वीरगन्जमा छैन होलीको रौनक
वीरगन्ज: तराई मधेसमा सद्भाव र आत्मियता साटासाट गर्दै मनाइने होली पर्वको वीरगन्जमा भने पहिलेको जस्तो यसपाली रौनक देखिएको छैन। पहाडि र हिमाली जिल्लामा सोमबार नै होली पर्व मनाइएको छ भने तराई मधेसमा भने यसपाली मङगलबार र बुधबार गरी दुई दिन मनाइँदैछ ।
तराई मधेसमा होली पर्व तिथीले मङगलबार नै परेको भएपनि पर्सा, बारालगायतका मधेसका जिल्लामा अधिकांशले मङगलबा होली मनाएका छैनन् । उनीहरुले बुधबार मनाउने भएका छन् ।मङगलबार फाट्टफुट्टले मात्र होली मनाएका छन् ।
तराई मधेसमा मङगलबारका दिन माछामासु नखाने चलन छ। अधिकांशले खानपानकै कारण मङगलबार नभइ बुधबार मात्रै होली मनाउने भएका हुन् । जसका कारण वीरगन्जमा मङगलबार होलीको खासै उल्लाश र रौनक देखिएको छैन।
यसका साथै कोरोना भाइरसको संत्रासले पनि तराई मधेसको होलीलाई केही प्रभाव पारेको छ । वीरगन्जमा होलीका लागि संचालनमा आएका पसल सुनसान देखिएका छन् । मिठाइ पसलमा पनि पहिलेको होलीको जस्तो कारोबार नभएको वीरगन्जको माइस्थनमा रहेको ओम स्वीट्सका सन्चालक उमेश साह बताउँछन् ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ लगाएर र लोला खेली मनाउने चलन छ । 





प्रतिक्रिया दिनुहोस !