कोरोनाविरुद्ध  बलिउड

कोरोनाविरुद्ध  बलिउड

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वभरि फैलिरहेको बेला बलिउड सेलिब्रिटी पनि यसबारे सचेत भएका छन्। कुनै सेलिब्रिटीले हात मिलाउनुको साटो नमस्ते गर्ने, त कसैले मास्क लगाउने सल्लाह दिइरहेका छन्। कोही भने आफ्नो विदेश यात्रा रद्द गरिरहेका छन्।

‘नमस्ते’ भन्दै सलमान–अक्षय
हालै अभिनेता सलमान खानले सामाजिक सञ्जालमा आफ्नो एउटा तस्बिर सेयर गरेका थिए। फोटोमा उनले हात जोडर नमस्ते गरिरहेका थिए। र, त्यसमा क्याप्सन लेखेका थिए– ‘नमस्कार, हाम्रो सभ्यतामा नमस्ते र सलाम छ। कोरोना भाइरस सकिएपछि हात मिलाउनुहोस् र अँगालो मार्नुहोस्।’

आगामी २४ मार्चमा रिलिज हुने भनिएको फिल्म ‘सूर्यवंशी’ को डेट कोरोनाका कारण पर सर्ने भएको छ। फिल्ममा अभिनेता अक्षय कुमार मुख्य भूमिकामा रहेका छन्। फिल्मको प्रमोसन गरिरहेका उनलाई पत्रकारले कोरानाबारे सोध्दा उनले भनेका थिए– ‘भरसक भीडभाड भएको ठाउँ नगएको ठीक हुनेछ। सुरक्षा उपायलाई गम्भीरतापूर्वक लिनुपर्‍यो। सरसफाइमा विशेष ध्यान दिनुपर्‍यो। अभिवादन गर्दा नमस्ते गर्नुपर्‍यो।’

हात मिलाउँदा झस्किइन् प्रियंका
होलीका लागि अभिनेत्री प्रियंका चोपडा आफ्ना श्रीमान् निक जोनाससँग भारत आएकी थिइन्। मार्च ७ मा ईशा अम्बानीले मुम्बईमा आयोजना गरेको पार्टीमा उनीहरू सहभागी भए। कारबाट झरेर प्रियंका पार्टी स्थलतिर पाइला सार्छिन्। त्यही बेला एक जना उनीसँग हात मिलाउन अघि सर्छन्। पहिला त प्रियंका हात अघि बढाउँछिन् तर एकै छिनमा आत्तिएर हात पछाडि गर्छिन्। त्यसपछि आगन्तुकले प्रियंकाको पाखुरा समात्न खोज्छन्, तर उनी तर्किन्छिन्। हात मिलाउँदा डराए पनि पार्टीमा प्रियंका र निकले खूब होली खेलेका थिए। होली खेलेका फोटो निकले आफ्नो इन्स्टग्राम अकाउन्टमा राखेका थिए।

भ्रम फैलाउँदा रिसाइन् परिणीति
संसारभरि फैलिरहेको कोरोना भाइरसबाट भारतीयलाई बच्न अभिनेत्री परिणीति चोपडाले सर्तक गरिरहेकी छिन्। कोरोनाबारे गलत कुरा प्रचार गरिरहेका मानिसप्रति उनले आक्रोश पोखेकी छिन्। उनले आफ्नो इन्स्टग्राम अकाउन्टमा लेखेकी छिन्– ‘कोरोना भाइरसबारे गलत जानकारी फिँजाउनु हुन्न। ‘कोरोनाले बूढापाकालाई मात्र असर गर्छ’, ‘यसभन्दा बढी त फ्लूले मान्छे मर्छन्’ भन्ने कुरा गरेर अति आत्मविश्वासी नबन्नुहोस्। तपाईं भाइरसभन्दा बढी स्मार्ट हुनुहुन्छ भनेर नसोच्नुहोस्। कोरोना संक्रमण अहिले नै रोकिनेवाला छैन। कृपया स्मार्ट बन्नुहोस्, सुरक्षित रहनुहोस्।’ उनले मान्छेहरूलाई मास्क लगाएर सुरक्षित रहन सल्लाह दिएकी छिन्।

यात्रा रद्द 
कोरोना भाइरसका कारण कतिपय बलिउड स्टारले आफ्ना विदेश यात्रा रद्द गरिरहेका छन्। अभिनेत्री बिपाशा बसु र सोनाली बेन्द्रेले अमेरिका यात्रा रद्द गरेका छन्। बिपाशाको साउथ एसियन वुमन इम्पावरमेन्ट अवार्ड कार्यक्रममा सहभागी हुन २२ मार्चमा अमेरिका जाने योजना थियो। तर, कोरोना संक्रमणले गर्दा उनले आयोजकलाई कार्यक्रम सार्न आग्रह गरिन्। कार्यक्रम अहिलेका लागि रद्द भयो। सोनाली पनि महिलासम्बन्धी विशेष कार्यक्रमका लागि न्युयोर्क जाने योजनामा थिइन्। तर, कोरोनाकै कारण उनको कार्यक्रम पनि रद्द भएको छ। यसबाहेक ऋतिक रोशन, सलमान खान, नेहा कक्कडको पनि विदेश यात्रा रद्द हुने देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.