भोकभोकै सुत्छन् दृष्टिविहीन दम्पती
वीरगन्ज : सम्पत्तिको नाममा जायजेथा केही छैन। न सन्तान, न आफन्त। मजदुरी गरेर पेट पाल्नै धौधौ। राम्रोसँग आँखा पनि देखिँदैन। लठी टेक्दै गाउँ डुलेर भीख माग्छन् अनि मात्र उनको मुखमा बल्ल माड लाग्छ।
यस्तै पीडामा बाँच्न विवश छन् पर्साको जिराभवानी गाउँपालिका-१ बलुवाका ७२ वर्षीय बागडराम चमार। उनी आँखा देख्दैनन्। उमेरले ७० वर्ष नाघेकी उनकी श्रीमती ठगीया देवीको पनि बुढ्यौलीका कारण आँखाको दृष्टि गुमेको छ।
‘दुई छोरा जन्मिएका थिए। बालखैमा दैवले खोसेर लग्यो। एउटी छोरी त छे तर ऊ पनि बिहे गरेर इन्डिया गएको वर्षौं भइसक्यो, आजसम्म भेट्न पनि आएकी छैन,’ ठगीया देवीले भनिन्।
वयोवृद्ध चमार दम्पतीको दिनचर्या कन्तबिजोग छ। छिमेकी गौरी महराले खेतको पाखोमा खरको झुप्रो बनाइदिएका छन्। त्यही झुप्रो, वृद्धा दलित दम्पतीको ओत लाग्ने एउटा सहारा बनेको छ।
चरम गरिबीको मारमा छ वृद्धा चमार दम्पती। कसैले खाने कुरा दिँदा उनीहरूको पेटमा अन्न पर्छ, नभए भोकभोकै रात काट्नुपर्छ।
बागड भन्छन्, ‘म आँखा देख्दिनँ, बुढिया (श्रीमती) को पनि त्यस्तै हालत छ, छिमेकमा माग्न नगएको दिन त भोकभोकै सुत्नुपर्छ।
अन्नपूर्णकर्मी बिहीबार उनको घर पुग्दा चमार दम्पती घाम तापेर बसिरहेको थियो। उमेरले ७ दशक पार गरिसकेका वृद्धा दलित दम्पती सामाजिक सुरक्षाबाट वञ्चित छन्। डाँडापारिको डुब्नै लागेको घामजस्तै छन्, ठगीयार र बागड। तर, बुढेसकालको उमेरसम्म पनि उनीहरूले नागरिकता पाउन सकेका छैनन्। प्रमाणितको सिफारिस गरिदिने आफन्त कोही नभएकाले उनीहरूले नागरिकता पाउन नसकेका हुन्।
उनका छिमेकी गौरी महरा चमारले भने, ‘नागरिकता मात्रै पनि भइदिए दुवैले वृद्धाभत्ता पाउँथे, जीवनयापनमा थोरै भए पनि त राहत हुन्थ्यो।’
बागडलाई पर्साकै सन्ठी भन्ने गाउँमा जन्मिएको मात्र याद छ उनलाई। तर, जन्म कुन सालको कति गते भएको हो त्यो भने उनलाई यकिन छैन। जन्म गाउँमा दाजुभाइ खोज्न जाँदा पनि नभेटिएको बागडले बताए।
‘सन्ठी गाउँमा जन्मिएको भन्ने मात्र थाहा छ। ६÷७ वर्षकै उमेरमा जन्म गाउँ छाडेर हिँडेको हुँ,’ उनले भने, ‘यो गाउँमा बसेको पनि ५० वर्षभन्दा बढी भइसक्यो, बिहेबारी पनि यहीँ भएको हो, जन्मेको गाउँ सन्ठीमा अहिले कोही आफन्त भेटिँदैनन्।’
गाउँगाउँमै सिंहदरबार आएकोबारे अन्नपूर्णकर्मीले सुनाउँदा वृद्धा बागडले भने, ‘हाम्रो सरकार भनेका दाल, चामल ल्याएर दिने गाउँकै दयालु छिमेकी मात्रै हुन्, अर्को कुन सरकार कहाँ छ त्यो त हामीलाई मालुम नै छैन।’
वडाध्यक्ष शेख नुमान आजमका अनुसार ०६३ सालमा गाउँमै नागरिकता वितरण टोली आएको भए पनि त्यसबेला वृद्धा दलित दम्पतीले नागरिकता लिन पाएनन्। टोली गाउँमा आएका बेला चमार दम्पती दमको उपचारका लागि भारतको बेतीया गएका थिए।
‘स्थानीय तहको निर्वाचनपछि मैले पनि प्रयास गरेको थिएँ। तर, सर्जमिन मुचुल्का गर्न गाउँका कोही तयार भएनन्,’ वडाध्यक्ष आजमले भने, ‘जिल्ला प्रशासन कार्यालयमा पनि गएँ तर सीडीओ सा’बले सर्जमिन मुचुल्का अनिवार्य चाहिन्छ भन्नुभयो। त्यसैले वृद्ध दम्पतीको नागरिकता बन्न सकेको छैन।’ उनले बेसहाराको जीवनयापनको जिम्मा राज्यले लिनुपर्नेमा जोड दिए।
प्रतिक्रिया दिनुहोस !