्यको चिन्ता गरेको देखाएर मेरो हितैषी भएको प्रमाणित गर्न असफल प्रयास गरिरहन्थे। उनीहरूसँग प्रतिवाद गरेर समय खेर फाल्नु मलाई थिएन। त्यसैले कुनै प्रतिवाद नगरी ङिच्च दाँत देखाएर हिँडिदिन्थेँ। बहस र विवाद आफ्नो चेतना मिल्नेसँग मात्र गर्नुपर्छ भन्ने मन्त्र मैले मेरी आमाबाट सिकेकी थिएँ

घर र माइत दुवैतिर शिक्षित परिवेश भएर हो कि हामीले भनेको टेर्दिन भनेर हो, परिवारभित्रबाट छोरा चाहिन्छ भनेर मलाई कसैले पनि प्रेसर दिन सकेन, दिएन। परिवारभित्र यस्ता बिब्ल्याँटा परिस्थितिको सामना गर्नु नपरे पनि केही आफन्त र बाहिरका मान्छे ताडना दिन खोज्थे।

आफन्त पर्ने कसैले छोरा पाउँदा निकटका केही अरूले मलाई सुनाएको दुर्वचन तथा छोराकी आमाप्रति देखाएको लोलोपोतो अनि मप्रति गरेको दुव्र्यवहार एउटा सामान्य मानवीय व्यवहारका विपरीत कल्पनाभन्दा पनि बाहिरको थियो। त्यस्ता दुव्र्यवहारहरू कति मैले छोरीहरूलाई पनि सुनाउन सकेको छैन। आलाकाँचा उमेरका छोरीहरू यस्ता कुराले आक्रोशित भएर विवेक गुमाउन पुग्छन् कि भनेर अहिले नसुनाएकी हुँ। यस समाजका मानिसको दिमागमा भरिएका विष र संकीर्णताबारे जानकारी दिन पनि छोरीहरू पाको भएभछि चाहिँ सुनाउने विचारमा छु।

यो समाजलाई अर्काको घरको निन्दोचर्चाे नगरी निद्रै नलाग्ने। छोरीहरू हुर्कंदै जाँदा उनीहरूका क्रियाकलाप र गतिविधि नजिकबाट नियालिरहेकी एक छिमेकी बेलाबेला मलाई सतर्क गराउँथिन्, ‘तपाईं छोरीहरूलाई अलि कन्ट्रोल गर्नोस् है। छोरीले छोराको व्यहोरा देखाउँदा पछि अप्ठ्यारो पर्ला।’

छोरीले गर्नुपर्ने व्यवहार र छोराले गर्नुपर्ने व्यवहारको पार्थक्य म जान्दिनँ। म त मान्छेले गर्नुपर्ने व्यवहारबारे थोरबहुत जान्दछु। मेरा छोरीहरूको व्यवहारबाट म खुसी छु, सन्तुष्ट छु। फेरि जे अप्ठ्यारो परे पनि भोग्ने त म र मेरै छोरीहरूले त हो। मलाई नदुखेको टाउको किन दुख्छ अर्कालाई ? तर आपूmले मात्र सोचेर नहुने रहेछ। शिक्षित एवं चेतनशील भनिएका दरिद्रीहरूले छोरीहरूलाई चिथोर्न र कोपर्न नछोड्ने रहेछन्।

‘मलाई त छोरी नछुनी भई भनेर लुकाउने तनाव पनि भएन, कसैले बलात्कार गरिदेला भन्ने चिन्ताले पनि सताएन। अब इज्जत जाला भन्ने डर पनि छैन’ दुई छोरा मात्र भएकी अर्की छिमेकीले गौरवपूर्ण भाषण सुनाइन्। सुनाउनुको कारण स्पष्ट थियो। त्यस्तो सोच राख्ने र अझ मुखै फोरेर भन्ने व्यक्ति देख्दा अहिले पनि समाज कहाँ छजस्तो लाग्छ।

छिमेकमा यस्ता मान्छे थुप्रै छन्। यस्तैमा एक दिन भएको सामान्य विवादमा एक व्यक्तिले मेरा छोरीहरूतिर औंला तेस्र्याउँदै चेतावनी दिए, ‘छोरीहरू भएर बढ्ता थुतुनो चलाउने होइन है, भोलि अर्काका घरमा जाँदा थाहा पाउँछौ।’ उनीसँग विवाद नगरुन्जेल उनलाई मेरा छोरीहरू ‘स्मार्ट’ लाग्थे, ‘कन्फिडेन्ट’ लाग्थे। ती व्यक्ति विश्वविद्यालयका प्राध्यापक हुन्। छोरीलाई बेलैदेखि कन्ट्रोल नगरे आउँदा दिनमा इज्जत जाने त्रास देखाउन पनि उनी पछि परेनन्। राजधानीमा बसोबास गर्ने विश्वविद्यालयको प्राध्यापक भनिने व्यक्तिको दृष्टिकोण त यति दरिद्री छ भने अरूबाट हामीले तुरुन्तै परिवर्तनको आश गर्नु पनि बेकारै होजस्तो लाग्छ कहिलेकाहीँ।

पहिलेपहिले कलिला छोरीहरूले यस्ता पत्रुस कुरा सुन्लान् र हीनताबोध गर्लान् भन्ने त्रासले मलाई सताइरहन्थ्यो भने अहिलेचाहिँ उमेरगत आक्रोश प्रकट गरिदेलान् भन्ने डर लाग्छ। यस सन्दर्भमा म सामाजिक परिवेशबाट डराएको होइन, कम्तीमा छोरीहरूले यस्ता झिनामसिना कुराले आपूmलाई डिस्टर्ब गरेर तिनैमा बुद्धि र विवेक खर्च गर्नु नपरोस् भन्ने चाहना मात्र हो।

हाम्रो पुस्ता त हाम्रो भइहाल्यो, छोरीहरूको पुस्ता त अलि अगाडि होला भन्ने मेरो सोचाइमा त्यतिखेर भुइँचालो गयो जब ठुलीले कपाल छोटै पारेर काटी। उसको काटेको कपाललाई लिएर त्यतिखेर उसका समकालीनहरूले गरेका प्रतिक्रिया देख्दा मलाई नयाँ पुस्ताप्रति असाध्यै दया जागेर आयो। अहिले पनि लैंगिक विभेदविरुद्ध विभुले लेखेका लेखहरूमा उसका समकालीनहरूले गर्ने टिप्पणी हेर्छु, बुढोपुरानो पुस्ताकै सोचको समर्थनमा वकालत गरेको देख्छु। रिस उठ्दैन, उल्टै माया लाग्छ।

कपाल र लुगाको लम्बाइ छोटो हँुदा तितो प्रतिक्रिया दिन तुरुन्त अग्रसर हुने समाजका नैतिक प्रहरीका भाषणले छोरीहरूलाई प्रभाव पार्ने हो कि जस्तो लाग्थ्यो पहिले। तर त्यही नकारात्मक ऊर्जालाई यी दुईले आफ्नो शक्तिमा परिणत गरेको देख्दा छुट्टै प्रकारको गर्वानुभूति हुन्छ।

पढाइका सिलसिलामा ठूली अहिले दक्षिण भारतमा बस्छे। त्यहाँको वातावरण महिलाका लागि नेपालमा भन्दा दुस्साध्य भएको अनुभव सुनाउँछे। पुस्तकालयबाट छात्रावासमा ढिलो आइपुग्दा होस् वा हरेक सप्ताहान्त कुनै नयाँ सहर घुमेर फर्केपछि, ‘परिवारले संस्कार नसिकाएको’ जस्ता प्रतिक्रिया विधर्मी सहपाठीहरूबाट सुन्नु परेको कुरा बताएर मरिमरि हाँस्छे। संकीर्ण समाजले निर्धारण गरिदिएको ‘संस्कारी’, ‘ज्ञानी’ केटीको परिभाषामा उसलाई अटाउनु छैन। यस विषयमा दुवै छोरीको मत एउटै छ। मेरो दृष्टिकोण पनि यसभन्दा खासै भिन्न छैन।

कुनै समय थियो, विभिन्न कारणले गर्दा म छोरीहरूलाई समाजका यस्ता दरिद्री दृष्टिकोण तथा विषालु दृष्टिकोणबाट टाढै राख्ने प्रयास गर्थें। समाजमा व्याप्त लैंगिक विभेद, सामाजिक दरिद्य्राइँका अन्य सन्दर्भ त समयक्रममा आफैं पढ्दै, भोग्दै, बिस्तारै बुझ्दै जान्छन् भन्ने कुरामा म पूर्णरूपेण विश्वस्त थिएँ। घरभित्र हामीबाट हुनसक्ने लैंगिक विभेदको अनुभूति गर्न नपाए पनि सामाजिक परिवेश एवं आफ्ना समकालीन साथीहरूमार्पmत समाजमा विद्यमान लैंगिक विभेदको स्थितिसँग अहिले उनीहरू पूरै परिचित भइसकेका छन् र यस्तो स्थितिबारे बेलाबेला मसँग रोष प्रकट गर्छन् पनि। अझ विभुको आक्रोश त लेखनमा समेत देखिन थालेको छ।

दुई छोरीको संसारमा रमेर मस्त भइरहेका बेलामा मेराअगाडि नै गरिएको कुरा भए पनि यस्ता कुराले मलाई कहिल्यै पनि छोएन र छुँदैन पनि, पछाडिको त झन् मतलब हुने कुरै भएन। पहिले छोरै चाहिन्छ भन्नेहरूका अहिलेचाहिँ ‘कसैका छोरा भएर कसैले केही लछारेका छैनन्, छोरी पनि छोरै हुन्, भोलि छोरीले नै पाल्छन्, छोराले भन्दा छोरीले नै माया गर्छन्’ भन्नेजस्ता अनेक टिप्पणी सुन्दाचाहिँ वाक्कै भएकी छु। यस्ता टिप्पणीचाहिँ ‘छोरा पाउन नसक्ने’ भनेर ममाथि प्रकट गरिएका सहानुभूतिका शब्द हुन् भनी अनुमान लगाउन मलाई कठिन पर्दैन। अझ कन्पारो तात्ने कुराचाहिँ यस्ता वाक्य मेरा छोरीहरूप्रति गरिएको अपहेलना मात्र नभएर सिंगो मानव सभ्यताकै अपमान हो भन्ने अनुभूति हुन्छ मलाई।

‘मेरा छोरीहरू मेरा मुटुका टुक्रा मात्र होइनन्, मेरा साथी पनि हुन् जति ‘क्लिसे’ सुनिए पनि वास्तविकता त यही हो। उनीहरू मलाई नयाँनयाँ प्रविधिसँग साक्षात्कार गराउने मेरा गुरु हुन्, अनि कोही मन परेका खण्डमा त्यो सबैभन्दा पहिला मलाई जानकारी दिने मेरा ‘बेस्ट फ्रेन्ड्स्’ हुन्। वृद्धभत्ता खाने बेलामा मलाई एक्लै युरोप यात्रामा जान उक्साउने र वातावरण मिलाइदिने मेरा अभिभावक तथा उत्प्रेरक पनि हुन्।

आफ्ना सन्तानसँगको सम्बन्धमा सबै आमाको अनुभूति यस्तै हुन्छ तर छोरीहरूसँगको मेरो सम्बन्ध मेरा समकालीनहरूका भन्दा विशेष रहेको अनुभूति मसँग छ। औपचारिक रूपमा भाषासाहित्य नपढे पनि उनीहरू मेरा लेख टाइप गरिदिने, प्रुफ हेरिदिने, भाषा सम्पादन गरिदिने क्षमता राख्छन् र गरिदिन्छन् पनि। छोरीहरूले फुलाइदिएको संसारमा मस्त रहन पाएकाले सामाजिक दरिद्री र तिनका विषवमन गरिएका टिप्पणीलाई ‘बाल नदिएरै’ संसारकै सुखी आमामध्ये एक भएको अनुभूतिमा म रमाइरहेकी छु। मलाई यी दुईसँग एउटै मात्र अपेक्षा छ— विवेकपूर्ण ढंगले संघर्ष गर्दै आफ्नो तरिकाले बाँचून्, बस्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.