जसले चितुवासँग लडेर छोरी बचाइन्
दमौली : मृत्युको काखमा पुगिसकेकी एक बालिका आमाको साहसिलो कदमका कारण बाँच्न सफल भएकी छन् । शुक्लागण्डकी-३ बनकेवाकी २१ महिनाकी बालिका संस्कृति न्यौपाने सोमबार साँझ घरमै आमासँगै थिइन्।अकस्मात् चितुवा आइ आक्रमण गर्यो। बालिकालाई चितुवाले लैजान खोजेपछि आमा इन्दिराले निकै कष्टले छोरी बचाउन सफल भइन्।
साँझ करिब ७ बजेतिर भएको घटनामा ज्यान नै जोखिममा राखेर इन्दिराले छोरी जोगाउन सफल भएकी हुन्। 'आँखै छोरी लैजान लैजान खोजेपछि आँट गरेर खोस्न गएँ', उनले भनिन्। घरबाट केही पर जंगल लैजान लागेका बेला इन्दिराले चितुवामाथि आक्रमण गरी छोरी बचाउन सकिन। ' एक छिन ढिला मात्र भएको भए अर्को विपद् हुने रहेछ' घटनास्थल पुगेका शुक्लागण्डकी नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख त्रिलोचन लम्सालले भने। उनका श्रीमान पनि घटना थाहा पाएपछि दौडिएका थिए । 
इन्दिराको घर जहाँ बालिका संस्कृति न्यौपानेलाई चितुवाले आक्रमण गर्यो । तस्बिर : अन्नपूर्ण
बालिकाको हाल पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको छ। गत पुस महिनामा पनि सोही क्षेत्र नजिकै अर्का बालक चितुवाको आक्रमणबाट ज्यान गुमाएका थिए।
दुई वर्षमा १६ आक्रमण, ९ को मृत्यु
दुई वर्ष यता तनहुँको भानु नगरपालिकाबाट शुरू चितुवाको आक्रमण शृंखला फैलिँदै गएको छ। व्यास नगरपालिकासहित बन्दीपुर र आँबु गाउँपालिकामा चितुवाले बालबालिकाको ज्यान लिइसकेको छ।
दुई वर्षयता भएका त्यस्ता १६ घटनामा नौ बालबालिकाको ज्यान गएको वन डिभिजनको तथ्यांकले देखाएको छ । 'आक्रमण निरन्तर फैलँदो छ ' डिभिजन वन प्रमुख केदार बरालले भने,' तर नियन्त्रणको प्रयास पनि जारी छ।'

इन्दिराको घरमा जम्मा भएका गाउँले । तस्बिर : अन्नपूर्ण
प्रतिक्रिया दिनुहोस !