बैतडीका सरकारी कार्यालयमा स्तनपान कक्ष
बैतडी : बैतडीका सरकारी कार्यालयहरुले स्तनपान कक्ष सञ्चालनमा ल्याउन थालेका छन् ।
सेवाग्राहीलाई सजिलै सेवा प्राप्त होस् भन्ने उद्देश्य साथ यी कक्ष सञ्चालनमा ल्याइएको सरकारी कार्यालयहरुले जनाएका छन् । जिल्लामा केही दिनअघि जिल्ला प्रशासन कार्यालयले स्तनपान कक्ष सञ्चालनमा ल्याएको थियो भने बिहीबार दशरथचन्द नगरपालिकाले पनि स्तनपान कक्ष सञ्चालनमा ल्याएको छ ।
‘बच्चालाई दुध पिलाउने आमा पनि सेवाग्राहीको रुपमा कार्यालयमा आउन सक्छन् । त्यस्ता सेवाग्राहीहरुलाई सजिलो होस् भन्ने हेतुले स्तनपान कक्ष सञ्चालनमा ल्याएका हौँ । सरकारी सेवालाई थप सरल, सुलभ र प्रभावकारी बनाउन स्तनपान कक्षले सहयोग पुग्ने हाम्रो अपेक्षा छ,’ प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भने ।
बिहीबारबाट स्तनपान कक्ष सञ्चालनमा ल्याएको नगरपालिकाले पनि कक्षमा एक बेड, कुर्सी, खानेपानी र सरसफाइका सामग्री राखिएको जनाएको छ । ‘कार्यालयमा सेवाग्राही बच्चा सहित आउन सक्छन् । उनीहरुले सहज तरिकाले आफ्ना बच्चालाई स्तनपान गराउन सकुन् भनेर हामीले यो कक्ष सञ्चालनमा ल्याएका हौं,’ दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले भनिन् ।
स्वास्थ्य कार्यालयले पनि कार्यालय हाताभित्रै स्तनपान कक्ष सञ्चालनको अन्तिम तयारी गरेको छ । स्तनपान कक्षमा आवश्यक सामग्री राख्ने काम भइरहेको कार्यालय प्रमुख योगेशप्रसाद भट्टले बताए ।जिल्लाका अन्य सरकारी कार्यालयहरुले पनि स्तनपान कक्ष बनाउनुपर्ने धारणा भट्टको छ ।
प्रतिक्रिया दिनुहोस !