अन्तर्राष्ट्रिय कारोबारमा देखिएन कोरोना प्रभाव

अन्तर्राष्ट्रिय कारोबारमा देखिएन कोरोना प्रभाव

वीरगन्ज : वीरगन्ज नाका भएर हुने अन्तर्राष्ट्रिय कारोबारमा कोरोनाको प्रभाव देखिएको छैन। भारत र तेस्रो मुलुकसँग सबैभन्दा कारोबार वीरगन्ज नाकाबाटै हुने गर्छ। यस नाकामा वीरगन्ज र सिर्सिया सुख्खा बन्दरगाह गरी दुई भन्सार छन्।

यी दुवै भन्सार हुँदै भारत तथा तेस्रो मुलुकबाट वस्तुको आयात र राजस्व संकलनमा कोरोनाको असर नरहेको सम्बन्धित भन्सार कार्यालयले जनाएका छन्। गत फागुन महिनामा भारतलगायत तेस्रो मुलुकबाट वीरगन्ज नाकामा ६७ अर्ब २८ करोड ८६ लाख मूल्य बराबरको वस्तु नेपाल भित्रिएको छ। गत आर्थिक वर्षको यस अवधिमा ६५ अर्ब ९९ करोड २५ लाखको वस्तु आयात भएको थियो।

गत वर्षभन्दा यसवर्षको फागुनमा एक अर्ब २९ करोड ६० लाख बढी मूल्यको सामान भारत तथा तेस्रो मुलुकबाट आयत भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ। सबैतिर कोराना भाइरसको प्रभावका कारण वस्तु आयत/निर्यातमा प्रभाव परे पनि वीरगन्ज भन्सारमा कुनै असर देखिएको छैन।

सुख्खा बन्दरगाहमा पनि वस्तु आयातमा कोरोना संक्रमणको असर नदेखिएको कार्यालयले जनाएको छ। फागुनमा बन्दरगाह हुँदै २८ करोड २६ लाख ६९ हजार रुपैयाँ मूल्यको वस्तु भारततर्फ निर्यात भएको छ। गत वर्ष यस अवधिमा २६ करोड ९२ लाख २६ हजार मूल्यको वस्तु निर्यात भएको थियो। फागुन महिनाभर दुवै भन्सार कार्यालयले १४ अर्ब ८५ करोड १० लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेका छन्। राजस्व संकलनमा भने गत वर्षको तुलनामा यस वर्ष १२ करोड २२ लाख रुपैयाँ कम असुल भएको छ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख ढुण्डीप्रसाद निरौलाले वस्तु आयात/निर्यातमा कोरोनाको कुनै असर नदेखिएको बताए। ‘कोरोनाको कारण नभइ होली पर्व परेका कारण फागुनमा राजस्व असुलीमा केही प्रभाव परेको हो,’ उनले भने, ‘होलीमा ४ दिन जति मालवस्तुको आयात घट्यो।’ सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले पनि कोरोनाको सन्त्रासले बन्दरगाहमा वस्तु आयात/निर्यातमा कुनै असर नपरेको बताए।

चीनबाट आयत हुने वस्तुमा भने केही कमी आएको उनको भनाइ छ। तर, भारतलगायत अन्य तेस्रो मुलुकसँगको कारोबार भने नियमित भइरहेको श्रेष्ठले बताए। अहिलेसम्म कुनै प्रभाव नदेखिए पनि संक्रमण फैलिँदै गए केही सातामा कारोबारमा कमी आउने उनले जानकारी दिए। ‘अहिले जति माल आयत भइरहेका छन्, ती सबै दुई महिना अघिकै कन्साइन्टमेन्टका हुन्,’ श्रेष्ठले भने, ‘तर, नयाँ कन्साइन्टमेन्ट रोकिएका छन्। त्यसैले पनि एक/दुई सातापछि त्यो असर देखापर्ला।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.