कर्मचारी नहुँदा २ महिनादेखि सेवा बन्द

कर्मचारी नहुँदा २ महिनादेखि सेवा बन्द

वीरगन्ज : पर्साको चार वटा गाँउपालिकालाई कार्यक्षेत्र तोकेर सुपौलीमा स्थापना गरिएको इलाका प्रशासन कार्यालयको सेवा प्रवाह २ महिनादेखि ठप्प छ । २ महिनादेखि शाखा अधिकृत नहुँदा कार्यालयमा सेवा लिन पुग्ने सेवाग्राही रित्तै हात फर्किन बाध्य छन् । जिल्लाको सुदुर पश्चिममा रहेका जीराभवानी, ठोरी, जगरनाथपुर र पटेर्वासुगौली गरी ४ गाँउपालिका कार्यक्षेत्र तोकेर सुपौलीमा एक वर्ष पहिले इलाका प्रशासन कार्यालय स्थापना गरिएको थियो । 

तर कार्यालयमा गत पौष मसान्तदेखि नै शाखा अधिकृत नहुँदा चार वटा गाँउपालिकाका सेवाग्राही सास्ती खेप्न बाध्य छन् । कर्मचारी समायोजनका क्रममा तत्कालीन शाखा अधिकृत विनय श्रीवास्तव पौष मसान्तदेखि अन्तै सरुवा भएर गएका थिए ।
 

त्यसपछि उनको स्थानमा गृह मन्त्रालयले डेढ महिना पहिले सुपौलीको इलाका प्रशासन कार्यालयमा शाखा अधिकृत कुन्दन कर्णलाई सरुवा गरेर पठाएको थियो । तर कर्ण अहिलेसम्म पनि कार्यालयमा हाजीर भएका छैनन् । 
 
कार्यालयमा पौष मसान्तदेखि करारका एक सुब्बा, एक कम्प्युटर सहायक र एक कार्यालय सहयोगी गरी ३ कर्मचारी कार्यरत छन् । तर शाखा अधिकृत नहुँदा नागरिकता प्रमाणपत्र जारी गर्ने, राहदानी सिफिरिस, मधेसी दलित जनजाति प्रमाणित लगायतको काम दुई महिनादेखि रोकिएको छ । 
 
सुपौलीको इलाका प्रशासन कार्यालयमा नागरिकता बनाउनका लागि मात्रै दैनिक औसतमा ५० जनाको हाराहारीमा सेवाग्राही पुग्ने गरेका छन् । तर अहिले कार्यरत करारका कर्मचारीले शाखा अधिकृत नभएकोले काम हुन नसक्ने जवाफ दिएर फर्काइ दिने गरेका छन् । 
 
ठोरी नयाँवस्तीकी मनिषा बोहोराले नागरिकता बनाउन आफू एक सातादेखि कार्यालयमा धाइरहेको गुनासो गरिन् । 'एक हप्तादेखि कार्यालय धाइरहेको छु, कर्मचारीले भोलि-भोलि भनेर टारिरहेका छन्', सोमबार कार्यालयम भेटिएकी बोहोराले भनिन्, 'आज (सोमबार) फेरि कार्यालयमा आउँदा शाखा अधिकृत नै आएका छैनन्, काम हुँदैन भने।' 
 
भान्जाको नागरिकता बनाउन भनेर सोमबार कार्यालयमा पुगेका महादेवपट्टीका सत्यराज घिमिरे पनि १५ दिनदेखि कार्यालयमा धाइरहेको तर काम नभएको गुनासो गर्छन् । कार्यालयमा पुग्दा कर्मचारीले शाखा अधिकृत आज भोलि आउने भन्दै टार्दै आएका छन्', घिमिरेले भने, ‘प्रमुख जिल्ला अधिकारीलाई फोन गर्दा पनि कुनै सुनुवाइ भएको छैन ।'
 
सुपौलीमा इलाका प्रशासन कार्यालय बनेपछि चार गाँउपालिकाका सेवाग्राहीले वंशजको नागरिकता सुपौलीकै इलाका प्रशासन कार्यालयबाटै लिनु पर्ने बाध्यकारी नियम छ । त्यसैले सदरमुकामको जिल्ला प्रशासन कार्यालयमा पनि जान नसकेको घिमिरेले बताए ।
 
कार्यालयमा लामो समयदेखि शाखा अधिकृत नभएका कारण नागरिकता बन्न नसकेको आक्रोशमा गत फागुन २२ गते जिराभवानी गाउँपालिका ५ का  दुई युवकले कार्यालयमा तोडफोड पनि गरेका थिए ।
  
पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले भने मन्त्रालयले एक महिना पहिले नै शाखा अधिकृत कुन्दन कर्णलाई सुपौलीको इलाका प्रशासन कार्यालयमा पठाएको भए पनि कर्ण अहिलेसम्म हाजीर नभएको जानकारी दिए । 
 
'अहिले म काठमाडौंमै छु, मन्त्रालयमा गएर बुझ्दा कर्ण एक साता पहिले नै रवाना लिएर हिँडेको जानकारी पाए', प्रमुख जिल्ला अधिकारी कार्कीले भने, ‘यदि बुधबारसम्म पनि कर्ण कार्यालयमा हाजीर भएनन् भने बिहीबारदेखि अर्कै शाखा अधिकृतलाई सुपौलीको इलाका प्रशासन कार्यालयमा पठाइने छ ।'  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.