हत्या आरोपमा १४ वर्षपछि दुई जना पक्राउ
![हत्या आरोपमा १४ वर्षपछि दुई जना पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/parau-sukadev-binod_20200313074305_HjoXL8CpZf.jpg)
राजविराज : छिमेकीको हत्या आरोपमा तत्कालिन माओवादी नेता र उनका छोरा १४ वर्षपछि बिहीबार पक्राउ परेका छन् । फरार रहेका तिरहुत गाउँपालिका-४ डिमनका ५३ वर्षीय सुकदेव यादव र उनका छोरा ३७ वर्षीय विनोदकुमार यादवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपमा डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । पक्राउ परेका सुकदेव तत्कालिन नेकपा माओवादीका एरिया कमिटी सदस्य हुन् ।
जिल्ला अदालतबाट २०७५ मङ्सिर २० गते वारेण्टसहितको म्यादी पुर्जी जारी भएपछि आरोपितहरूको खोजी भइरहेकोमा सुनसरीको इनरुवामा फेला पारिएको डीएसपी मिश्रले बताए । इलाका प्रहरी कार्यालय कञ्चनरुपले जिल्ला प्रहरी कार्यालय सुनसरीको सहयोगमा उनीहरुलाई सुनसरीको इनरुवा नगरपालिका– ९ बबीयाबाट पक्राउ गरेको हो ।
घटना लगत्तै फरार रहेका सुकदेव यादवको परिवार पछिल्लो समय सुनसरीको इनरुवा नगरपालिका– ९ बबीयामा बसोवास गरिरहेका छन् । पक्राउ परेका आरोपितहरूलाई सुनसरीबाट सप्तरी ल्याइएको र इलाका प्रहरी कार्यालय कञ्चनरुपमा नियन्त्रणमा राखिएको डीएसपी मिश्रले बताए ।
तिरहुत गाउँपालिका-४ डिमनका दिलिपकुमार यादवलाई जग्गाजमिनको सीमा विवादमा ०६२ असोज १७ गते गोली हानी हत्या गरेको उनीहरुमाथि आरोप छ । मृतकका भाई दिपनारायण यादवले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा ०६२ असोज १८ गते दिएको उजुरी दर्ता गर्दै प्रहरीले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शवको पोस्टमार्टम गरेको थियो ।
तत्कालिन माओवादीका नेता एवंम् नेकपा प्रदेश कमिटी सदस्य देवनाथ यादवले घर गएका बेला सुकदेवको घर तोडफोड गरी आक्रमण गर्न खोज्दा प्रतिकारमा दिलिप मारिएको बताए । उक्त घटना द्वन्द्वकालिन मुद्दा भएको र मृतक परिवारले सो बापत राज्यबाट क्षतिपूर्तिसमेत पाइसकेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)