दाहसंस्कार गर्न दाउरा अभाव
धनकुटा : धनकुटा-९ मूलघाटमा दाहसंस्कार गर्न दाउरा अभाव हुन थालेको छ।यातायातको पहुँचसँगै विभिन्न क्षेत्रबाट मूलघाटमै दाहसंस्कार गर्न ल्याइनु, विगतको तुलनामा तमोर नदीमा वर्षात्को समयमा कम मात्रामा मुढा बगाएर ल्याउनु र अधिकांश वन सामुदायिक वन क्षेत्रको भएका कारण दाउरा अभाव हुँदै गएको हो।
दाहसंस्कार गर्ने थलोका रूपमा स्थापित मूलघाट पछिल्लो समय त्यसकै नामबाट वि श्रान्ति मन्दिरसमेत स्थापित भइसकेको छ। मूलघाटमा दाहसंस्कार गर्नेको संख्या दिनहुँ बढ्न थालेपछि दाउरा अभाव हुन थालेको वि श्रान्ति मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरेले बताए।
उनका अनुसार मूलघाटमा वर्षमा चार सय जनासम्मको दाहसंस्कार हुने गर्छ। दैनिक दुईदेखि तीन जनासम्म पनि दाहसंस्कार गर्न ल्याउने गरिएको छ। एक जनाको दाहसंस्कार गर्न दुई थाग दाउरा दिने गरिएको छ र प्रतिथाग दुई हजार रुपैयाँ मूल्य तोकिएको छ।
दाहसंस्कारका लागि लाग्ने दाउराको मूल्य तिर्न नसक्ने असहाय र निम्नवर्ग तथा न्यून आय भएकाको हकमा भने मलामीको अनुरोधमा निःशुल्क दाउरा उपलब्ध गराइन्छ।
प्रतिक्रिया दिनुहोस !