कोरोना त्रास : बैतडीमा ४ घाट बन्द
बैतडी : भारतसँग सीमा जोडिएका बैतडीका ४ वटा घाट बन्द गरिएका छन्। महाकाली नदीमा डुंगामार्फत आवतजावत गरिने ती घाटहरु कोरोनाको जोखिम बढेको भन्दै बन्द गरिएको हो।
शिवनाथ गाउँपालिकाको सुल्लेखानमा बसेको सरोकारवालाहरुको बैठकले पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकासँग जोडिएका घाटहरु बन्द गर्ने निर्णय भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए। उनले भने ‘शिवनाथ गाउँपालिकासँग जोडिएका दुई घाटमध्ये नागार्जुन घाटमा हेल्थ डेस्क स्थापना गर्ने कुस्मौद घाट बन्द गर्ने निर्णय भएको छ।’
पञ्चेश्वर गाउँपालिकासँग जोडिएका बलारघाट, धरमघाट र ढोयाघाट तत्कालका लागि बन्द गर्ने निर्णय भएको गाउँपालिका उपाध्यक्ष बीना भट्टले जानकारी दिइन्। गाउँपालिकासँग जोडिएका ६ घाटमध्ये ३ मा हेल्थडेस्क स्थापना गर्ने र ३ ओटा बन्द गर्ने निर्णय भएको उनले बताइन्। उनले भनिन् ‘रोलघाट, डिम्बरघाट र विनायक घाटमा हेल्थ डेस्क स्थापना गर्छौं। बाँकी ३ ओटा घाट तत्कालका लागि बन्द गर्छौं।’
छिमेकी भारतमा पनि कोरोनाको संक्रमण फैलिसकेकाले सम्भावित जोखिमबाट बच्नका लागि सीमा क्षेत्रमा सतर्कता अपनाउन हेल्थ डेस्क स्थापना गर्न नसकिने घाटहरु बन्द गर्न आग्रह गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। उनले भने ‘भारतसँग सीमा जोडिएका तल्लोसोराडका ४ ओटा घाटमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय भएको छ। त्यसका लागि आवश्यक उपकरण हामीले मगाईसकेका छौं। ४ ओटा घाट बन्द गर्ने निर्णय भएको छ। ती घाटहरुमा तत्कालका लागि आवतजावत बन्द गरिएको छ।’
बैतडी भारतसँग सीमा जोडिएका जिल्ला भएकाले सीमा नाकाहरुमा उच्च सतर्कता अपनाएको स्वास्थ्य कार्यालयको दाबी छ। झुलाघाट नाकामा भने नियमित रुपमा हेल्थ डेस्कमार्फत नेपाल फर्किन नागरिकको स्वास्थ्य परीक्षण भइरहेको भट्टले बताए।
प्रतिक्रिया दिनुहोस !